कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट फर्किए साढे ७ लाख

काठमाडौँ — कोभिड–१९ महामारी फैलिन थालेपछि भारतबाट हालसम्म साढे ७ लाखभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । २०७६ फागुन २५ यता ७ लाख ५३ हजार २ सय १९ जना फर्किएका हुन् । चैत ११ मा नेपालमा लकडाउन घोषणा भएसँगै स्वदेश फर्किनेको संख्या २ लाख ४३ हजार ८ सय ३१ पुगेको छ ।

भारतबाट फर्किए साढे ७ लाख

सीमा नाकामा फागुन २५ बाट हेल्थ डेस्क सञ्चालनमा ल्याइएको थियो । हेल्थ डेस्क राखेपछिको १५ दिन अर्थात् चैत १० गतेभित्र मात्रै ५ लाख ५५ हजार ४ सय ६९ जना जना भित्रिएका थिए ।

गृह मन्त्रालयको तथ्यांकअनुसार फागुन २५ देखि चैत १० गतेको अवधिमा प्रदेश १ का नाकाबाट २ लाख ४ हजार ७ सय २१, प्रदेश २ बाट ५६ हजार १ सय ८२, गण्डकी प्रदेशका नाकाबाट ७ हजार ३ सय ६८, प्रदेश ५ बाट १ लाख ७१ हजार १ सय ३३ र सुदूरपश्चिम प्रदेशका नाकाबाट १ लाख १६ हजार ६५ जना मानिस भित्रिए ।

भित्रिएका सबै सामान्य तापक्रम जाँचका भरमा आफ्नो थातथलो पुगिसकेका छन् तर उनीहरुको न स्वास्थ्य परीक्षण गरियो न सरकारले यसप्रति संवेदनशीलता देखायो । जसका कारण अहिले देशभर संक्रमण फैलिसकेको छ । नाकाबाट परीक्षणबिनै भित्रिएकाहरुकै कारण संक्रमण समाजमा फैलिएको हुन सक्ने जोखिम सरकारी अधिकारीहरु बताउँछन् । चैत ११ गतेयताको विवरणअनुसार प्रदेश १ बाट ८ हजार ९ सय ९८, प्रदेश २ का नाकाबाट १८ हजार १ सय ८४, प्रदेश ५ हुँदै ७२ हजार ६ सय ९८ र सुदूरपश्चिम प्रदेशका नाकाबाट ९७ हजार ६ सय ५४ जना स्वदेश फर्किएका थिए ।

भारतबाट १० लाखभन्दा बढी नेपाली भित्रिने आँकलन भए पनि यो संख्या अझै बढ्न सक्ने गृहको आँकलन छ तर त्यसलाई धान्न सक्ने गरी न स्वास्थ्य परीक्षण गर्ने क्षमता सरकारसँग छ, न क्वारेन्टाइन व्यवस्थापन चुस्त छ । लकडाउनपछि भित्रिएकालाई स्थानीय तहका क्वारेन्टाइनमा १४ दिनसम्म राख्ने व्यवस्था मिलाइएको छ । पछिल्लो तथ्यांकअनुसार देशभरका क्वारेन्टाइनमा १ लाख ७० हजार ३ सय ३२ जना छन् । संक्रमण देखिएपछि आइसोलेसनमा बस्नेको संख्या ३ हजार २ सय ६० पुगेको छ । तर क्वारेन्टाइनमा बसेकाकामा मास स्केलमा स्वास्थ्य परीक्षण भएको छैन । शंका लागेका र बिरामी परेकाको परीक्षण गरिएकामध्ये सयौंमा संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३ हजार ७ सयभन्दा बढीमा संक्रमण देखिइसकेको छ । संक्रमणबाट हालसम्म सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची, दैलेख, बाजुरा, दोलखा, पाल्पा, सुर्खेत, कैलाली, डोल्पा र स्याङ्जामा गरी १४ जनाको मृत्यु भइसकेको छ । क्वारेन्टाइनमै बसेका १७ जनाको मृत्यु भएकामा ९ जनामा संक्रमण देखिएको थियो । लकडाउनपछि भित्रिएका मानिसलाई नाकाबाट व्यवस्थित गरेर क्वारेन्टाइनमा पठाइए पनि उनीहरुको स्वास्थ्य परीक्षण भएको छैन ।

केही शंका लागेका मानिसको मात्रै परीक्षण हुँदा कतिपयमा संक्रमण देखिएको थियो । पछिल्लो समय संक्रमणको ग्राफ उच्च हुँदै गएको छ ।

प्रकाशित : जेष्ठ २७, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?