कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुकुम घटना छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सांसद शर्माको माग

काठमाडौँ — रुकुम पश्चिममा भएको घटनालाई लिएर त्यहाँका सांसद एवं नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन माग गरेका छन् ।

रुकुम घटना छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सांसद शर्माको माग

बुधबार साँझ विज्ञप्ति निकालेर शर्माले घटना छानबिनका लागि आफू पुरै प्रतिबद्ध रहेको भन्दै समिति बनाउन माग गरेका हुन् । दोषीमाथि कडा कारबाही गर्न पनि उनको माग छ ।

‘चौरजहारी–८ मा भएको घटना मानव सभ्यताको खिल्ली उडाउने र मानव सभ्यताको सामु उत्पन्न चुनौतीका रूपमा मैले लिएको छु । यस घटनाको घोर भर्त्सना गर्दै अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनुहुन्न भन्ने मेरो स्पष्ट धारणा छ । अपराधी नछुटुन्, निरपराधी नपरुन् भन्नका लागि घटनाको सत्यतथ्य अनुसन्धान मुख्य कुरा हो । घटनाको छानबिनमा सहयोग गर्न म पूरै प्रतिबद्ध छु’ शर्माले भनेका छन्, ‘सरकारसँग उच्चस्तरीय संसदीय समिति बनाउन माग गरेको छु र गर्दछु ।’

सांसद शर्माले रुकुम पश्चिम घटनाबारे मंगलबार संसद्‌मा बोल्ने क्रममा विपक्षी दलका सांसदहरूले प्रतिवाद गरेका थिए । शर्माले अनुसन्धान कमजोर बनाउन राजनीतिक हस्तक्षेप नभएको बताएलगत्तै विपक्षी दलका सांसदले विरोध गरेका थिए ।

सांसद शर्माले संविधानको धारामा दलित अधिकार सुरक्षित भएपछि घटनाले वैचारिक, राजनीतिक, सांस्कृत र व्यवहारिक रुपमा अधिकार सुरक्षित नभएको देखाएको पनि बताएका छन् ।

अन्तरजातीय प्रेमपछि विवाह गर्न गएका जाजरकोटका युवाहरुमाथि जेठ १० मा आक्रमण हुँदा ४ जनाको ज्यान गएको छ । दुई जना अझै भेरी नदीमा बेपत्ता छन् ।

प्रकाशित : जेष्ठ १४, २०७७ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?