कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनएमसीको आन्दोलन चर्कियो

फातिमा बानु

काठमाडौँ — ड्युटीमा रहेका चिकित्सकमाथि हातपात भएपछि जोरपाटीस्थित नेपाल मेडिकल कलेजका(एनएमसी)का चिकित्सक आन्दोलनमा उत्रिएका छन् ।

एनएमसीको आन्दोलन चर्कियो

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाहीको माग राख्‍दै उनीहरुले ६ दिनदेखि अस्पतालको आकस्मिक बाहेक सबै सेवा ठप्प पारेका छन् । हातमा कालोपट्टी बाँधेर उनीहरु अस्पतालमै आन्दोलन गरिरहेका छन् ।

जेठ १४ गते उपचारको क्रममा ५४ वर्षीया महिलाको मृत्यु भएपछि लापारबाही भएको भन्दै बिरमी पक्षले डा.श्रीकुमार श्रेष्ठ र डा.राकेश सिंहलाई कुटपिट गरेका थिए । बिरामी नै अन्तिम अवस्थामा अस्पताल ल्याएकाले बचाउन प्रयास गर्दागर्दै मृत्यु भएको डा. श्रेष्ठले बताए । ‘बिरामीलाई क्रोनिक दमको समस्या थियो, रातभरि छटपटाएपछि बिहान अस्पताल ल्याएको हिस्ट्री दिनुभएको थियो,’ उनले भने,‘यस्तो बिरामीलाई तुरुन्त उपचार नपाए जोखिम नै हुने हो,हामीले हेरेको एक घण्टा बित्‍न नपाउँदै बिरामीको नाडी चल्न छोड्यो ।’

बिरामीलाई श्वासप्रश्वासको समस्या र ज्वरो भएकाले कोभिड परीक्षणका लागि स्वाब लिने भन्न खोज्दा बिरामी पक्षले कुटपिट गरेको उनले बताए । ‘आफू उपचार गर्न नजान्ने अनि कोरोनालाई दोष दिने’ भन्दै उनलाई घाँटीमा हाने । भाग्‍न खोज्दा रडले ढाडमा समेत हाने र भागेर ज्यान जोगाएको उनले सुनाए । ‘भागेर बाहिर जाँदा उनीहरु डेढ सय जति मान्छे अस्पतालमा बोलाइसकेका थिए,’ डा.श्रेष्ठले भने,‘बिरामी मार्यो भन्दै हामीलाई आक्रमण गरे ।’ कोभिडसँग जुधेर जोखिम मोल्दै काम गरिरहेको बेलामा हातपात गर्दा चिकित्सा पेशाप्रति नै वितृष्णा जागेको उनले सुनाए । घटना भएकै दिन दोषीमाथि कारबाही गरियोस् भन्दै उनीहरु महानगरीय प्रहरी वृत बौद्धमा उजुरी दर्ता गराउन जाँदा भोलिपल्टसम्म उनीहरुको उजुरी प्रहरीले दर्ता गरेन ।

घटनास्थलमा पनि चिकित्सकले कुटाइ खाइरहँदा सुरक्षाकर्मीले मुखदर्शक भएर बसको आन्दोलनरत चिकित्सकहरुको आरोप छ । नेपाल चिकित्सक संघको दबाबमा मात्रै प्रहरीले उजुरी दर्ता गरेको छ । अपराध अनुसन्धान महाशाखाले घटनाको जाँचबुझका लागि सीसीटिभी फुटेजको अनुसन्धान गरिरहेको छ ।

आन्दोलन फिर्ता गर्ने दबाब दिँदै स्थानीयले चिकित्सकलाई धम्काउने, हप्काउने गरिरहेको आन्दोलनरत चितित्सकले बताए । अस्पतालकै मिलेमतोमा चिकित्सकमाथि अन्याय भइरहेको उनीहरुको आरोप छ ।

‘चिकित्सकको लापरबाहीका कारण बिरामीको ज्यान गुमेको हो भने हामी कारबाही भोग्न तयार छौं,’एक चिकित्सकले भने,‘होइन भने सत्यतथ्य पत्ता लगाएर जो दोषी हो कारबाही नभएसम्म हामी आन्दोलन गरिरहन्छौं,’ एनएमसीको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै अहिले देशका विभिन्‍न अस्पतालका रेसिडेन्ट चिकित्सक आफू कार्यरत स्वास्थ्य संस्थामा आन्दोलन गरिरहेका छन् । घटनाको अनुसन्धानका लागि एसपी सर्वेन्द्र राथौठको संयोजकत्वमा छानबिन कमिटी बनेको अस्पतालले जनाएको छ ।

कोभिड १९ को संक्रमणसँग जुधेर काम गरिरहेका चिकित्सकमाथि हातपात हुँदापनि दोषी कारबाहीको दायरामा नआउँदा सम्पूर्ण स्वास्थ्यकर्मीको मनोबल गिरेको उनले बताए । यस्तो समयमा समेत स्वास्थ्यकर्मी कुटिनु निन्दनीय भएको भन्दै नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गरेको छ ।‘काम गर्दागर्दै चिकित्सकमाथि हातपात भएको छ,’संघका महासचिव डा. बद्री रिजालले भने,‘महामारीको बेलामा आन्दोलन गर्नु राम्रो होइन, दोषीमाथि कारबाही होस् ।’

चैत २१ गते मन्त्रिपरिषद्को निर्णयमा ड्यूटीमा खटिएका चिकित्सकमाथि हातपात भए बर्दीमा खटिएका सुरक्षाकर्मीमाथि हातपात भएजत्तिकै कानूनी कारबाही हुने उल्लेख छ । यो निर्णय लागू गर्न संघले अस्पतालमै पुगेर दबाब दिइरहेको डा. रिजालले बताए ।

प्रकाशित : जेष्ठ २०, २०७७ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?