यूएईबाट नेपालीलाई ल्याउने भनिएको पहिलो उडान रोकियो

जेष्ठ २३, २०७७

होम कार्की

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई) बाट शुक्रबार नेपालीलाई ल्याउने भनिएको पहिलो उडान रोकिएको छ । यूएईले आफ्नै खर्चमा एयर अरेबियाका आठ उडानमार्फत अलपत्र नेपालीलाई पठाउने तालिकासहितको प्रस्ताव पठाएकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार अनुमति दिएको थियो । पहिलो उडान शुक्रबार साँझ ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने भनिएको थियो ।

१ सय ६८ जना सिट क्षमताको विमानमा नेपालीलाई पठाउने तयारी थियो । सरकारले अनुमति दिनासाथ यूएईस्थित नेपाली दूतावासले बिहीबारै त्यहाँको सरकारलाई जानकारी दिएको थियो । तर, अहिले यूएईका अधिकारीहरूले उडानसँग सम्बन्धित केही विषय अझै प्रस्ट हुन बाँकी रहेको दूतावासलाई बताएका छन् ।

 ‘शुक्रबार बिदा परेकाले यूएईका सबै सरकारी कार्यालय बन्द छन् । केही प्राविधिक कुरा प्रस्ट हुनुपर्ने भयो’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘यसबारे केही दिनमा टुंगो लाग्नेछ ।’

दूतावासले उडानको अनुमति पाएलगत्तै प्राथमिकतामा परेकालाई जानकारी दिने तयारी गरेको थियो । पहिलो उडानमा भिजिट भिसामा आएर अलपत्र परेका र गर्भवतीलाई प्राथमिकतामा राखिएको थियो ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully