चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर मौसम बदलीसँगै वर्षाको सम्भावना

रासस

काठमाडौँ — चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने मौसमविद् शान्ति कँडेलले बताइन् ।

उक्त चक्रवातको असर नेपालमा शुक्रबार र शनिबार बढी पर्ने बताइएको छ । 'नेपालको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा गराउनुको साथै उच्च पहाडी तथा हिमाली भूभागमा यसले हिमपात गराउने सम्भावना छ,' मौसमविद् कँडेलले भनिन् ।

भारतमा बुधबारदेखि प्रवेश गरेको निसर्ग चक्रवातको प्रभाव अम्पुनको तुलनामा नेपालमा बढी देखिने मौसमविद्को अनुमान छ । निसर्ग चक्रवात हाल भारतको अलिवाग नजिकै मुम्बईबाट ७५ किमी र पुणेबाट ६५ किमी टाढा रहेको छ । त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तरपूर्वी दिशातर्फ मोडिने सम्भावना रहेको छ । यस चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा परिसकेको छ । देशको खासगरी मध्य र पूर्वी क्षेत्रका अधिकांश स्थानमा बदली रही केही ठाउँमा हल्लका वा मध्यम वर्षा भएको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । शनिबार प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मती प्रदेशका केही र अन्य प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

प्रकाशित : जेष्ठ २२, २०७७ १०:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

काठमाडाैंकाे न्युराेडका पसल खुल्न थाले [तस्बिरहरू]

तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडौंको न्युरोडमा रहेका अधिकांश पसलहरु आजदेखि खुलेका छन् । सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन लम्बिदै गएपछि पसल व्यवसाय गर्ने व्यवसायीहरुले बिहीबारदेखि पसल खोल्न थालेका हुन् ।

साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले संगठनको निर्णयअनूसार समाजिक दूरी कायम गर्दै बिहान ८ बजे देखि ११ बजे सम्म पसल सञ्चालन गरिएको बताए ।

कटुवालले पसलहरु सञ्चालन गर्दा नेपाल सरकारले तोकेको मापदण्डअनुसार सुरक्षा सतर्कता अपनाइएको समेत जानकारी दिए । व्यवसायीहरुले ग्राहकको ज्वरो जाँच गर्ने तथा स्यानिटाइजरले हात धुन लगाएर मात्र पसलमा प्रवेश गराएका छन् ।

अध्यक्ष कटुवालले सरकारलाई कर तिर्न, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकोले पसल खुल्ला गर्नुपरेको बताए । बिहीबार न्युरोड, असन, टेबहाललागयतका ठाउँका फेन्सी, ग्रोसरी, इलेक्ट्रोनिक पसलहरु खुलेका छन् ।


प्रकाशित : जेष्ठ २२, २०७७ १०:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×