दबाबमा दुइटा चार्टर उडानलाई अनुमति

सुरज कुँवर

काठमाडौँ — विदेशीने यात्रुसँग तेब्बर भाडा असुल्दै चार्टर उडान हुन थालेपछि चार्टर उडानलाई प्रतिबन्ध लगाएको सरकारले दबाबमा दुइटा चार्टर उडानलाई अनुमति दिएको छ । शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कुटनैतिक नियोग प्रत्यक्ष संलग्न हुने उडानबाहेकलाई अनुमति नदिने निर्णय गरेको थियो ।  

दबाबमा दुइटा चार्टर उडानलाई अनुमति

यो निर्णय लगत्तै नागरिक उड्डयन प्राधिकरणले ट्राभल एजेन्सीलाई चार्टर उडानका नाममा टिकट बिक्री नगर्न सूचना जारी गरेको थियो । तर, त्यसविपरित मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जापानका लागि हुने दुइटा चार्टर उडानलाई अनुमति दिएको छ ।

‘शनिबार सूचना जारी गर्दासम्म आइतबार र सोमबारका लागि नेपाल वायुसेवा निगमका दुइटा विमानमार्फत् एउटा जापान र अर्को अष्ट्रेलियाका लागिमात्रै चार्टन उडानको अनुमति थियो,’ उच्च स्रोतले भन्यो, ‘मंगलबार काठमाडौंको सोसाइटी ट्राभल र बिहीबारका लागि सेरेन ट्राभललाई अनुमति दिन मन्त्रालयबाट दबाब आएपछि यी दुइटालाई अनुमति दिनुपर्ने भयो ।’ यी दुवै चार्टर उडानलाई काठमाडौंमा रहेको जापानी दूतावासले ‘हुन्छ’ भनेकाले अनुमति दिनुपरेको मन्त्रालयका एक अधिकारीले बताए ।

‘खासमा दूतावास र एयरलायन्सबीच सम्झौता भएको हुनुपर्ने हो तर मंगलबार र बिहीबारका चार्टर उडानमा दूतावासले निगमसँग चार्टर सम्झौता गरेको छैन । त्यसैले यी दुइटा कुटनैतिक उद्धार उडान होइनन्,’ सम्वद्ध एक अर्का अधिकारीले कान्तिपुरसँग भने ।

सोसाइटीले जापानका लागि गर्न लागेको चार्टर उडानको उड्ने समय राति नौ बजे हो । तर, मंगलबार यो समाचार तयार पार्दासम्म अनुमति थिएन । २ सय ५८ जना यात्रु विमानस्थल पुगिसकेका छन् । चार्टर उडानको अनुमति नै नपाएको जानकारी पाएपछि यात्रुले विमानस्थल कार्यालयमा होहल्ला र विरोध गरेका थिए ।

विमानस्थलमा यात्रु र कर्मचारीबीच तनाव उत्पन्न भएपछि टिकट बिक्री गर्ने सोसाइटी ट्राभलको अनुरोधमा काठमाडौंस्थित जापानी दूतावासका कर्मचारी, जहाज चार्टर भाडामा लगाउने नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष शुसिल घिमिरे, निर्देशक टंकनिधि दाहाल, प्राधिकरणका महानिर्देशक राजन पोखरेल लगायतसँग पर्यटन सचिव केदारबहादुर अधिकारीले छलफल गरेका थिए । ‘टिकट नै बिक्री भइसकेको र यात्रु विमानस्थलमा पुगिसकेकाले फर्काउनु भएन,’ स्रोतले भन्यो, ‘सरकारको दूरदर्शिता र निर्णय गर्ने क्षमता नहुँदा अन्तिम समयमा अनुमति दिनुपर्ने बाध्यता आइलाग्यो ।’

सेरेन र सोसाइटीले दूतावासको ‘ग्रिनसिग्नल’मा यात्रु जम्मा गर्दै टिकट बिक्री थालेका थिए । सोसाइटीका संचालक सुनिल शर्माका अनुसार, यात्रुहरुलाई १ हजारदेखि ११ सय डलरमा टिकट बिक्री भएका छन् । २ सय ५८ मा १३ जना ताइवानी र जापानी नागरिक छन् भने बाँकी सबै नेपाली हुन् । सेरेनका संचालक विष्णु बस्नेतले बिहीबार हुने अर्को चार्टरका लागि सबै सिट बुक भइसकेको बताए ।

प्रकाशित : जेष्ठ २७, २०७७ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?