कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संविधान संशोधनका गैरसरकारी विधेयकहरू चालु अधिवेशनमा पेस नहुने

काठमाडौँ — संघीय संसदमा संविधान संशोधनलाई लिएर दर्ता भएका ३ गैरसरकारी विधेयक चालु अधिवेशनमा संसद्‍मा पेस नहुने भएका छन् ।

संविधान संशोधनका गैरसरकारी विधेयकहरू चालु अधिवेशनमा पेस नहुने

नेपालको नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधनका लागि सरकारले ल्याएको नेपालको संविधान दोश्रो संशोधन विधेयक प्रक्रियामा गइसकेको छ । सरकारले ल्याएको विधेयक संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठकमा टेबल भइसकेकाले यही अधिवेशमा राजनीतिक दलको तर्फबाट दर्ता भएका संविधान संशोधन सम्बन्धी अन्य विधेयक प्रक्रियामा नजाने भएका हुन् ।

एउटै अधिवेशनमा समान विषयको विधेयक ए भन्दा बढी प्रस्तुत हुन नसक्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीले गरेकाले संविधान संशोधन सम्बन्धी अन्य तीन विधेयक चालु अधिवेसनमा पेस हुन नसक्ने संसद सचिवालयले जनाएको छ ।

संघीय संसद् प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १०१ मा समान विषयको विधेयक सूचीमा नरहने व्यवस्था छ । नियम १०१ मा भनिएको छ 'सभामुखले अन्यथा आदेश दिएमा बाहेक कुनै विधेयक सदनको विचाराधीन रहेको अवस्थामा उस्तै विषय र उद्देश्य समावेश भएको कुनै अर्को विधेयकको सूचना विचराधीन विधेयक प्रस्तुत हुनुभन्दा अघि वा पछि जुनसुकै मितिमा प्राप्त भए पनि त्यसलाई प्राप्त विधेयकको सूचीमा राखिने छैन ।' पूर्वसचिव मुकुन्द शर्माले सभामुखको आदेश नभए प्रतिनिधिसभा नियमावलीमा भएको संविधान संशोधन सम्बन्धी राजनीतिक दलका विधेयक चालु अधिवेशनमा प्रस्तुत हुन नसक्ने बताए ।

यद्यपि नियमावलीमा भएको व्यवस्था बाहेक सभामुखलाई अग्राधिकार दिएकाले सभामुखले बैठकमा विधेयक पेस गराउन निर्देशन गर्नसक्ने अवस्था भने यथाव तरहेको उनले बताए । पूर्वसचिव शर्माले भने, 'दर्ता प्रस्ताव तथा जनुसुकै विधेयकहरूलाई व्यवस्थापकीय काममा ढाल्ने कि नढाल्ने भन्ने कराको निर्क्यौल सभामुखबाट हुने गर्दछ ।'

तर गैरसरकारी विधेयकको प्रक्रिया अघि बढाउन सरकारको राय प्रतिक्रिया पनि आवश्यक पर्ने भएकाले सरकारले दिने रायले पनि प्रक्रिया अघि बढ्ने-नबढ्ने विषयको टुंगो लाग्ने शर्माले बताP ।

गैरसरकारी विधेयक दर्ता भएपछि सरकारलाई प्रतिक्रियाका लागि पठाउने गरिन्छ । संघीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाले कार्यान्वय गर्ने निकाय सरकार भएको तथा आर्थिक व्ययभार र कानुनी दृष्टिले बाँझिने अवस्था भए- नभएको निर्क्यौल गरी कानुनी दृष्टिबाट पनि विश्लेषण गर्नुपर्ने भएकाले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई गैरसरकारी विधेयकमाथिको प्रतिक्रियाका लागि पत्राचार गरिने बताए । तर सरकारी विधेयकका सम्बन्धमा थप प्रक्रिया आवश्यक नपर्ने भएकाले दर्ता भएको मितिले ५ दिनभित्र प्रक्रियामा अगाडि बढाउन सकिने व्यवस्था रहेको र सोहीअनुसार प्रक्रिया पनि अघि बढिसकेको उनले बताए ।

'सामान्यतया सरकारी विधेयक दर्ता भएको मितिले ५ दिनभित्र प्रक्रियामा अगाडि बढाउन सकिन्छ । गैरसरकारी विधेयकको हकमा ७ दिनपछि अगाडि बढ्न सक्छ । संविधान संशोधन सम्बन्धमा सरकारी विधेयक अगाडि बढिसकेको छ । विधेयक सदनम प्रस्तुत भएपछि सार्वजनिक जानकारीका लागि प्रकाशन गर्नुपर्ने हुन्छ,' धमलाले भने, 'प्रकाशन भएको मितिले ७ दिनपछि अर्को प्रक्रियामा जान सकिन्छ । यदि प्रदेशसँग सम्बन्धित संविधानको अनुसूची ६ सँग सम्बन्धित छ भने प्रदेशको सहमतिका लागि पनि पठाउनुपर्ने व्यवस्था छ । र प्रदेशको अनुमति बिना प्रक्रिया अघि बढाउन सकिँदैन ।'

सरकारको संविधान संशोधन विधेयक बाहेक राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको तर्फबाट संयुक्त रूपमा नेपालको संविधानको धारा ७, ११, ३८, ८६,२७४, २८२, २८३ र २८७ मा भएको व्यवस्था संशोधनको माग गर्दै संशोधन विधेयक दर्ता भएको छ । नेपाली कांग्रेसका सांसदहरू अमरेश कुमार सिंह, उमाकान्त चौधरीलगायत ८ जनाले र जनमोर्चा नेपालको तर्फबाट सांसद दुर्गा पौडेलले पनि संविधान संशोधन विधेयक दर्ता गरेकी छन् ।

प्रकाशित : जेष्ठ २२, २०७७ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?