कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सलह किराले नेपाल गर्न सक्‍ने प्रभाव अध्ययन गर्न प्राविधिक समिति गठन

काठमाडौँ — सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राविधिक समिति गठन गरेको छ ।

सलह किराले नेपाल गर्न सक्‍ने प्रभाव अध्ययन गर्न प्राविधिक समिति गठन

अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा समेत आउने सम्भावना बढेको छ ।

यससँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त किराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले नेपालमा सलह किरा आउन सक्ने सम्भावना उच्च रहेकोले त्यसको रोकथाम कसरी गर्ने भन्‍ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताए ।

उनले प्लान्ट क्‍वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको बताए । उनले भने,‘हामीले त्यसको पूर्व तयारी पहिलो आउने कि नआउने जोखिम कति हो भनेर विश्लेषण गर्नुपर्ने हुन्छ र आएको अवस्थामा गर्नुपर्ने कामहरु त्यसको पूर्वतयारी गर्नुपर्छ । त्यसको लागि हामीले एउटा प्राविधिक समिति बनाएका छौं ।'

प्राविधिक समितिले भारतबाट नेपालमा आउन सक्ने सम्भावना कति र पूर्वतयारी कस्तो हुनुपर्छ भन्ने विषयमा प्राविधिक समितिले सुझाव दिने प्रवक्ता केसीले बताए । समितिले किरा रोकथामका लागि आवश्यक पर्ने विषादीहरुको उपलब्धता, उपकरण,परिचालन लगायत अन्य विविध विषयमा अध्ययन गरेर सुझाव दिनेछ । प्राविधिक टोलीले दिएको सुझावको आधारमा मन्त्रालयले थप तयारी गर्नेछ ।

के हो सलह किरा ?

सलह किरा फट्याङ्ग्रा वर्गको किरा हो । संयुक्त राष्ट्रसंघको कृषि तथा खाद्य संगठनले यो किराको नाम सलह (लोकस्ट) प्लेग दिएको छ । किरा समूहमा पर्ने यो जीवले कृषि बालिमा अमेरिकी फौजी किराले भन्दा बढी क्षति पुर्‍याउँछ । सलह किरा करोडौंको संख्यामा हुन्छन् । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत गरी खाइदिन सक्छ । यस्तै एक दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढा सम्म पुग्‍न सक्छन् । यो किरा भारतको राजस्थान हुँदै दिल्ली तथा आग्राको क्षेत्रसम्म आइपुगेको छ ।

नेपालमा पनि सुदूरपश्चम प्रदेश र प्रदेश नम्बर पाँचमा सबैभन्दा पहिला आउन सक्ने अनुमान मन्त्रालयले गरेको छ । त्यसका लागि प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरुलाई जानकारी गराइसकेको प्रवक्त केसीले बताए । उनले सलह किराको नियन्त्रणका लागि विषादी प्रयोग गर्नुको विकल्प नहुने बताए ।

त्यसैले विषादीको उपलब्धता र त्यसको प्रयोग गर्ने उपकरणको उपलब्धताको तयारीको प्रक्रियामा मन्त्रालय लागि सकेको उनले बताए । उनले भने,‘रोकथामको कुरा के हो भने यो आइसक्यो भने ठूलो संख्यामा आउँछ । यो करोडौंको संख्यामा आउँछ । यसले एकैचोटी थुप्रै किलोमिटर क्षति गर्ने हिसाबले आउँछ । हामीसँग आइसकेको अवस्थामा विषादी प्रयोग गर्नुभन्दा बाहेकको विकल्प हुँदैन । विषादी पनि ठूलो मात्रामा, ठूलो क्षेत्रमा छर्नुपर्ने हुन्छ । त्यसो भएको हुनाले सम्भवतः यो नआओस सबैभन्दा राम्रो त्यही हो । आइहाल्यो भनेपनि हामी त्यसको लागि विषादीको उपलब्धता, त्यसका उपकरणहरुको उपलबधताको बारेमा तयारीको प्रक्रियामा लागिसकेका छौं ।’

मन्त्रालयले सलह किराको आक्रमण र यसको जोखिम तथा रोकथामको बारेमा मिडिया मार्फत किसानहरुलाई जानकारी दिने तयारी समेत थालेको प्रवक्ता केसीले बताए । यो किराको प्रकोप खासगरी जेठ महिनादेखि असोज सम्म हुने गर्छ । जलवायु परिवर्तन र वातावरणमा भएको सुख्खापनले सलह किराको जनसंख्या बढेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिकहरुले बताउँदै आएका छन् ।

प्रकाशित : जेष्ठ १४, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?