यूएईबाट नेपालीलाई ल्याउने भनिएको पहिलो उडान रोकियो

होम कार्की

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) बाट शुक्रबार नेपालीलाई ल्याउने भनिएको पहिलो उडान रोकिएको छ । यूएईले आफ्नै खर्चमा एयर अरेबियाका आठ उडानमार्फत अलपत्र नेपालीलाई पठाउने तालिकासहितको प्रस्ताव पठाएकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार अनुमति दिएको थियो । पहिलो उडान शुक्रबार साँझ ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने भनिएको थियो ।

१ सय ६८ जना सिट क्षमताको विमानमा नेपालीलाई पठाउने तयारी थियो । सरकारले अनुमति दिनासाथ यूएईस्थित नेपाली दूतावासले बिहीबारै त्यहाँको सरकारलाई जानकारी दिएको थियो । तर, अहिले यूएईका अधिकारीहरूले उडानसँग सम्बन्धित केही विषय अझै प्रस्ट हुन बाँकी रहेको दूतावासलाई बताएका छन् ।

‘शुक्रबार बिदा परेकाले यूएईका सबै सरकारी कार्यालय बन्द छन् । केही प्राविधिक कुरा प्रस्ट हुनुपर्ने भयो’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘यसबारे केही दिनमा टुंगो लाग्नेछ ।’

दूतावासले उडानको अनुमति पाएलगत्तै प्राथमिकतामा परेकालाई जानकारी दिने तयारी गरेको थियो । पहिलो उडानमा भिजिट भिसामा आएर अलपत्र परेका र गर्भवतीलाई प्राथमिकतामा राखिएको थियो ।

प्रकाशित : जेष्ठ २३, २०७७ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्

संक्रमितलाई ‘विभेद’ को डर

परिवारका सदस्यमा संक्रमण पुष्टि हुँदा छरछिमेक टाढिनु र बोल्नै छाड्ने व्यवहार गर्नुले विभेदले सामाजिक जटिलता ल्याएको छ । संक्रमित आइसोलेसनमा छन्, परिवारलाई उनीभन्दा बढी चिन्ता छिमेकीले कस्तो व्यवहार गर्लान् भन्ने परेको छ ।
प्रदेश ब्युरो

बुटवल — कपिलवस्तु नगरपालिका कार्यालयबाट गत जेठ ९ मा आफूलाई कोभिड–१९ संक्रमणको खबर आउँदा तौलिहवाका एक सञ्चारकर्मी आफ्नो कार्यालयमै थिए । ‘खबर परिवारलाई बताउन चाहन्थें,’ उनले भने, ‘अरूलाई पनि सर्‍यो कि भन्ने मनमा चिन्ता थियो ।’

परिवारलाई सम्झाएर घरमै ‘सेल्फ आइसोलेसन’मा बस्न चाहन्थे । परिवारको चाहना पनि त्यही थियो । ‘तर, रिपोर्टिङमा हिँडेदेखि छिमेकीले कुरा काट्न थालेका थिए,’ उनले भने, ‘त्यो सम्झेर घर जाने आँट आएन ।’

परिवारसित देखभेट टुटेको १३ दिन भइसक्यो । पीसीआर रिपोर्टमा कोरोना पुष्टि भएपछि घर नआउने र कार्यालयमै बस्ने सुनाए । परिवारले सहमति जनाए । उनी संक्रमित भएको थाहा पाएपछि श्रीमती र चार वर्षीय छोरालाई अन्यत्र गएर बस्न भनियो । तीन दिनसम्म दबाब दिइरहे । उनले श्रीमती र छोरालाई घरभित्रै बस्न भने । उनीहरूको रिपोर्ट नेगेटिभ आयो । ‘श्रीमतीले पनि लक्षणबिनाको कोरोना सामान्य हो भनेर सम्झाइन्,’ उनले भने, ‘त्यसपछि घर वरिपरिका मानिस उदार बनेका छन् ।’ तर, उनले भेदभाव महसुस गरिरहेका छन् । उनी आइसोलेसनमा रहेको कार्यालय वरपरका बासिन्दा टाढैबाट बोल्नसमेत हिचकिचाउँछन् । ‘मेरो कार्यालयको बाटो हुँदै हिँडडुल कम गर्छन्,’ उनले भने ।

परीक्षणको पहिलो रिपोर्ट नेगेटिभ आएपछि ढुक्कसाथ घरमै बसेर काम गरिरहेका कपिलवस्तुकै अर्का युवाले पनि सामाजिक विभेद सहनु पर्‍यो । बुद्धभूमि–२ का उनी बुटवलस्थित आइसोलेसन सेन्टरमा आउँदा एम्बुलेन्स चढेनन् । ‘एम्बुलेन्समा आउँदा समाजमा त्रास फैलिन्थ्यो,’ उनले भने, ‘परिवारलाई गाह्रो हुने भए पनि मोटरसाइकलमै आएँ ।’ उनका अनुसार उनी बस्ने क्षेत्र बजार हो । सधैं भीडभाड हुन्थ्यो । ‘म संक्रमित भएको खबरपछि सुनसान बनेको छ,’ उनले भने, ‘घरमा दूध ल्याइदिन छाडेका छन् रे ।’ कोरोनाबारे अफवाह बढी भएकाले समाजमा त्रास रहेको उनले बताए । ‘आइसोलेसन सेन्टर खोज्दै हिँड्नुभन्दा लक्षण नदेखिए घरमै सेल्फ आइसोलेसनमै बस्नु उपयुक्त उपाय हो,’ उनले भने, ‘तर, समाजलाई बुझाउन सकिएन ।’

कपिलवस्तुको वाणगंगाकी संक्रमित युवती अहिले बुटवलको एन्फा एकेडेमी आइसोलेसनमा छिन् । जेठ १० मा संक्रमित भएको खबर आएपछि कार्यक्षेत्रबाटै आइसोलेसन सेन्टरमा आएकी हुन् । परिवारले घरमै बस भन्न सकेनन् । उनले जाने आँट गरिनन् । अहिले उनको माइतीघरको गेटमा ‘हामीसँग सम्पर्कमा नआउनुहोला, सामाजिक दूरी कायम गर्नुहोला’ भनेर सूचना टाँसिएको छ । घरतिर छिमेकीलाई जानकारी भएको छ । माइती र घरतर्फका परिवार सेल्फ क्वारेन्टाइनमा छन् । ‘घरमा अलग्गै बस्न सकिन्थ्यो,’ उनले भनिन्, ‘तर, समाजले कुरा गर्ने, त्यसैले पनि दूरी राख्नुपर्ने भयो ।’ कोरोनाले भावनात्मक दूरी बढाएको महसुस गरेको उनले बताइन् ।

प्रदेशमा दैनिक संक्रमितको संख्या बढिरहेको छ । यहाँका चार कोरोना अस्पताल भरिभराउ छन् । सबै संक्रमितलाई अस्पताल पुर्‍याउने वातावरण नभएपछि स्थानीय तहमा आइसोलेसन सेन्टर निर्माणका लागि दबाब छ । अधिकांश स्थानीय तहले यसअघि रहेका क्वारेन्टाइनकै खाली कोठामा ओइसोलेसन वार्ड बनाएका छन् । केहीले आफ्नो क्षेत्रमा रहेका खाली भवन खोजेर हतारमा बनाइरहेका छन् । यस्ता सेन्टरमा उपचारभन्दा संक्रमित राखेर रेखदेख गर्ने मात्र उद्देश्य छ । चिकित्सकले असुविधा भएका यस्ता आइसोलेसनमा भीड बढाउनुभन्दा सर्वसाधारणलाई कोरोनाबारे चेतना जगाएर घरमै संक्रमितलाई सेल्फ आइसोलेसनमा राख्ने वातावरण तयार गर्न जोड दिइरहेका छन् । त्यसका लागि परिवार तयार भए पनि संक्रमण फैलिने भन्दै समाजले नै विरोध गर्न थालेका छन् । संक्रमित आफ्नै गाउँ, टोलमा परिचित हुने वातावरण छैन । जसले गर्दा सबै संक्रमितको व्यवस्थापन नहुँदा उनीहरूमा मानसिक तनाव बढेको पाइएका छन् ।

प्रदेश सरकारले दाङको तुलसीपुरस्थित बेलझुन्डीमा कोरोना विशेष अस्पताल सञ्चालन गरिए पनि तीन साताअघि जिल्लामा संक्रमित थिएनन् । गत वैशाख ३० गते बर्दियाकी ११ वर्षीया संक्रमित बालिकालाई उक्त अस्पतालमा ल्याउने तयारी भयो । बर्दियामा कोरोना विशेष अस्पताल नभएको र बाँकेको पनि भरिभराउ भएकाले विकल्पमा दाङ ल्याउन थालिएको थियो । तर जिल्लामा संक्रमित नभएकाले बाहिरबाट ल्याउनु जोखिमपूर्ण हुने भन्दै सार्वजनिक रूपमा विरोध भयो । अन्त्यमा बालिकालाई नेपालगन्जमै व्यवस्थापन गरेर उपचार थालियो । दाङको शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले प्रेस विज्ञप्ति जारी गरी बाहिरबाट संक्रमितलाई ल्याउनु दाङ जिल्लावासीको अपहेलना हो भने । उक्त विज्ञप्ति र सामाजिक सञ्जालमा आएका विरोधको जवाफमा बेलझुन्डीस्थित कोरोना विशेष अस्पताल व्यवस्थापन समितिको बैठकले प्रदेशभरका बिरामीको उपचार गर्न सकिने निर्णय गर्‍यो ।

उक्त अस्पतालमा अहिले प्रदेशका ६ जिल्लाका ५० संक्रमित छन् । ‘अन्त चाप बढेपछि बिरामी ल्याउनु स्वाभाविक हो,’ अस्पताल प्रमुख डा. सर्वेश शर्माले भने । अस्पतालमा बिरामी राख्न थालेदेखि स्थानीय रुष्ट छन् । ‘कोरोनाबारे सबैमा सही जानकारी हुन आवश्यक छ,’ डा. शर्माले भने, ‘उपचार गर्दैमा अरूलाई सर्दैन । यो संकटका बेला सबैले सहयोग गर्नुपर्छ ।’ घोराही–१४ मा स्थानीयको विरोधले लामो समय क्वारेन्टाइन बन्न सकेन । कल्पु धर्मशाला, बालमन्दिर, शुभप्रभात माविलगायत ठाउँमा क्वारेन्टाइन बनाउन खोज्दा विरोध भयो । बस्ती बीचमा क्वारेन्टाइन राख्न खोजेको भन्दै स्थानीय लाठी बोकेर सडकमा निस्केका थिए । कोरोनाबारेमा गलत बुझाइ हुँदा सामाजिक विभेद बढिरहेको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी बताउँछन् । ‘क्वारेन्टाइन र आइसोलेसन बनाउन नदिनु कोरोना घरमा भित्र्याउनु हो,’ उनले भने, ‘बाहिरबाट आएकालाई राख्ने ठाउँ नभए सीधै घरमा जान्छन्, त्यसले बस्ती नै जोखिम हुन्छ ।’

गत जेठ १० गते बस्तीबीचमा क्वारेन्टाइन बनाइएको भन्दै रूपन्देहीको कोटहीमाई–६ का चार सय स्थानीयले प्रदर्शन गरेका थिए । क्वारेन्टाइनको व्यवस्थापन फितलो भएको र त्यहाँ बसेकाहरू गाउँ डुलेको भन्दै उनीहरूले विरोधमा उत्रिएको जनाएका थिए । डेढ साताअघि बाँकेको नरैनापुरबाट संक्रमितलाई नेपालगन्जस्थित आइसोलेसन सेन्टरमा ल्याउने क्रममा स्थानीयले एम्बुलेन्स घेराउ गरे । गाउँमा आइसोलेसन सेन्टरमा सुरक्षित नहुने ‘भ्रम’ फैलाइएपछि संक्रमितका आफन्त विरोधमा उत्रिए । गत जेठ ९ गते राति स्थानीयले १३ जना संक्रमितलाई क्वारेन्टाइनबाट भगाएपछि त्रासको वातावरण बन्यो । संक्रमित रातभरि रूखमा, नालीमा लुके । अर्को दिन सुरक्षाकर्मी परिचालन गरेर उनीहरूलाई नेपालगन्जस्थित लायन्स डेन्टल अस्पतालमा राखियो । त्यहाँ कोचाकोच गरेर बस्न बाध्य भए । संख्या बढेपछि नयाँ आइसोलेसन सेन्टरका लागि खाली सरकारी भवनको खोजी गरियो । कोहलपुरको पिपरीस्थित कृषि विकास बैंकको तालिम केन्द्रलाई आइसोलेसन सेन्टर बनाउने प्रयास गरियो । स्थानीयले विरोध गरेपछि प्रहरीलाई समस्या भयो । त्यसअघि भारतबाट आएकाहरूलाई त्यहीं क्वारेन्टाइन बनाएर राखिएको थियो । तीन दिनपछि मात्रै बैंकको तालिम केन्द्रमा संक्रमित राख्ने प्रयास सफल भयो ।

कोहलपुर नगरपालिकाले बागेश्वरी बहुमुखी क्याम्पसमा क्वारेन्टाइन बनाउन खोज्दा आसपासका स्थानीय विरोधमा उत्रिए । कोहलपुरका नगर प्रमुख लुटबहादुर रावतलाई सडकमै घेरे । प्रहरीले मुस्किलले रावतलाई मुक्त गराएको थियो । कोरोनाबारे सर्वसाधारणमा भ्रम फैलिएका कारण विरोध र विभेद भइरहेको नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले बताइन् । ‘आइसोलेसन र क्वारेन्टाइन बनाए संक्रमण फैलिने भ्रम छ,’ उनले भनिन्, ‘क्वारेन्टाइन व्यवस्थित हुने र बस्नेहरू अनुशासनमा रहेमा डर मान्नु पर्दैन ।’

फरक व्यवहार

कपिलवस्तुको यशोधरा गाउँपालिका–८, बाँसखोरका गंगाराम यादवलाई छरछिमेकले हेयको दृष्टिले हेर्छन् । छोरा संक्रमित भएकाले हेलाँ गरिएको उनको गुनासो छ । भारतबाट फर्किएका उनका छोरा सीधै घर गएनन् । वारि आउनासाथ गाउँको क्वारेन्टाइनमा गएर बसेका थिए । १० दिनपछि भएको परीक्षणबाट उनमा संक्रमण पुष्टि भयो । छोरालाई संक्रमण देखिएदेखि गाउँले परपर भाग्न थालेको उनले बताए । ‘अहिले देखे पनि नदेखेजस्तै गर्छन्,’ उनले भने, ‘कोही बोल्दैनन् ।’ छोरा बिरामी भएको छ । त्यो तनाव त छँदै छ । छरछिमेकको व्यवहारले अपहेलित भएको महसुस भइरहेको उनले बताए । ‘आत्मबल बढाउन हौसला दिनुपर्ने बेला यातना दिएजस्तो भएको छ,’ उनले भने ।

महाराजगन्ज नगरपालिका–८, कजरहवाका श्यामानन्दलाई पनि गाह्रो भइरहेको छ । उनका छोरा संक्रमित छन् । मुम्बईबाट आएर घरै नपसी क्वारेन्टाइनमा गएका थिए । त्यहाँ पोजिटिभ देखिए । ‘अहिले छोरा जानकी माविको आइसोलेसनमा छ,’ उनले भने, ‘छिमेकीहरू हेयभावले व्यवहार गर्छन् ।’ गाउँलेले फरक व्यवहार गरिरहेको उनले सुनाए । ‘समस्याका बेला सहयोग र सद्भाव देखाउनुपर्नेमा टाढिँदै गएका छन्,’ उनले भने । अहिले संक्रमितका परिवार एकलकाँटे बनेका छन् । परबाट तर्केर भाग्छन् । अछूत जस्तो व्यवहार गरिएको पीडितको दुखेसो छ । ‘संक्रमितलाई व्यवस्थापन गर्ने चिन्ता उस्तै छ,’ यशोधरा गाउँपालिका अध्यक्ष गिरजेश पाण्डेले भने, ‘समाजमा संक्रमितका परिवारप्रति विभेदले झन् समस्या भइरहेको छ ।’ उनका अनुसार गाउँमा संक्रमण भएका परिवारसँगै बोलचाल बन्द गरिएको छ । ‘विभेद देखिएको छ,’ उनले भने, ‘संक्रमण भएका व्यक्ति आइसोलेसनमा छन् । परिवारलाई तनाव छ ।’

संक्रमित भएपछि बिरामी मानसिक रूपमा त्रासमा छन् । त्यसमाथि परिवार र समाजबाट गरिने विभेदले डिप्रेसनमा जाने खतरा बढेको बुटवलस्थित कोरोना विशेष अस्पतालका डा. सुदर्शन थापाले बताए । ‘सामाजिक विभेदको असर दीर्घकालीन हुन सक्छ,’ उनले भने, ‘संक्रमण पुष्टि भएकालाई स्थानीय तहले आइसोलेसन सेन्टरमा राखेर रेखदेख गर्ने वातावरण बनाउनुपर्छ ।’ कोरोनाबारे समाजमा रहेका भ्रमबारे चेतना फैलाएर घरमा सुरक्षित तरिकाले सेल्फ आइसोलेसनमा बस्ने वातावरण तयार गरिनुपर्ने उनले बताए । लक्षण देखिएका र अन्य दीर्घ रोगीलाई मात्र अस्पताल भर्ना गर्नुपर्ने उनले बताए ।

-सन्जु पौडेल (तिलोत्तमा), मनोज पौडेल (कपिलवस्तु), दुर्गालाल केसी (दाङ) र ठाकुरसिंह थारू (बर्दिया)

प्रकाशित : जेष्ठ २३, २०७७ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×