कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीडितलाई पीडककै जिम्मा लगाउनेहरूलाई समेत कारबाही गर : मानव अधिकार आयोग

‘बालबालिकाको बाँच्न पाउने हक सुनिश्चित गर’

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले रूपन्देहीको देवदह नगरपालिका–११ की बलात्कृत १३ वर्षीया बालिकालाई पीडककै जिम्मा लगाउने व्यक्तिहरूलाई समेत कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

पीडितलाई पीडककै जिम्मा लगाउनेहरूलाई समेत कारबाही गर : मानव अधिकार आयोग

आयोगले शुक्रबार विज्ञप्ति जारी गरी बालिकामाथि जेठ ९ र १० गते भएको बलात्कारको घटना र उनको शंकास्पद मृत्युप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै दोषी सबैलाई कानुनी कारबाही गर्न निर्देशन दिएको हो । आयोगले बालबालिकाको बाँच्न पाउने हक सुनिश्चित गर्नसमेत सरकारलाई आग्रह गरेको छ ।

आयोगले विज्ञप्तिमा बलात्कारको घटनापश्चात दोषीलाई कानुनी कारबाही प्रक्रियामा लैजानुको सट्टा स्थानीय प्रतिनिधिसमेतको रोहबरमा आरोपित व्यक्तिलाई नै बालिका जिम्मा लगाउनु झन् चिन्ताजनक भएको टिप्पणी गरेको छ ।

आयोगले आरोपीको जिम्मा लगाइएपछि अन्तरजातीय भन्दै बलात्कृत बालिकालाई घर भित्रिन नदिएपश्चात् भएको शंकास्पद मृत्युको सम्बन्धमा आफ्नो कार्यालयले समेत घटनास्थलमा पुगी छानबिन गरिरहेको जनाएको छ ।

‘बालिकालाई आरोपितको घर पठाउनेहरूउपर समेत निष्पक्ष अनुसन्धान गरी बलात्कार र शंकास्पद मृत्युको घटनामा संलग्न सबै दोषीहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्न आयोग सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा छ ।

आयोगले समाजमा श्रृंखलाबद्ध रूपमा भइरहेका यस प्रकारका घटनाबाट बाल अधिकार, जातीय विभेदविरुद्धको अधिकार र सम्मानपूर्वक बाँच्न पाउने तथा छुवाछुत तथा भेदभावविरुद्धको संवैधानिक तथा कानुनी हक उल्लंघन भइरहेको जनाएको छ ।

आयोगले विज्ञप्तिमा मुलुकका विभिन्न भागमा विगत केही समययता श्रृङ्खलाबद्ध रूपमा हुने गरेका बलात्कार, हत्या र जातीय विभेदका घटनाहरूप्रति शून्य सहनशीलता कायम गरी तत्काल निष्पक्ष अनुसन्धान गरी दोषीहरूलाई कानुनी कारबाहीमा दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?