क्‍वारेन्टाइनमा झण्डै एक लाख, कुन प्रदेशमा कति ?- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्‍वारेन्टाइनमा झण्डै एक लाख, कुन प्रदेशमा कति ?

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइनमा रहनेको संख्या झण्डै एक लाख पुगेको जनाएको छ । शुक्रबारसम्म देशभरी क्वारेन्टाइनमा रहनेको संख्या ९९ हजार ३ सय ३६ पुगेको हो । यो संख्या अहिलेसम्मकै उच्च हो ।

मन्त्रालयका अनुसार प्रदेश १ मा २ हजार ७ सय ४७, प्रदेश २ मा १६ हजार ६ सय ७८, वाग्मती प्रदेशमा १ हजार ९ सय ५४, गण्डकी प्रदेशमा २ हजार ८ सय १४, प्रदेश ५ मा ३२ हजार ३ सय ७३, कर्णाली प्रद्रेशमा १७ हजार ५ जना र सुदूरपश्चिम प्रदेशमा २५ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् । भारतबाट आउनेको बढ्दो संख्यासँगै क्वारेन्टाइनमा रहनेको संख्यामा बृद्धि भएको हो ।

त्यसैगरी शुक्रबारसम्म आइसोलेसनमा देशभरी १ हजार जना रहेका छन् । प्रदेश १ मा १ सय २७, प्रदेश २ मा ३ सय ८७, वाग्मती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश ५ मा ३ सय ८३ जना, कर्णाली प्रदेशमा ४७ जना र सुदुरपश्चिम प्रदेशमा १६ जना आइसोलेसनमा उपचाररत छन् ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक,बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्

बजेटले जीवन रक्षा गर्दै रोजगारी सिर्जना गर्ने दायित्व लिएको छ : अर्थमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले आगामी बजेटले कोरोना लगायत महामारीबाट जनताको जीवन रक्षा गर्दै रोजगारी सिर्जना गर्न दायित्व निर्धारण गरेको बताएका छन् । बिहीबार संघीय संसदमा प्रस्तुत गरेको बजेटबारे उठेका प्रश्नबारे जवाफ दिन शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरेर उनले भने, 'रोजगारी सिर्जना गर्नु अहिलेको बजेटको पहिलो दायित्व हो । जीवन सुरक्षा गर्दै श्रमलाई काममा जोड्ने र जनसांख्यिक लाभको मुलुकले फाइदा लिनसक्ने गरी श्रमलाई परिचालन गर्ने गरी बजेट जान खोजेको छ  ।'

वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई रोजगारीमा जोड्नका लागि सरकारले विभिन्न योजना सार्वजनिक गरेको मन्त्री खतिवडाले बताए । आगामी आर्थिक वर्षमा कम्तीमा ८ लाख नागरिकलाई नयाँ रोजगारी सिर्जना गर्नुपर्ने भएको उनको भनाइ छ । 'रोजगारीका क्षेत्रमा कोरोनाको कारणले कतिपय व्यवसाय सुचारू गर्न सकेका छैनौं । काम टुट्ने वा कतिले रोजगारी गुमाउने अवस्था छ । वैदेशिक रोजगारीबाट फर्किएकालाई श्रम बजारमा जोड्नुछ,' उनले भने ।

उनले कुन योजनाबाट कति रोजगारी सिर्जना हुने भन्नेबारेमा सामान्य जानकारी दिएका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा स्वरोजगार, गरिबका लागि लघु उद्यम, वन पैदावारमा आधारित रोजगार, गरिबी निवारण कोषलगायतबाट रोजगार सिर्जना गर्न लागिएको उनले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरिएको मन्त्री खतिवडाले बताए । उनले त्यसमा १०० दिन नै काम दिइने बताए । विगतमा प्रधानमन्त्री रोजगार कार्यक्रमको आलोचना भएकोतर्फ संकेत गर्दै मन्त्री खतिवडाले त्यस कार्यक्रममार्फत आफ्नो गाउँ आफैं बनाऔं जस्तो हुने र त्यसमा स्थानीय झिनामसिना काम हुने उनको भनाइ थियो । त्यस काममा स्थानीय तहका जनप्रतिनिधिलाई परिचालन गरिने योजना तयार भएको पनि मन्त्री खतिवडाले बताए ।

त्यस्तै, साना किसान कर्जा कार्यक्रममार्फत पनि रोजगारी र उत्पादनमा वृद्धि गर्ने कार्यक्रम अगाडि बढाइने मन्त्री खतिवडाले बताए । त्यसका लागि साना किसान विकास बैंकमार्फत ३ अर्ब ६० करोड बजेट विनियोजन गरिएको उनले जानकारी दिए । उक्त सहयोग एसियाली विकास बैंकबाट आउने पनि उनले जनाए ।

युवा स्वरोजगार कर्जाबाट १२ हजारले रोजगारी प्राप्त गर्ने उल्लेख गरेका अर्थमन्त्रीले गरिबका लागि लघु उद्यमले १ लाख ३० हजार रोजगार सिर्जना गर्ने आँकलन गरे । त्यस्तै, गरिबी निवारकणको कोषको १९ अर्ब निष्कृय बसेकोले त्यो परिचालन गरेर १ लाख ५० हजार नागरिकलाई रोजगार सिर्जना गरिने उनले सुनाए । प्राविधिक शिक्षा तालिमबाट ५० हजार थप रोजगारी सिर्जना हुने बताएका उनले विभिन्न संस्थाबाट छोटो अवधिको तालिम दिएर घटिमा ५० हजार र नव पर्वर्तन सुरुवाती पुँजीबाट २ हजार रोजगारी सिर्जना हुने सुनाए ।

नेपाली श्रम बजारमा ठूलो संख्यामा विदेशी कामदार रहेको उल्लेख गर्दै त्यसलाई निरुत्साहित गरेर नेपाली नागरिकलाई नै काम दिने नीति लिइएको मन्त्री खतिवडाले भने । 'उद्योगीहरूले दशौं लाख विदेशीले नेपालमा काम गरिरहेको भनिरहेका छन् । संख्या कति छ त यकिन गरौंला तर अब हामीले त्यो श्रमको अवसर नेपालीलाई दिनुपर्छ । हामीले थप काम सिर्जना गर्नुभन्दा सिर्जना भएको काम नेपालीलाई दिने भन्ने हो,' उनले भने ।

बजेटको आकार गतवर्षभन्दा कम हुनुले नै नेपालको अर्थतन्त्र सामान्य अवस्थामा छैन भन्ने देखाएको अर्थमन्त्रीको भनाइ थियो । 'आगामी वर्षको बजेट चालु वर्षको भन्दा सानो छ । इतिहासमा धेरै कम अवस्थामा अघिल्लो आर्थिक वर्षको भन्दा पछिल्लो आर्थिक वर्षको बजेट कम आउँछ । त्यसले नै हामी सामान्य अवस्थामा छैनौं भन्ने जनाउँछ ।' संयमित भएर बजेट तयार पारिएको मन्त्री खतिवडाले बताए । चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको बजेट ४ प्रतिशतले कम प्रस्तुत गरिएको छ ।

बजेटमा छिटो प्रतिफल दिने आयोजना र गेम चेन्जर राष्ट्रिय गौरवका परियोजनालाई प्राथमिकता दिइएको पनि मन्त्री खतिवडाले बताए ।

प्रकाशित : जेष्ठ १६, २०७७ १६:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×