कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिरोधात्मक क्षमता बढी हुने उमेर समूहकै धेरै संक्रमित

समुदायमा संक्रमण नदेखिएकाले जोखिममा रहेको समूह जोगिएको विज्ञहरूको भनाइ
अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ को संक्रमण नेपालमा रोगसँग लड्ने क्षमता कम भएको उमेर समूहमा थोरै देखिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले समुदायमा संक्रमण नदेखिएकाले जोखिममा रहेको समूह जोगिएको बताए । उक्त समूहमा संक्रमणको व्यापक विस्तार भए मृत्युदर बढ्ने चेतावनी विज्ञहरूले दिएका छन् ।

प्रतिरोधात्मक क्षमता बढी हुने उमेर समूहकै धेरै संक्रमित

मुलुकमा बुधबारसम्म ४ हजार ३ सय ६४ जनामा कोभिड–१९ संक्रमण देखिएकामा ६० वर्षभन्दा माथिका ४१ जना छन् । रोग प्रतिरोधात्मक क्षमता बढी भएका ६० वर्ष वा त्यसमुनिका समूहका संक्रमित करिब ९९ प्रतिशत अर्थात् ४ हजार ३ सय २३ छन् । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार मुलुकमा हालसम्म फाट्टफुट्ट रूपमा संक्रमितको सम्पर्कमा आएकाहरूबाहेक भारतसहित विदेशबाट आउने र क्वारेन्टाइनमा बसेकाहरूमा बढी संक्रमण देखिएको हो ।

कोभिड–१९ ले बुधबारसम्म दुईवर्षे बालिकादेखि ७६ वर्षीय पुरुषसम्मका १५ जनाको मृत्यु भइसकेको छ । ६० वर्षभन्दा माथिका मृतकको संख्या दुई छ । कोभिड–१९ को मृत्युदर नेपालमा शून्य दशमलव ३४ प्रतिशत देखिएको छ । अर्थात् तीन सय जना संक्रमितमा एक जनाको मृत्यु भएको छ । ‘संक्रमित साढे चार हजार पुग्न लाग्दासमेत मृत्युको प्रतिशत कम देखिएको छ,’ डा. अधिकारीले भने, ‘भविष्यमा समुदायमा संक्रमण देखिए मृत्युदर बढी हुन सक्छ ।’ उनका अनुसार नेपालमा बूढापाका, रोगसँग लड्ने क्षमता कम भएकामा संक्रमण कम फैलिएको छ ।

पहिलेदेखि नै गम्भीर स्वास्थ्य समस्या भएर रोगसँग लड्ने क्षमता कमजोर भएकाहरूको संक्रमणबाट मृत्यु भएको डा. अधिकारीले बताए । ‘हालसम्म मृत्यु भएकाहरूमध्ये दुई–तीन जनाबाहेकमा गम्भीर स्वास्थ्य समस्या थियो ।’ विज्ञहरूका अनुसार हालसम्म मृत्यु भएकामा बढी उमेर, पहिलेदेखि मधुमेह, मुटु, फोक्सो र श्वासप्रश्वाससम्बन्धी समस्या, अन्य गम्भीर रोग प्रमुख कारणका रूपमा देखिएको छ । ‘हालसम्म कोरोना समुदायमा गएको प्रस्ट देखिएको छैन,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले भने, ‘रोग प्रतिरोधक क्षमता कम भएका र बूढापाकालाई यो संक्रमण हुन सक्ने जटिलताबाट जोगाउनु मुख्य चुनौती छ ।’ उनका अनुसार बूढापाका, रोगसँग लड्ने क्षमता कम भएका समूहमा कोरोनाको संक्रमण फैलिँदा मृत्युदर बढ्छ ।

बीएमजेमा प्रकाशित अनुसन्धानअनुसार ५० वर्षभन्दा बढी उमेरका, पुरुष, मोटोपना, मुटुरोग, फोक्सो, कलेजो र मिर्गाैलासम्बन्धी रोगले ग्रस्तहरूमा कोभिड–१९ संक्रमणले मृत्युको बढी खतरा हुने देखिएको छ । यो विषयमा बेलायतमा गरिएको अध्ययनअनुसार अस्पतालमा भर्ना भएकाहरूमा औसत आयु ७३ वर्ष थियो । उमेरबाहेक मुटु, फोक्सो, कलेजो, मिर्गाैला रोग भएकाहरूलाई बढी समस्या देखियो ।

नेपालमा मृत्यु भएका पन्ध्रौं व्यक्तिमा मधुमेह, रक्तचापको समस्यासँगै ज्वरो र निमोनियासमेत देखिएको थियो । ती व्यक्ति पुरुष थिए । कोभिड–१९ ले निको हुने दर बुधबार १५ प्रतिशत पुगेको छ । संक्रमण दिनहुँ तीव्र गतिले बढेकाले निको हुने दर कम देखिएको हो । यही गतिमा संक्रमण विस्तार जारी रहे समुदायमा फैलिन सक्ने डा. पाण्डेले बताए । ‘भारत र अन्य मुलुकबाट आएकालाई क्वारेन्टाइनमा १४ दिनसम्म राखेर परीक्षणपछि संक्रमण नभएको सुनिश्चित गरेर पठाउँदा समुदायमा फैलिने जोखिम कम हुन्छ,’ उनले भने ।

बुधबार मुलुकभरिको क्वारेन्टाइनमा १ लाख ६५ हजार ७ सय ७५ जना छन् । क्वारेन्टाइनमा रहेका अधिकांश भारतबाट फर्किएका नेपाली हुन् ।

२७९ संक्रमित थपिए

कोभिड–१९ बाट संक्रमित बुधबार २ सय ७९ थपिएका छन् । हालसम्म ४ हजार ५५ पुरुष र ३ सय ९ महिला गरी ४ हजार ३ सय ६४ जना संक्रमित भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ संक्रमित सिन्धुपाल्चोक, पाल्पा, प्यूठान, रूपन्देही, जाजरकोट, डडेलधुरा, गोर्खा, नुवाकोट, दैलेख, सुर्खेत, दार्चुला, उदयपुर, नवलपुर, सर्लाही, कपिलवस्तु, नवलपरासी पश्चिम, बाँके, बर्दिया, सप्तरी, कैलाली, कञ्चनपुर, सर्लाही, धादिङ, धनुषा, रौतहट र सिरहाका छन् । हालसम्म संक्रमित ७२ जिल्लाका हुन् । बुधबार ९० जना विभिन्न स्वास्थ्य निकायबाट निको भएर घर फर्केका छन् । हालसम्म निको भएर डिस्चार्ज हुनेको संख्या ६ सय ७४ छ ।

पीसीआर परीक्षण बुधबार ४ हजार ४ सय १४ नमुुनाको गरिएको छ । हालसम्म १ लाख १० हजार ७ सय ७४ नमुनाको पीसीआर परीक्षण भइसकेको छ ।

प्रकाशित : जेष्ठ २९, २०७७ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?