२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

‘पुन: परीक्षण नगरी पठाउनु घातक’

विज्ञ भन्छन्– ‘लक्षण नहुनुलाई संक्रमणमुक्त भएको मान्न मिल्दैन’
फातिमा बानु

काठमाडौँ — कोभिड–१९ संक्रमितलाई लक्षणविहीन भएको तीन दिनभित्र कुनै परीक्षण नगरी डिस्चार्ज गर्नू भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २१ गते देशका सबै कोभिड अस्पताललाई पत्राचार गरेको छ । सरकारको निर्देशन पालना गर्दै ती अस्पतालले लक्षणविहीनलाई परीक्षण नगरी डिस्चार्ज गर्न थालिसकेका छन् ।

‘पुन: परीक्षण नगरी पठाउनु घातक’

संक्रमितलाई पुन: परीक्षण नगरी डिस्चार्ज गर्ने अभ्यास जनस्वास्थ्यका लागि खतरनाक हुने विज्ञहरूले बताएका छन् । लक्षण नहुनुलाई संक्रमणमुक्त भएको मान्न नमिल्ने उनीहरुको भनाइ छ । यसअघि कोरोना पुष्टि भएर अस्पताल भर्ना भएका संक्रमितको पीसीआर रिपोर्ट नेगेटिभ नआएसम्म परीक्षण गरिन्थ्यो अनि मात्रै डिस्चार्ज गरिन्थ्यो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दुई पटक पीसीआर नेगेटिभ आएपछि मात्रै बिरामी डिस्चार्ज गर्ने गरेको निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए । ‘परीक्षण नगरी डिस्चार्ज गर्ने निर्देशन भए पनि बिरामीको क्लिनिकल, भाइरोलोजिकल अवस्था हेरेर मात्रै घर पठाउँछौं,’ उनले भने, ‘निर्देशिकाले जे पनि व्यवहारमा लागू गर्न गाह्रो छ ।’

लक्षण नदेखिए पनि मानव शरीरभित्र भाइरस जीवितै हुन सक्ने हुँदा समुदायमा जानुअघि अनिवार्य पीसीआर परीक्षण गर्नैपर्ने जनस्वास्थ्यविद् डा.समीरमणि दीक्षित बताउँछन् । लक्षण नदेखिएकालाई परीक्षणबिना घर पठाउने निर्णय गलत भएको उनले बताए । ‘स्रोतसाधन बचाउने नाममा यस्तो गर्दा भोलि झन् भयावह स्थिति आउँछ,’ उनले भने, ‘एक व्यक्तिले समुदायभरि रोग सार्न सक्छन्, अन्तत: राज्यलाई नै भार पर्ने हो ।’ क्वारेन्टाइनमा राखिएकालाई पनि आरडीटी परीक्षणका भरमा घर पठाउन नहुने उनले बताए । सामुदायिक क्वारेन्टाइन नै संक्रमणको स्रोत भइरहेको अवस्थामा यस्तो निर्देशिका व्यावहारिक नहुने उनको भनाइ छ । ‘आरडीटीमा भर पर्नुहुँदैन, पीसीआर नै गर्नुपर्छ, संसारभरि यही अभ्यास छ,’ उनले भने, ‘यसले रोग नियन्त्रण गर्न सघाउँदैन, संक्रमण रोक्न पीसीआर परीक्षण गरी संक्रमित पहिचान गरेर उपचारको दायरामा ल्याउनुको विकल्प छैन ।’

लक्षण नदेखिएका व्यक्तिमा भाइरस कमजोर हुन्छ भनेर स्वतन्त्र हिँड्न नहुने उनको भनाइ छ । ‘भाइरस कडा र नरम हुँदैन, यसले मानव शरीरमा कसरी प्रतिक्रया गर्छ, त्यो व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा भर पर्छ,’ उनले भने । ‘कोभिड परीक्षण राष्ट्रिय निर्देशिका २०१९’ बनाउनुअघि सरकारले सुझाव मागेको र आफूले लक्षणविहीनलाई परीक्षणबिना घर पठाउनै हुँदैन भनेको उनले बताए । ‘निर्देशिका पास हुँदा उल्टो भएर आएछ,’ उनले भने ।

दैलेखको नारायण नगरपालिकास्थित नारायणी क्याम्पसको क्वारेन्टाइनमा बसेका ८ सय २२ जनालाई आरडीटी मात्रै गरेर घर पठाइयो । घर फर्केका ८७ जनाको जेठ २२ मा पीसीआर रिपोर्ट पोजिटिभ आयो । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज पटेलका अनुसार नगरपालिकाले ती संक्रमितलाई खोज्दै आइसोलेसनमा राखिरहेको छ ।

जेठ २२ मा सुर्खेतको पञ्चपुरी नगरपालिकाका २० वर्षीय युवकको कोरोना संक्रमणका कारण मृत्यु भयो । उनी जेठ ८ देखि जनता माविको क्वारेन्टाइनमा बसेका थिए । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइयो । घर पुगेको भोलिपल्ट उनको मृत्यु भयो र मृत्युपश्चात गरिएको पीसीआर रिपोर्ट पोजिटिभ आयो ।

जेठ २० मा डोल्पाका एक पुरुषको होम क्वारेन्टाइनमा मृत्यु भयो । मृत्युअघि उनको आरडीटी रिपोर्ट नेगेटिभ आएको थियो । मृत्युपश्चात कोरोना परीक्षण गर्दा पोजिटिभ आयो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु भएका १३ जनामध्ये ११ जनाको मृत्युपश्चात परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ ।

विज्ञले ‘पीसीआर रिपोर्टपश्चात मात्रै घर पठाउनु, पीसीआर रिपोर्टलाई मात्रै आधिकारिक मान्नु’ भन्दाभन्दै आरडीटीको भर पर्दा बिरामीले ज्यान गुमाए ।

आइसोलेसनमा बसेकालाई परीक्षणबिनै घर पठाउने नीति विकसित मुलुकका लागि अब्बल मानिए पनि नेपालमा यसले संक्रमणको जोखिम झन् बढाउने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । ‘डिस्चार्ज गरिएका बिरामीले कि त घर पुगेर क्वारेन्टाइनमा बसिदिनुपर्‍यो, कसैसँग हेलमेल गर्नुभएन,’ उनले भने, ‘नत्र निर्देशिका व्यावहारिक छैन ।’

क्वारेन्टाइनमा बसेकालाई पनि परीक्षणबिना घर पठाउन नहुने उनले बताए । नेपालका कोरोना संक्रमित लगभग सबै लक्षणविहीन भएकाले लक्षण नहुँदैमा शंकास्पद व्यक्तिलाई परीक्षणबिना समुदायमा पठाउनै नहुने उनको भनाइ छ । ‘विदेशमा गरिएका अनुसन्धानअनुसार संक्रमितले १० दिनपछि अरूलाई रोग सार्दैन,’ उनले भने, ‘तर यो क्वारेन्टाइन व्यवस्थित भएको ठाउँका व्यक्तिको हकमा मात्रै लागू हुन्छ, हाम्रो देशमा क्वारेन्टाइन व्यवस्थित छैन, झन् परीक्षणबिनै घर पठाउने भनेपछि यसले जोखिम बढाउने नै भयो ।’

प्रकाशित : जेष्ठ २६, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?