कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुकुम घटनाको छानबिन गर्न पौडेलको संयोजकत्वमा संसदीय विशेष समिति गठन

काठमाडौँ — रुकुम पश्चिममा ६ जना युवाको ज्यान जानेगरी भएको घटनाको छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन भएको छ । नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय विशेष समिति गठन भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका छन् ।

रुकुम घटनाको छानबिन गर्न पौडेलको संयोजकत्वमा संसदीय विशेष समिति गठन

संसदीय विशेष समिति सदस्यमा सांसदहरू इकवाल मियाँ, दुर्गा पौडेल, पावर्ती विशुंखे, प्रकाश सराइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् ।

समितिलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ ।


चौरजहारी घटनामा नवराज विक लगायत ६ जना जाजरकोटका युवाको हत्या भएको थियो । दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा उक्त घटना भएको थियो ।

जेठ १० गते भएको रुकुम घटनामा ६ जना युवाहरूको हत्या भएको थियो । उक्त घटनामा दलित युवाहरूमाथि केटी पक्षका मान्छेहरूले हमला गरेका थिए ।

जाजरकोटका युवा नवराज विक मल्ल थरकी केटीसँग विवाह गर्नका लागि पश्चिम रुकुम गएका थिए । रुकुम पश्चिम चौरहजारी नगरपालिका सोतीकी केटीको घर जाँदा केटीका परिवारले 'तल्लो जात'को भन्दै गाली गरेपछि फर्केका युवामाथि गाउँलेले झन्डै तीन किलोमिटर पर आएर हमला गरेका थिए । ती युवाहरूलाई हत्या गरेर भेरी नदीमा फालिएको आरोप पीडित पक्षले लगाएका छन् ।

यो घटनामा मृत्यु हुनेमा नवराज विक, गणेश बुढामगर, टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विक रहेका छन् । उक्त घटनामा संलग्न वडाध्यक्ष डम्मरबहादुर मल्लसहित डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोष मल्ल, मोहन पुनमगर, रमेशबहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल र १७ वर्षीया एक किशोरीलगायतलाई प्रहरीले पक्राउ गरेर छानबिन अगाडि बढाएको छ ।

घटनाको छानबिन गर्नका लागि गृहमन्त्रालयले सहसचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिप्रति आफ्नो विश्वास नरहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।

सभामुख सापकोटाले शुक्रबारको प्रतिनिधिसभा बैठकमा उक्त घटनाको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्ने बताएका थिए ।

प्रकाशित : जेष्ठ २६, २०७७ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?