कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बम्बैको भरोसा टुटेपछि...

कोरोनाका कारण आफन्तहरुको रोजगारी गुमेपछि अछामका महिला चिन्तामा
मेनुका ढुंगाना

अछाम — घरपरिवारको गुजारा चलाउने बाटो नै बन्द भएपछि ढकारी गाउँपालिका-४ की सेतु कामी आजभोलि निकै चिन्तामा छिन । हरेक महिनाको १५ गतेभित्र भारतको बम्बईबाट उनका श्रीमान्‌ले पैसा पठाउँथे । गाउँघरमै बैंकिङ सेवा विस्तार भएकाले पैसा पाउन सजिलो भएको थियो ।

बम्बैको भरोसा टुटेपछि...

सेतु पनि महिना पुग्न थालेपछि बम्बईबाट श्रीमान्ले पठाउने पैसा कुरेर बसेकी हुन्थिन् । श्रीमान्‌ले महिनावारी पठाउने पैसाले उनले घरखर्च चलाएकी थिइन् । कोरोना संक्रमणबाट जोगिन श्रीमान् घर फर्केसँगै परिवारमा पैसा आउने स्रोत बन्द भयो । घरपरिवारमा पनि बिचल्ली सुरु भयो ।

‘बम्बैमा नयाँ रोग आयो काम बन्द भयो भन्दै श्रीमान् घर आए । अब कसो गर्ने होला,’ सेतुले भनिन्, ‘मेरो र छोराछोरीका रहर पूरा त कहिल्यै पूरा भएका थिएनन् । जेनतेन धानेकै थियौं अब कसरी घरखर्च चलाउने भन्ने समस्या भयो ।’ घरको मुख्य कमाउने मान्छे नै बेरोजगार भएपछि साँझ बिहानको छाक टार्नै मुस्किल भएको उनको भनाइ छ ।

अरु बेला प्रदेश गएका श्रीमान् घर आउँदा खुुसी देखिने ग्रामीण भेगका महिलाहरु अहिले भने चिन्तित देखिन्छन् । भारतबाट आउने, खेतीपाती लगाएर फेरि कमाउनका लागि फर्किने भएकाले उनीहरु खुसी हुन्थे । तर अहिले फर्किने टुंगो छैन । ‘दसैंतिहारमा आउने गर्थे । रमाइलो नै हुन्थ्यो । अहिले रोगबाट बच्नका लागि श्रीमान् घर आए । उनको कमाइले बाँचेका छोराछोरी घर परिवार अब कसरी चलाउने होला,’ अछाम बलाताकी कला साउदले भनिन्, ‘महिनाको दुई/तिन पटक त छोराछोरी बिरामी नै हुन्छन् । अब त उपचार गर्न सक्ने अवस्था पनि छैन ।’

मंगलसेन नगरपालिका–७ की पारु भाटले आफू बिरामी हुँदा उपचार खर्चका लागि माइतीको जग्गाको लालपुर्जा बैंकमा राखेकी छन् । उनले एक महिनामा १४ हजार बैंकमा किस्ता बुझाउनु पर्छ । महिनामा किस्ता बुझाउन उनका श्रीमान्ले हरेक महिनाको ५ गते पैसा पठाउने गरेका थिए । तर अब श्रीमान् घर फर्केपछि महिनैपिच्छे पैसा पठाउन सक्ने अवस्था रहेन ।

भारतमा कोरोना संक्रमण बढ्न थालेपछि वैशाख १५ मा पारुका श्रीमान् घर फर्केका हुन । ‘बिरामी हुँदा बैंकबाट कर्जा निकालेको थिए । बम्बैबाट पैसा आउथ्यो र किस्ता तिर्ने गरेकी थिए,’ पारुले भनिन्, ‘पैसा कमाउने मान्छे नै घरमा छन् । अब त बम्बैको भरोसा टुट्यो ।’

मंगलसेन नगरपालिका–१, कुन्तिबण्डालीकी लाली थापा चैतमा गाउँकै अन्य महिलासंँग भारत जान थालेकी थिइन् । कसैका श्रीमान्, कसैका छोरा र कसैका आफन्त भारतमा भएकै कारण महिलाहरु पनि जान थालेका थिए । गहुँ बाली भित्र्याएपछि बाँझो जमिनमा खेती लगाएर भारत जाने मौसम यही बेला भएकाले उपचारका लागि भारतको पुणेमा जाने उनको अन्तिम तयारी थियो । तर कोरानाको महामारी फैलिएपछि उनका श्रीमान् नै घर फर्किए ।

अहिले उनी रोगसँग जुधिरहेकी छिन् । ‘पेट दुख्ने, हात खुट्टा दुखिरहने समस्या छ । जिल्ला अस्पतालमा जचाउँदा धनगढी वा नेपालगञ्जसम्म जानु भनेको थियो,’ लालीले भनिन्, ‘मंगलसेन बाहेक अन्य ठाउँ हाम्रा लागि बिरानो छ । श्रीमान् बम्बैमा थिए । उतै गएर उपचार गरौंला भन्ने सोचेको थिए । अब रोग पालेरै बस्नु पर्‍यो ।’

भारतका विभिन्न ठाउँमा आफन्तहरु काम गर्न जाने भएकाले यहाँका धेरैजसो महिलाको उपचार गर्ने थलो नै भारत थियो । तर भारतमा रहेका सबै आफन्त कोरोनाको डरले घरमै फर्किएपछि महिलारु निरास भएका छन् ।

‘गत माघमा पत्थरीको अप्रेसन पनि भारतमै भएको हो । तीन महिनापछि फेरि आउनु भनेर डाक्टरले बोलाएका थिए’ कुन्तिबण्डालीकै जानकी थापाले भनिन्, ‘उपचारमा साथमा जाने श्रीमान् उतै थिए । ढुक्कले उपचार हुन्थ्यो यहाँ न हामीले कुनै ठाउँ चिनेका छौं । न त कुनै मान्छे चिनेका छौं । श्रीमान् पनि घर आइसके, खर्च पनि छैन कता उपचार गर्ने ठेगान छैन ।’

प्रकाशित : जेष्ठ २३, २०७७ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?