कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाकाहरूमा थामिनसक्नु भीड

कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी र मोरङको जोगवनी नाकाबाट मात्रै आइतबार ६ हजार ५ सयभन्दा बढी आएका छन् । नेपालीलाई प्रशासनले भित्र्याउन थालेसँगै नाकाहरूमा भारतीयको पनि भीड लाग्न थालेको छ ।
प्रदेश ब्युरो

काठमाडौँ — सुदूरपश्चिमका मुख्य दुई नाका कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीबाट आइतबार करिब ६ हजार ५ सयभन्दा बढी नेपाली स्वदेश भित्रिएका छन् । पूर्वको जोगवनी नाकाबाट आइतबार ७६ जना आएका छन् । सबै प्रदेशका नाकामा भारत फर्किन खोज्ने भारतीय नागरिकको भीड पनि थामिनसक्नु छ ।

नाकाहरूमा थामिनसक्नु भीड

गौरीफन्टाबाट ३ हजार ४ सयभन्दा बढी र गड्डाचौकीबाट ३ हजार ५८ जना आएको स्थानीय प्रशासनले जनाएका छन् । भारतका विभिन्न स्थानबाट घर आउनेको नाकाका अझै भीड छ ।

यी दुई नाकाबाट जेठ महिनामा मात्रै ५६ हजार जनाभन्दा बढी नेपाली स्वदेश भित्रिएका छन् । गौरीफन्टाबाट ४१ हजार र गड्डाचौकीबाट १५ हजार जनाभन्दा बढी स्वदेश फर्केका हुन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार एक सातायता गौरीफन्टामा थेग्नै नसकिने गरी नेपाली आइरहेका छन् । उनीहरुलाई सम्बन्धित जिल्लाका स्थानीय तहमा पठाउन मुस्किल भइरहेको छ ।

स्थानीय प्रशासनका अनुसार गत मंगलबार ५ हजार २ सय, बुधबार ४ हजार ७ सय, बिहीबार ४ हजार ५ सय, शुक्रबार ४ हजार ३ सय र शनिबार ४ हजार २ सय ७ गरी ५ दिनमा मात्रै साढे २२ हजार भित्रिएका छन् । ‘जेठ महिनामा मात्रै ४१ हजारभन्दा बढी आइपुगेका छन्,’ जोशीले भने, ‘अझै भारतबाट आउने क्रम रोकिएको छैन ।’

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार दशगजामा आइपुगेका ३ हजार ५८ जनालाई आइतबार भित्र्याइएको हो । सबैलाई आ–आफ्नो घर भएका जिल्लातर्फ पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतमा लकडाउन खुकुलो भएसंँगै स्वदेश भित्रिने नेपालीको संख्या बढिरहेको छ । दिल्ली, मुम्बई र बंगलुरुलगायतका स्थानबाट नेपालीहरू धमाधम फर्किरहेका छन् ।

आइतबार गड्डाचौकी नाका हुँदै १ सय ७ जना भारतीय नागरिक घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतमा अलपत्र परेका नेपालीलाई जेठ १२ देखि गड्डाचौकी नाकाबाट भित्र्याउन सुरु गरेको हो । नेपालीहरू भित्रिन सुरु भएकै दिनदेखि यता रहेका भारतीय नागरिक पनि भारत फर्किन लागेका हुन् । नाका खुला भएको सुरुको दिनदेखि नै दशगजामा भीड भइरहेको छ ।

जोगवनीबाट भित्रिए ७६ जना

मोरङको जोगबनी नाकाबाट आइतबार ७६ नेपाली स्वदेश भित्रिएका छन् । उनीहरु रोजगारीका लागि भारतका विभिन्न स्थान गएका थिए ।

यसैगरी नेपालमा रहेका थप १ सय २५ जना भारतीयलाई पनि आइतबार नै घर फर्काइएको प्रहरीले जनाएको छ । पछिल्लो साता दिनहुँजसो जोगबनी नाकाबाट आउनेजाने क्रम चलिरहेको छ । शनिबार १ सय ७८ जना, शुक्रबार २ सय २४, बिहीबार ९५ र बुधबार ३ सय ४ जना नेपाल प्रवेश गरेका थिए । पछिल्लो तीन दिनमा नेपालबाट भारततर्फ ६ सय ६८ जना गएका छन् ।

भारतीयको उस्तै भीड

बेलहिया जाने सडकको डन्डापुलदेखि नै सिमानासम्म सडकभरि मान्छे छन् । कोही सडकमै सुतेका छन् । कोही बसेका छन् । कोही ढुंगाको चुल्हो बनाउँदै सडकमै खाना पकाउँदै गरेको भेटिन्छन् । कसैले काखमा ससाना बच्चा च्यापेका छन् । भरे के खाने, भोलि के खाने कुनै ठेगान छैन । हावाहुरी र पानी परेमा ओत लाग्न कता जाने, केही टुंगो छैन । घर जान पाउने पालो कुर्दै बसेका यी सबैमा छटपटीमात्र छ । भैरहवाबाट सुनौलीतर्फ जाने सडकको दृश्य हो यो ।

सुनौली नाकाबाट आफ्नो देश जान खोज्ने भारतीय नागरिकको बेलहियामा लागेको भीड । तस्बिर : माधव ढुंगाना/कान्तिपुर

भारतीय नागरिक यसरी कैयौं दिनदेखि रूपन्देहीको सीमावर्ती बेलहियामा जम्मा भएका छन् । नेपालका विभिन्न स्थानबाट सुनौली नाका हुँदै घर जान खोज्ने क्रममा उनीहरू सीमा क्षेत्रमा एकत्रित भएका हुन् । ‘पाँच दिनदेखि यही सडकलाई आश्रय मानेर बसेका छौं,’ नवलपुरको केसी इँटा उद्योगमा काम गरी भारतको बरेली घर जान लागेको बताउने राजकमल सागरले भने, ‘धन्न साँझबिहान खान पाइएकाले शरीर धानिएको छ ।’

नवलपरासीकै जगत इँटा उद्योगमा काम गरेको बताउने लालारामकी श्रीमती जामताराले शनिबार सडकमै बच्चा जन्माइन् । भारतको बहराइच घर भएकी यी महिला पनि केही दिनदेखि सडकमै थिइन् । उनलाई प्रशव वेदना सुरु भएपछि अन्य महिलाले सहयोग गरेका थिए । सिमानानजिकै जन्मेकाले सबैले बच्चाको नाम ‘बर्डर’ राखिदिएका छन् ।

भारत सरकारबाट प्रवेश अनुमति नपाएकाले नेपालतर्फ भीड लागेको हो । बालबच्चा, महिला र वृद्धसमेतको उक्त भीडलाई व्यवस्थापन गर्न नेपालको धेरै जनशक्ति परिचालित छ । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले भने, ‘भारतले थोरै थोरै संख्यामा लैजाने गरेकाले यता नेपालतिर दैनिक थपिँदै जानाले भीड बढेको हो ।’

सिमानामा पहिला भारतीय पुलिसले विवरण लिने गरेकामा अहिले अध्यागमन कार्यालयले लिने गरेको छ । दैनिक सरदर एक हजार नागरिक भारतले लैजाने गरेको छ । करिब ३ हजारको संख्यामा उनीहरू छन् । महिला र बालबालिकालाई रातमा स्थानीय विद्यालय र निमा प्रतिमान स्मृति अध्ययन प्रतिष्ठानमा राख्ने गरिएको छ । उनीहरू सबैलाई बिहान–साँझ खानाको व्यवस्था रूपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डेले गरेका छन् । ‘सरकारी स्तरको एकद्वार प्रणालीबाट उनीहरूको खाने व्यवस्थापन विलम्ब हुन थालेकाले आफैं खटिएको छु,’ उनले भने ।

नेपालमा रहेका भारतीय नागरिकलाई सहायता गरेमा भारतले पनि आफ्नो देशमा रहेका नेपाली नागरिकलाई सहयोग गर्ने गरेको र भारतीय पक्षबाट नेपालमा रहेका आफ्ना नागरिकलाई कस्तो व्यवस्थापन भइरहेको छ भन्नेबारेमा सोधखोज गरी त्यही किसिमको व्यवहार नेपालीमाथि गर्ने गरेको पाण्डेले बताए । भारत सरकारले नेपालमा रहेका आफ्ना नागरिकलाई उत्तर प्रदेशका लागि सुनौली, कपिलवस्तु, नेपालगन्ज र धनगढीको नाकाबाट मात्र अनुमति दिएको छ । यता, पछिल्ला दिनमा सुनौली नाका हुँदै भारतबाट नेपाल आउने नेपालीको संख्या पनि दिनानुदिन बढिरहेको छ । भारत सरकारले रेल सञ्चालनका साथै अलपत्र परेका यात्रुलाई सिमानाबाटै बसबाट ओसार्न थालेपछि यो संख्या बढ्ने गरेको हो ।

स्वदेश फर्किने क्रममा सीमा क्षेत्रमा समस्यामा परेका नेपालीलाई सीमावर्ती बेलहियाका विभिन्न संघसंस्थाले खाना र नास्ताको व्यवस्थापन गर्दै आएका छन् । प्रजिअ पन्थले अहिले सुनौली नाकाबाट नेपाल आउने नेपालीको संख्या पहिला दैनिक सरदर एक हजार हुने गरेकामा तीन/चार दिनयता १ हजार ४ सयजति आउने गरेको जनाए । सीमामा रहेको नेपालको इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार भारतबाट नेपाल आउने यात्रुलाई सुरुमा सिमानामै रोकेर उनीहरूको लगत लिँदै व्यवस्थापन गर्ने गरिएको छ । कुन जिल्ला र कुन पालिकाका कति छन् भन्नेबारेमा यकिन गरेपछि सम्बन्धित जिल्ला, पालिकालाई खबर गरी लिन आउन जानकारी दिने गरिएको छ ।

क्वारेन्टाइन भरिँदा संक्रमणको जोखिम

भारतबाट फर्कनेको संख्या सुदूरपश्चिमका विद्यालय, खाली भवन सबै क्वारेन्टाइन बनाएर भरिएका छन् । शनिबार बेलुकीसम्म ३६ हजार ५ सय जनाभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ ।

विद्यालय तथा खाली भवनसमेत अपुग भएकाले स्थानीय तहले क्वारेन्टाइनको मापदण्डलाई पूरा गर्न नसकेको प्रदेश स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थीले बताए । ‘क्वारेन्टाइनलाई व्यवस्थित पार्न गाह्रो हुँदा कोरोना संक्रमणको जोखिमसमेत बढाएको छ,’ उनले भने, ‘हरेक दिन क्वारेन्टाइन थपिँदै गएका छन् । जति थपे त्यति भरिँदै गएको अवस्थामा अब होम क्वारेन्टाइनमा पठाउनुपर्ने बेला आएको छ ।’

१४ दिन पूरा गरेपछि एक साता होम क्वारेन्टाइनमा रहने गरी क्वारेन्टाइन व्यवस्थापनको चुनौती घटाउनुपर्ने उनले बताए । ‘किट अभावका कारण पनि परीक्षण बढाउन सकिएको छैन,’ उनले भने, ‘लक्षण देखिएका बिरामीलाई आइसोलेसन र परीक्षण गर्नुपरेको छ ।’

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा १ हजार ११९ क्वारेन्टाइनमा ४४ हजार ३ जनाको लागि बेडको व्यवस्था गरिएको छ । शनिबारसम्ममा ४ हजार ३ सय ३५ महिलासहित ३६ हजार ९ सय ९३ जना क्वारेन्टाइनमा छन् ।

निर्देशनालयका अनुसार अछाम २ हजार ९ सय २९ , बैतडी ४ हजार ६ सय २६ , बझाङ १ हजार ८ सय ७२ बाजुरा १ हजार ९ सय ३९, डडेलधुरा ३ हजार २ सय ४३, दार्चुला ८ सय ४४, डोटी ६ हजार ३ सय २०, कैलाली ९ हजार ४ सय ३३ र कञ्चनपुरमा ५ हजार ५ सय ९२ जना क्वारेन्टाइनमा छन् ।

परीक्षणको गति सुस्त भएका कारण पनि क्वारेन्टाइनको व्यवस्थापनमा समस्या बढेको छ । यसले सुदूरपश्चिममा समुदायमा संक्रमण फैलिने सम्भावना बढाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म पीसीआर विधिबाट परीक्षणका लागि ६ हजार ८१ जनाको थ्रोट स्वाब संकलन भएको छ । जसमध्ये ५ हजार ५ सय ३६ को परीक्षण रिपोर्ट आएको छ । ५ सय ४५ जनाको आउन बाँकी छ । रिपोर्ट आएकाहरुमा २१ जनालाई कोरोना पोजिटिभ देखिएको छ । आरडीटीबाट २१ हजार ८ सय २० जनाको परीक्षण भएको छ ।

-मोहन बुढाऐर (धनगढी), भवानी भट्ट (कञ्चनपुर), माधव ढुंगाना (भैरहवा) र माधव घिमिरे (विराटनगर)

प्रकाशित : जेष्ठ १९, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?