२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८३

सीमा अतिक्रमण र एमसीसीको विरोध : ड्रोनले झन्डा उचाल्यो, रोबोटले प्लेकार्ड

रमेशकुमार पौडेल

चितवन — सीमा अतिक्रमण र अमेरिकासँगको एमसीसी सम्झौताका विरोधमा मंगलबार चितवनमा विरोध प्रदर्शन गरिएको छ । विरोध कार्यक्रममा ड्रोन र रोबोट पनि सामेल भए । भारतले गरेको सीमा मिचेको विरोधमा ड्रोनले नेपाली राष्ट्रिय झन्डा उचाल्यो । रोबोट प्लेकार्ड बोकेर जुलुसमा हिँड्यो । 

सीमा अतिक्रमण र एमसीसीको विरोध : ड्रोनले झन्डा उचाल्यो, रोबोटले प्लेकार्ड

भरतपुरको हाकिम चोकमा जम्मा भएका स्थानीयहरु रोबोट र ड्रोनसँगै जुलुस निकालेर ३ सय मिटरको दूरीमा रहेको भरतपुरको केन्द्रीय बसपार्कसम्म पुगेका थिए । त्यहाँ आयोजित संक्षिप्त सभामा सीमा अभियानका विषयमा जानकारहरुले मन्तव्य राखेका थिए ।

फेसबुक लगायतका सामाजिक सञ्जालबाट जोडिएका युवाहरुले तयार पारेको ‘क्लेम द बोर्डर’नामक अभियानले उक्त कार्यक्रम आयोजना गरेको हो ।

भरतपुर महानगरपालिका–११ घर भइ पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा इलेक्ट्रिक इन्जिनियरिङ पढ्दै गरेका युवा विद्यार्थी पवन पौडेलले रोबोट तयार पारेको हो । विद्यार्थी पौडेल ‘क्लेम दि बोर्डर’ अभियानका सक्रिय व्यक्ति पनि हुन् । युवाहरुलाई देशप्रति संवेदनशील हुन आफूहरुले अभियान सुरु गरेको उनले बताए । ‘सीमा अतिक्रमण सहन नसकिने विषय हो । एमसीसी नेपालमा निकै विवादित बन्यो । देशमा जनमत विभाजित छ । यसका विभिन्न प्रवधानहरु देशको पक्षमा पनि देखिएका छैनन् । त्यसैले एमसीसी नेपालमा लागु हुनुहुन्न भन्ने हाम्रो अभिमत रहेको छ’ पौडेलले भने ।

विरोध कार्यक्रममा ड्रोनले उडाएको झन्डा

एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग हो भनेर उच्चपदस्त अमेरिकी अधिकारीहरुले भनेको हुँदा यस्तो सम्झौता नेपालको हितमा नरहेको उनले बताए । प्रावधिक विषय अध्ययनमा संलग्न विद्यार्थी पनि देशका जल्दाबल्दा विषय र समस्याहरुप्रति जानकार छन्, उनीहरुले आफ्नै तरिकाले विरोध अभियान चलाउन सक्छन भन्ने सन्देश दिन ड्रोन र रोबोटको प्रयोग जुलुसमा गरेको पौडेलले बताए ।

समापन कार्यक्रममा बोल्दै पुराना कम्युनिष्ट नेता तथा सिमानाका विषयमा जानकार साध्यबहादुर भण्डारीले युवा विद्यार्थीले फरक शैलीमा कार्यक्रम गरेर समाजलाई झकझक्याएको धारणा राखे । ‘अहिलेको युवा देश र समाज प्रति संवेदनशील भएन भन्ने गुनासो छ । तर त्यस्तो हैन । उहाँहरु आफ्नै तरिकाले देश र समाजको हितमा लाग्नु भएको हुन्छ । आजको कार्यक्रम त्यसैको उदाहरण हो’ भण्डारीले भने ।

प्रकाशित : जेष्ठ २०, २०७७ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?