कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

बजेटबारे सत्तापक्ष- सबै क्षेत्रलाई समेटेको, विपक्षी- क्यान्सर रोगीलाई सामान्य झारफुक गरेजस्तो 

काठमाडौँ — आर्थिक बर्ष ०७७/०७८ को बजेट पेश भएलगत्तै यसमाथि राजनीतिक दलहरुको मिश्रित प्रतिक्रिया आएको छ । सत्तारुढ दलका नेताहरुले बजेटलाई सकरात्मक र चुनौतीपूर्ण भएको टिप्पणी गरेका छन् भने विपक्षी दलका नेताहरुले बजेट अहिलेको बिशिष्ट अवस्थालाई सम्बोधन गर्ने गरी नआएको प्रतिक्रिया दिएका छन् । 

बजेटबारे सत्तापक्ष- सबै क्षेत्रलाई समेटेको, विपक्षी- क्यान्सर रोगीलाई सामान्य झारफुक गरेजस्तो 

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बजेटले सबै क्षेत्रलाई समेटेको प्रतिक्रिया दिएका छन् । बजेटपछि संसद भवनबाट बाहिरिनेक्रममा नेता नेपालले बजेटले सबै क्षेत्रलाई समेटेको बताए । 'बजेटले अहिलेको आवश्यकतालाई बोध गरेको छ । खासगरी कोरोना संकट फैलिएको अवस्थामा कसरी रोग र भोकको सामना गर्ने, स्वास्थ्यको समस्यालाई कसरी सम्बोधन गर्ने, जनताको व्यवस्थापन गर्ने, रोजगारीको समस्या हल गर्ने, कृषि क्षेत्रलाई प्रोत्साहन दिने, आत्मनिर्भर अर्थतन्त्रतर्फ अग्रसर हुने कुरा देखि लिएर विभिन्न उद्योग धन्दा, सेवा क्षेत्रका व्यवसायहरु, ऋणमा परेकाहरुलाई के कति मात्रामा राहत दिन सकिन्छ भन्ने सबै समेटेको छ । बजेट धेरै राम्रो छ,’ वरिष्ठ नेता नेपालले भने ।

तर, पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले आगामि आर्थिक बर्षका लागि सरकारले ल्याएको बजेटलाई क्यान्सर रोगीलाई सामान्य झारफुक गरेजस्तो भएको प्रतिक्रिया दिएका छन् । संघीय संसद भवनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गरेपछि भट्टराईले पत्रकारहरुसँगको कुराकानीमा क्यान्सर रोगीलाई सामान्य झारफुक गरेजस्तो बजेट आएको बताए ।

सरकारको ध्यान स्वास्थ्य क्षेत्रमा नपुगेको भन्दै उनले गत वर्षभन्दा २२ अर्ब रुपैयाँमात्रैले यति ठूलो संकटको उपचार गर्छु भन्नु असम्भव भएको बताए । अहिलेको संकटको समयमा पनि सरकारले विगतकै निरन्तरतामा बजेट ल्याएको भट्टराईको भनाई छ । ‘बजेट निरन्तरतामा आयो यसले समस्या समाधान गर्दैन, राहत कनिका छरेजस्तै आयो’ उनले भने, 'अहिले रेलको कुरा किन चाहियो, यो वर्ष नगरे हुँदैन ? यसले अहिलेको संकट समाधान गर्दैन ।’

उनले ट्विटमा पनि बजेटबारे प्रतिक्रिया व्यक्त गरेका छन् । 'यो बर्षको बजेट सँगसँगै पेहोर सालको बजेट-बक्तव्य पनि खोलेर हेर्नुहोला।बजेट शीर्षक केही फरक परे पनि धेरै कुरा हुबहु उही छन्।बजेटको आकार मात्रै उस्तै हैन स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि, शिक्षाजस्ता प्राथमिकता दिने भनिएका क्षेत्रमा रकम विनियोजन पनि उस्तैउस्तै छ। यसले समस्या हल होला ?' उनले ट्विटमा भनेका छन् ।

स्वदेशमा र विदेशमा रोजगारी गुमाएकालाई कृषि क्षेत्रमा रोजगारी दिन ७ अर्ब रुपैयाँ लगानी गरेर १०-१५ लाख रोजगारी दिन नसकिने बताए ।

पूर्वअर्थमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बजेटका धेरैपक्ष राम्रो भएको तर निकै चुनौतीपूर्ण रहेको बताए । ‘बजेटको आकार घटेको छ । त्यसले राजस्व कम उठ्न सक्ने, बैदेशिक सहायता पनि कम आउन सक्ने कुरालाई ध्यानमा राखेको देखिन्छ । तर, यति हुँदा हुँदै पनि बैदेशिक ऋणतर्फ २ खर्ब ९९ अर्बको अपेक्षा परिपूर्ति हुन गाह्रो छ,’ पाण्डेले भने, ‘बजेटले कोरोना र स्वास्थ्यमा बढी जोड दिएको छ । तालिम, शिक्षा, श्रम र राजेजगारमा बढी जोड दिएको छ । केही कर र व्याजमा अनुदान दिएर व्यवसायिक क्षेत्रलाई संकल्प गरेर व्यवसायिक वातावरण बनाउन सकिन्छ कि भन्ने प्रयास गरेको छ । त्यस मानेमा यो सकारात्मक छ । तर, यो धेरै नै चुनौतीपूर्ण छ ।’

प्रमुख प्रतिपक्षी दल कांग्रेस नेता मीनेन्द्र रिजालले कोरोनाका कारण अर्थतन्त्र जोगाउन के गर्न सकिन्छ भन्नेबारे बजेट मौन रहेको बताए । कोरोनाका कारण कठिनाइमा परेको देशलाई एक ठाउँमा ल्याउन सरकारको पहल नपुगेको भन्दै नेता रिजालले सरकारको असफलताको प्रमाणको रुपमा यो दस्ताबेज आएको बताए । राजस्वको अनुमान संशोधित भन्दा २२ प्रतिशतले बढाउने भन्नु भएको छ, जुन यथार्थपरक छैन,’ उनले भने ।

पूर्व अर्थमन्त्री तथा कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेटमा धेरै कुरा आएको भए पनि प्राथमिकतामा कुनै पनि क्षेत्र नपरेको टिप्पणी गरे । स्वास्थ्य, रोजगारी तथा शिक्षामा आएका विषयहरु पुरानै प्रकृतिको भएको उनको भनाई छ । कृषि क्षेत्रको विकासमा पनि खासै योजना आउन नसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम बढाइएको र उक्त रकम फेरि दुरुपयोग हुनेगरी ल्याईएको बताए । समग्रमा बजेट आश्वासनमुखि भए पनि कार्यान्वयनको दिशामा विगतको निरन्तरतालाई जोड दिएको बताए ।

जनता समाजवादी पार्टीका सांसद लक्ष्मण लाल कर्णले बजेटमा पूरा हुने कुनै पनि योजना नआएको बताए । कनिका छरेजस्तो बजेटमा उल्लेख भएका कुराहरु केही पनि पूरा हुने अवस्था नरहेको उनले बताए । बजेटको स्रोतको मूल आधार वैदेशिक ऋण र सहयोग हुने भनेर काल्पनीक बजेट आएको उनले बताए ।

विपक्षी कांग्रेसका अर्का सांसद गगन थापाले सरकारले अहिलको परिस्थितिलाई ख्याल नगरी बजेट ल्याएको बताए । सरकारले अबको २, ३ महिनाभित्रै कोरोना पूर्ण रुपमा नियन्त्रणमा आउने विश्वासका साथ खर्च जुटाउने र खर्च गर्ने संकल्प लिएको देखिएको उनले बताए । 'कोरोनाबाट नेपालमुक्त हुने र यसबाट हामी कहीं पनि प्रभावित हुँदैनौ भन्ने आत्मविश्वास सरकारको देखिन्छ । कोरोना महामारीको भविष्य अहिले किटान नभएको अवस्थामा अहिलेको बजेटबाट ठूलो अपेक्षा गर्न सकिदैन,' उनले भने ।

सत्तारुढ नेकपाका सांसद गोकुल बास्कोटाले भने स्वास्थ्य क्षेत्रका कर्मचारीबाहेक अन्य कर्मचारीहरु र विलासिताका क्षेत्रको बजेट कटौती गरिनु सकारात्मक भएको बताएका छन् । बजेटले स्वास्थ्यबाहेक अन्य क्षेत्रका कर्मचारीहरुलाई केही असन्तुष्ट बनाए पनि यसलाई उनीहरुले स्वभाविक रुपमा लिनुपर्ने उनको भनाई छ ।

सरकारले आगामी बर्ष ७ प्रतिशत आर्थिक बृद्धि हुने लक्ष्य लिएको भए पनि विपक्षी दलका नेताहरुले यो सम्भव नभएको बताएका छन् । पूर्वअर्थमन्त्री पाण्डेले पनि सरकारले आगामी आर्थिक वर्षका लागि लिएको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य महत्वाकांक्षी भएको बताएका छन् ।

सरकारले आगामी वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको ल्याएको छ। कुल बजेटमध्ये ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ चालु तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत खर्च हुने छ।

बजेटमा ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलनबाट उठाउने लक्ष्य छ। साथै बैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ जुटाउने र बैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड उठाउने लक्ष्य छ ।

यसबाहेक २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाइने बजेटमा छ । तर, आन्तरिक ऋणको पैसा विकास खर्चमा लगाउनले सरकारले बताएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७७ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?