कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिपोर्ट माग्दा प्रहरीको लाठी

‘क्वारेन्टाइनमा बसेको एक महिना पुग्न लागिसक्यो, रोगको कुनै लक्षण देखिएको छैन, रिपोर्ट पनि आउँदैन, घरका मान्छेले चिन्ता मानिरहेका छन्,’ दिनेशले भने, ‘हाम्रो पीडा कसले सुन्ने ? भेडाबाख्राजस्तो भएर कहिलेसम्म बसिरहनुपर्ने ?’
ज्योति कटुवाल

दैलेख — नारायण नगरपालिका–११ टाटामाखुका दिनेश (नाम परिवर्तन) सदरमुकामस्थित त्रिभुवन माविमा बस्न थालेको तीन साता बित्यो । जेठ ८ गते भारतबाट यहाँ आइपुगेका उनी अझै क्वारेन्टाइनमै छन् । ‘प्रहरीले कोरोना छ भन्दै बाहिर निस्किन दिएको छैन, हामीलाई चेकजाँचको रिपोर्ट देखाऊ भन्दा वास्तै गर्दैनन्,’ उनले भने, ‘यस्तो अत्याचार सहेर कति दिनसम्म बस्नु ?’

रिपोर्ट माग्दा प्रहरीको लाठी

यस्तै पीडा सहन नसकेकै कारण जिल्लाका विभिन्न क्वारेन्टाइन र आइसोलेसनमा बसेका संक्रमित र शंकास्पद व्यक्तिहरु ‘विद्रोह’ गर्ने अवस्थामा पुगेका छन् । शनिबार क्वारेन्टाइनबाट जबरजस्ती निस्किन खोज्दा नारायण नगरपालिकाको त्रिभुवन मावि र डुंगेश्वर गाउँपालिकाको मटेलास्थित सीता माविमा संक्रमित–प्रहरीबीच झडप भयो । चार जना घाइते भएका छन् । ‘क्वारेन्टाइनमा बसेको एक महिना पुग्न लागिसक्यो, रोगको कुनै लक्षण देखिएको छैन, रिपोर्ट पनि आउँदैन, घरका मान्छेले चिन्ता मानिरहेका छन्,’ दिनेशले भने, ‘हाम्रो पीडा कसले सुन्ने ? भेडाबाख्राजस्तो भएर कहिलेसम्म बसिरहनुपर्ने ?’

१५ वर्षीय एक संक्रमितलाई दुई हप्तासम्म नारायण क्याम्पसको क्वारेन्टाइनमा राखियो । त्यसपछि फेरि त्रिभुवन माविमा ल्याएर राखिएको छ । एक साताअघि नै दोस्रोपटक स्वाब संकलन गरेर पठाए पनि अहिलेसम्म रिपोर्ट नआउँदा बाध्य भएर प्रदर्शनमा उत्रिनुपरेको उनले बताए । ‘हामीलाई त आइसोलेसन भनेको के हो थाहै छैन, क्वारेन्टाइनमै कहिले यता कहिले उता गरिरहेका छौं,’ उनले भने, ‘छिटो छुटकारा दिनुहोस् भनेर माग गर्दा प्रहरीको लाठी खानुपरेको छ ।’ प्रहरीले लाठी र बुटले हान्दा टाउको र ढाडमा चोट लागेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारसम्म कर्णालीमा ९ सय ६७ जनामा संक्रमण पुष्टि भएकमोमा दैलेखका मात्र ५ सय ३८ जना छन् । संक्रमितहरुलाई विभिन्न विद्यालयका क्वारेन्टाइनमै राखिएको छ । संक्रमण पुष्टि भएको तीन साता बिते पनि उनीहरुको दोस्रोपटकको रिपोर्ट आइसकेको छैन । यसले गर्दा उनीहरु आत्तिएका छन् । एक साताअघि पठाइएका स्वाबको रिपोर्टसमेत आइसकेको छैन ।

प्रहरीसँगको झडपमा घाइते भएकाहरुले उपचार गर्ने नाममा आफूहरुलाई थुन्ने काम भएको उनीहरु बताउँछन् । संक्रमण नभएकालाई पनि संक्रमित बसेकै क्वारेन्टाइनमा राखिँदा जोखिम झनै बढेको छ । सदरमुकामको त्रिभुवन माविमा ४३ जना बसिरहेका छन् । तीमध्ये २९ जना संक्रमित हुन् । ‘हामीलाई संक्रमण छ कि छैन भन्ने थाहै छैन, तर संक्रमित बसिरहेको क्वारेन्टाइनमा राखिएको छ,’ शनिबार घाइते भएका एक युवाले भने, ‘यस्तो जोखिममा कसरी बस्न सकिन्छ ?’

दैलेखका ११ वटै स्थानीय तहमा संक्रमण फैलिएको छ । सबैभन्दा बढी नारायण नगरपालिकामा १ सय ९६ जना संक्रमित छन् । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका जेठ महिनामा मात्र करिब १३ हजार व्यक्ति आएकोमा आइतबारसम्म ६ हजार १५ जना क्वारेन्टाइनमा बसिरहेका छन् । १ हजार १ सय ३६ स्वाबको नमुनाको रिपोर्ट अझैसम्म आएको छैन । एक हप्ताअघि नै पठाइएको रिपोर्ट नआउँदा मान्छेहरुलाई सम्झाइबुझाइ गर्न निकै समस्या भएको उनले बताए । ‘स्वाबको रिपोर्ट समयमै आइदिएको भए यस्तो अवस्था आउने थिएन, रिपोर्ट नआउँदा निकै अन्योल हुने गरेको छ,’ उनले भने, ‘निकै सम्झाइबुझाई गर्दा पनि उग्र भएर बाहिर निस्किन थालेपछि झडपको अवस्था आएको छ ।’

जिल्ला प्रहरी प्रमुख डीएसपी हरिबहादुर वलीले समयमै रिपोर्ट नआउँदा उत्पन्न समस्याले सुरक्षा जोखिमसमेत बढाएको बताए । संक्रमितहरु आफू बसिरहेको स्थानबाट बाहिर निस्केर बजारमा हिँड्न थालेपछि बल प्रयोग गर्दा झडप भएको उनको भनाइ छ ।

प्रकाशित : असार १, २०७७ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?