कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गर्भवतीले पाएनन् औषधि

क्वारेन्टाइनमा रहेका गर्भवतीहरूले गर्भावस्थामा खाने आइरन र क्याल्सियम चक्कीसँगै खोपसमेत पाएका छैनन् ।
मोहन शाही

डोटी — डोटीको केआईसिंह गाउँपालिका–३ स्थित सरस्वती माविको क्वारेन्टाइनमा चार गर्भवती छन् । भारतमा श्रीमान्को रोजगारी खोसिएपछि सँगै घर फर्केका उनीहरू क्वारेन्टाइनभित्र विभिन्न समस्या व्यहोरिरहेको गुनासो गर्छन् ।

गर्भवतीले पाएनन् औषधि

२१ वर्षीया गर्भवती भुत्ती भुलको ४/५ दिनयताबाट पेट दुखिरहेको छ । आठ महिनाको गर्भ रहेकी उनले गर्भको अवस्थासमेत जाँच गर्न नपाइएको बताइन् । उता शोभा भुललाई क्वारेन्टाइनमा पाइरहेको खाना रुचेकै छैन । पोसिलो खान नपाउँदा कमजोरी महसुस गरिरहेकी छन् । घरमा ११ वर्षीया छोरीमात्र रहेकाले खानेकुरा मगाउन सकेकी छैनन् । उनीहरू कसैले पनि गर्भावस्थामा नियमित खाने आइरन चक्की, क्याल्सियम अन्य खोपहरूसमेत पाएका छैनन् ।

‘हातखुट्टा पटपटी दुखिरहेको छ, कमजोरी बढिरहेको महसुस छ,’ शोभाले दुखेसो पोखिन्, ‘यो बेला विशेष ध्यान दिनुपर्नेमा झन् अनेकौं समस्या क्वारेन्टाइनभित्र झेल्न बाध्य छौं ।’ भारतबाट लामो यात्रा गरेर आउँदा गर्भमा कतै असर परेको छ कि भन्ने चिन्ता उनीहरूमा छ । ‘मुस्किलले कोचाकोच गरेर गाडीमा लामो यात्रा पार गरी दिपायल आइयो,’ गर्भवती हिमा भुलले भनिन्, ‘फेरि दिपायलबाट गाउँपालिकाको टिपरमा मुस्किलले ग्रामीण बाटोमा आउनुपर्दा धक्का लागेको छ ।’

गाउँपालिकाले उनीहरूलाई अन्य व्यक्तिसरह नै दाल, भात र तरकारीको व्यवस्था गरिदिएको स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए । क्वारेन्टाइनमा रहेका महिलाहरूले स्वास्थ्यकर्मीले आएर नियमित परीक्षण गरिदिए आफूलाई राहत हुने आशा व्यक्त गरेका छन् । सो क्षेत्रमा सेवा दिँदै आएको बासुदेवी स्वास्थ्य संस्थाका इन्चार्ज अनिल विकले आफूलाई गर्भवतीहरूको समस्याबारे कुनै जानकारी नभएको बताए । ‘कुनै गुनासो आए तुरुन्तै सम्बन्धित ठाउँ पुग्नु भनेर गाउँपालिकाबाट निर्देशन छ, हिजोमात्रै म त्यही क्वारेन्टाइन पुगेर फर्किएको हुँ ,’ इन्चार्ज विकले भने, ‘हामीलाई भनेको भए हिजो नै परीक्षण गर्ने थियौं, अब खबर पायौं तुरुन्त त्यहाँ पुग्छौं ।’

उनीहरूको पीसीआर परीक्षणको रिपोर्ट आइसकेको छैन । गाउँपालिकाको क्वारेन्टाइनमा करिब ८ सय व्यक्ति छन् । जिल्लाभरिका ९ वटै पालिकामा रहेका गर्भवती महिलाले यस्तै पीडा खेपिरहेका छन् । कतिपय पालिकाले क्वारेन्टाइनभित्र कति गर्भवती छन् र ती कहाँ बसेका छन् भन्ने एकीकृत तथ्यांकसमेत राख्न सकेका छैनन् । स्वास्थ्य कार्यालय डोटी प्रमुख रमेश मलासीका अनुसार तीन महिला क्वारेन्टाइनमै सुत्केरी भएका छन् । ‘जोखिमका कारण संस्थागत सुत्केरी हुनेको संख्या डोटीमा घटेको छ,’ मलासीले जानकारी दिए, ‘बाहिरबाट आएका गर्भवतीहरूलाई स्वास्थ्य संस्था नजिक राखेर बेग्लै क्वारेन्टाइन बनाउन निर्देशन दिएका छौं । तर सबैले परिपालना गर्न सकिरहेका छैनन् ।’

केआईसिंह गाउँपालिकाको दुर्गामाडौं, तिखात्तर र भूमिराजमाडौं स्वास्थ्य चौकीबाट प्रसूति तथा प्रजनन सेवा निरन्तरता दिन आइपास तथा सीडीएफएको सहकार्यमा स्वास्थ्य सामग्री उपलब्ध गराएको सुरक्षित गर्भपतन सेवाकी कार्यक्रम अधिकृत दीपा सिंहले जानकारी दिइन् ।

प्रकाशित : जेष्ठ ३२, २०७७ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?