२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

१३ वर्षीया किशोरी सुत्केरी प्रकरण : जबर्जस्ती करणी आरोपमा एक युवक पक्राउ

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिकाकी १३ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले सोमबार १९ वर्षीय युवकलाई पक्राउ गरेको छ । ती किशोरी सुत्केरी भइसकेकी छन् । उनले जेठ २७ मा चितवनस्थित भरतपुर अस्पतालमा शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् ।

१३ वर्षीया किशोरी सुत्केरी प्रकरण : जबर्जस्ती करणी आरोपमा एक युवक पक्राउ

पीडित किशोरीले असार १ मा युवकविरुद्ध जबर्जस्ती करणीपछि गर्भ रहेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । भारतबाट फर्किएर बेंसीसहरको क्वारेन्टाइनमा रहेका आरोपित युवकलाई कोरोना संक्रमण नभएको पुष्टि भएसँगै प्रहरीले सोमबार पक्राउ गरेको हो । उजुरी दिए पनि क्वारेन्टाइनमा बसेका उनलाई कोरोना संक्रमण भएको हुन सक्ने भन्दै प्रहरीले पक्राउ गरेको थिएन ।

क्वारेन्टाइन सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको सुरक्षा निगरानीमा रहेका उनलाई सोमबार पक्राउ गरिएको डीएसपी गंगाबहादुर थापाले बताए । हाडनाता करणी भएकाले थप विवरण प्रहरीले खुलाएको छैन । घटना गत असोज २ गतेको रहेको प्रहरी स्रोत बताउँछ । कोही नभएको मौका छोपेर ती युवक किशोरीको घरमा गएर जबर्जस्ती करणी गरेको खुलेको छ । त्यसपछि भारततर्फ भागेका युवक जेठ अन्तिम साता मात्रै नेपाल फर्किएका थिए । प्रहरीले जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छोरीको पेट बढ्दै गएपछि गत वैशाख अन्तिम साता आमाले ती किशोरीलाई बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याएकी थिइन् । किशोरी गर्भवती भएको भन्दै असार ४ गतेलाई प्रसूतिको समय दिइएको थियो । किशोरीलाई असहज भएपछि जेठ २६ मै बेंसीसहर नगरपालिकाको एम्बुलेन्समार्फत भरतपुर अस्पताल पुर्‍याइएको थियो । उपचारपछि जेठ ३२ मा बेंसीसहर फर्किएकी किशोरीलाई आफन्त र गाउँलेले घर नआउन दबाब दिएपछि उनी आमा र शिशुसँगै बेंसीसहरमै बसेकी छन् ।

बेंसीसहर नगरपालिका, वर्ल्डभिजन इन्टरनेसनल, नेपाल–ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी), इन्सेक, लमजुङ उद्योग वाणिज्य संघलगायतको सहयोगमा उनीहरूलाई बेंसीसहरमा डेरा खोजेर राखिएको छ ।

प्रकाशित : असार ९, २०७७ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?