कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीटीएम सकिँदै, स्वाब संकलन सुस्त

कोभिड–१९ पुष्टिका लागि संकलित स्वाबलाई प्रयोगशाला पुर्‍याइन्जेल सुरक्षित राख्ने भीटीएम (भाइरल ट्रान्सपोर्ट मिडियम) अभाव हुन थालेको छ । भीटीएम सकिँदै गएपछि स्वाब संकलन सुस्त भएको छ । केही प्रदेश र स्थानीय तहले बल्ल भीटीएम खरिद गर्ने तयारी गरेका छन् ।

काठमाडौँ — समयमा स्वाब संकलन नहुँदा आइसोलेसन र क्वारेन्टाइनमा भीड बढ्दै गएको छ । भीटीएम अभावले हेटौंडा उपमहानगरपालिका–४ श्रमिक माविको आइसोलेसनमा दुई दिनदेखि बसेकाको स्वाब संकलन हुन सकेको छैन । ‘स्वाब संकलन गर्न नसक्दा आइसोलेसनमा धेरै दिन बसाउनुपरेको छ,’ आइसोलेसनका इन्चार्ज भोला चौलागाईंले भने, ‘मानिस थपिँदै ५१ जना भइसके ।’

भीटीएम सकिँदै, स्वाब संकलन सुस्त

स्वाब संकलन भएकाको पनि पीसीआर रिपोर्ट आउन ढिलाइ भएको छ । किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा पीसीआर परीक्षण गराउनेको चाप छ । आइसोलेसन र क्वारेन्टाइनमा रहेकालाई प्राथमिकतामा राखेर पीसीआर परीक्षण गर्नुपर्नेमा पद र पहुँच भएकाको गरिएको एक स्वास्थ्यकर्मीले बताए ।

वाग्मती प्रदेशको आपूर्ति निर्देशनालयलाई हालसम्म २ हजार ३ सय भीटीएम आएकामा १ हजार ९ सय १८ खपत भइसकेको छ । निर्देशनालयका प्रमुख वसन्त अधिकारीले हेटौंडास्थित तालिम केन्द्रले ४ सय थान भीटीएम माग गरे पनि दिन नसकेको बताए ।

वाग्मती प्रदेशका उपत्यकाबाहेक हेटौंडा, चितवन र काभ्रेमा पीसीआर परीक्षण केन्द्र छन् । प्रदेश सरकारले ५ हजार थान भीटीएम खरिद गर्ने तयारी गरिरहेको जनाएको छ ।

गण्डकीमा किन्ने तयारी

गण्डकी प्रदेशमा हाल रहेको भीटीएमले एक सातालाई मात्रै पुग्छ । हाल १ हजार ५ सय मात्रै भीटीएम बाँकी रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले भीटीएम धेरै चाहिएको बताइन् । ‘भारतबाट धेरै मानिस प्रदेशमा प्रवेश गरिरहेकाले परीक्षण बढाउनुपर्ने भएको छ,’ उनले भनिन् । प्रदेशका विभिन्न जिल्लाबाट ५ सय/एक हजारको संख्यामा भीटीएमको माग आएको उनले बताइन् ।

उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको प्रदेश ल्याबमा हाल दुईवटा पीसीआर मेसिन छन् । एउटा मेसिन पहिलेदेखि नै अस्पतालमा थियो । अर्को हालै गण्डकी प्रदेश सरकारले ३० लाख ८० हजार रुपैयाँमा खरिद गरेको हो । संघ सरकारले चीनबाट खरिद गरेर पठाएको पीसीआर मेसिन भने काम नलाग्ने भएको छ । हाल दुई मेसिनबाट दिनमा अधिकतम २ सय स्वाबको परीक्षण हुन्छ ।

पीसीआर मेसिन सेटअपको अभावले पूर्ण क्षमतामा चल्न नसकेका हुन् । पूर्ण क्षमतामा चल्दा दोब्बर परीक्षण हुने स्वास्थ्यकर्मीले जनाएका छन् । ‘संकलन गरिएको स्वाब दुई दिनभित्र परीक्षण गरिसक्नुपर्छ,’ सुवेदीले भनिन्, ‘हाम्रोमा अहिले अधिकतम २ सयभन्दा बढी परीक्षण गर्ने क्षमता छैन । धेरै भीटीएम पठाउँदा थेग्न नसक्ने गरी स्वाब संकलन हुन्छ । एकैपल्ट धेरै स्वाब ल्याएर राख्न सक्ने अवस्था छैन ।’

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख खिमबहादुर खड्काले भीटीएम खरिदको प्रक्रियामा रहेको बताए । उनका अनुसार यसअघि संघबाट ३ हजार भीटीएम आएको थियो । प्रदेशले ३ हजार ५ सय खरिद गर्‍यो । हाल प्रदेश ५ र २ मा धेरै संक्रमित भेटिएकाले त्यता बढी पठाउँदा संघले गण्डकीमा कम भीटीएम पठाएको उनले जनाए । ‘भारतबाट अनपेक्षित मानिस आए भने अहिलेको भीटीएमले पुग्दैन,’ उनले भने ।

खड्काले नयाँ पीसीआर मेसिनले पूर्ण क्षमतामा काम गर्न झन्डै एक महिना लाग्ने उनले बताए । उनका अनुसार हाल प्रदेश ल्याबको एकै सेटअपमा दुई पीसीआर मेसिन राख्नुपरेकाले पूर्ण क्षमतामा परीक्षण नभएको हो । छुट्टै सेटअपका लागि सामग्री खरिद गर्न झन्डै २ करोड रुपैयाँ खर्च हुन्छ । ‘त्यसका लागि खरिद प्रक्रियामै एक महिना लाग्छ,’ खड्काले भने ।

सामाजिक विकास मन्त्री नरदेवी पुनले नयाँ पीसीआर मेसिन राख्ने स्थानको खोजी भइरहेको बताइन् । नयाँ मेसिनबाट काम सुरु भएपछि परीक्षणको दायरा बढ्ने उनी बताउँछिन् । भारतबाट धमाधम घर फर्किरहेकाहरूको परीक्षण यथाशीघ्र गर्नुपर्ने भएकाले मेसिन थप गरिएको उनले जनाइन् ।

तीन जिल्लामा छैन

प्रदेश ५ मा भारतबाट स्वदेश फर्केकाको संख्या २३ हजार ६ सय ९६ पुगेको छ । उनीहरू १२ वटै जिल्लाका वडा तहसम्मका ९ सय ७४ क्वारेन्टाइनमा छन् । ती सबैको स्वाब संकलन गरेर परीक्षण गर्ने सरकारको तयारी छ । तर त्यसका लागि भीटीएम पर्याप्त छैन ।

प्रदेशको सामाजिक विकास मन्त्रालय आपूर्ति महाशाखा प्रमुख दिनेश चापागाईंले मंगलबारसम्म ३ हजार ३ सय थान भीटीएम स्टकमा रहेको बताए । जेठ ७ गते तराईमा प्रतिजिल्ला ३ सय र पहाडमा एक सयका दरले वितरण गरिएको थियो । ‘त्यसले पुग्ने अवस्था छैन,’ उनले भने, ‘खरिद प्रक्रिया अघि बढेको छ ।’

प्रदेश सरकारसँग पहाडका जिल्ला जनस्वास्थ्य कार्यालयले तत्कालका लागि कम्तीमा एक हजार थान र तराईका जिल्लाले १५ सयका दरले भीटीएम माग गरिरहेका छन् । तर उपलब्ध हुन नसकेको गुल्मीका जनस्वास्थ्य प्रमुख डा. भवानी शर्माले बताए ।

दाङ, कपिलवस्तु, बाँकेमा भीटीएमको चर्को अभाव छ । पहाडी जिल्लामा अर्घाखाँची, प्यूठान र गुल्मीमा भीटीएम नै छैन । गुल्मीमा तीन र अर्घाखाँचीमा दुई जना संक्रमित देखिएका छन् । गुल्मीमा क्वारेन्टाइनभन्दा बाहिर रहेकामा संक्रमण देखिएकाले तत्काल पाँच सयभन्दा बढी भीटीएम आवश्यक छ । सोमबार गुल्मीका एक गाउँपालिका प्रमुखमै संक्रमण देखिएपछि ४४ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । बुधबार उनको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी छ । त्यसका लागि थप पाँच सय थान भीटीएम आवश्यक रहेको उनले बताए ।

प्रदेश सरकारले झन्डै एक करोड मूल्यका स्वास्थ्य सामान खरिद गर्ने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि ५० लाख, प्रदेशका चारवटै कोरोना अस्पताल, आपूर्ति महाशाखा, निर्देशनालयका लागि पाँच/पाँच लाखका दरले रकम उपलब्ध गराएको बताए । ‘भीटीएम पर्याप्त छ भन्न सकिन्न,’ उनले भने, ‘तर हुँदै नभएको पनि होइन ।’

मंगलबारसम्म प्रदेशका कुनै पनि जिल्लामा भीटीएम अभावमा स्वाब संकलन रोकिने अवस्था नरहेको उनले बताए । बढी प्रभावित तराईका कपिलवस्तु र बाँकेमा स्वास्थ्य मन्त्रालयले पनि स्वास्थ्य सामग्री पठाइरहेको छ । दाङ र कपिलवस्तुमै अभाव भएपछि स्थानीय तहले आफैं खरिद गरेर पनि स्वाब संकलन गरिरहेका छन् । दाङमा भीटीएम कम भएकैले स्वाब संकलन धेरै हुन नसकेको जनस्वास्थ्य प्रमुख सुनिता पौडेलले बताइन् ।

कर्णालीमा एक सय बाँकी

कर्णालीमा संक्रमितको संख्या बढ्दै जाँदा भीटीएमको भने अभाव खड्किएको छ । कर्णाली प्रदेश सरकार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबारसम्म करिब १ सयवटा मात्र भीटीएम स्टक छन् ।

प्रतिष्ठानले आपैंm खरिद गरेका २ हजार थान भीटीएम बाटोमा रहेका र बुधबारसम्म आइपुग्ने रजिस्ट्रार विश्वराज काफ्लेले बताए । प्रतिष्ठानले कर्णालीका हुम्ला, जुम्ला, मुगु, कालीकोट र डोल्पाका तल्लो क्षेत्रमा स्वाब संकलन गरी परीक्षण गरिरहेको उनले बताए ।

प्रदेश सरकार मातहतको स्वास्थ्य सेवा निर्देशनालयमा भीटीएम करिब ४० वटामात्र छ । निर्देशक रीता भण्डारी काठमाडौं गएकी र उनी भीटीएमलगायत स्वास्थ्य सामग्री लिएर आउने निर्देशनालयका अधिकृत श्याम आचार्यले बताए । उनका अनुसार भीटीएम अभाव भए पनि भारतबाट आएकाहरूको आरडीटी किटबाट परीक्षण भइरहेको छ ।

यस प्रदेशमा भारतबाट आउने व्यक्तिको संख्या थेगिनसक्नु छ । जेठ १ गतेयता करिब ८ हजार व्यक्ति प्रवेश गरेको बबईस्थित हेल्थ डेस्कले जनाएको छ । डेस्कका संयोजक अशोक भण्डारीले सुरुमा आएका व्यक्तिको आरडीटी गरिए पनि सोमबारदेखि किट अभावमा काम रोकिएको बताए ।

१५ सय मौज्दात

प्रदेश १ मा १ हजार ५ सय भीटीएम मौज्दात छ । संघीय सरकारले ६ हजार २५ पठाएको र १ सय २५ वटा यतै खरिद गरिएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताए । ‘हालसम्म प्राप्त भीटीएममध्ये ४ हजार ७ सय वितरण गरिएको छ,’ उनले भने, ‘तर स्वाब परीक्षणको दायरा बढाउन भीटीएम अझै आवश्यक छ ।’

प्रदेशभरी २ प्रतिशत जनसंख्याको स्वाब परीक्षण गर्नुपरे थप ९३ हजार ८ सय भीटीएम आवश्यक रहेको यादवको भनाइ छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले सरकारले स्वाब परीक्षणको दायरा बढाएर दैनिक एक हजार जनाको परीक्षण गर्ने तयारी गरिरहेको बताए ।

उदयपुरमा स्थानीय तहले खरिद गरेपछि तत्कालका लागि भीटीएम अभाव टरेको छ । जिल्लाका ८ स्थानीय तहमध्ये बेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका तथा रौतामाई, उदयपुरगढी, ताप्ली गाउँपालिकाले १ हजार ५० थानका दरले र लिम्चुवुङ गाउँपालिकाले ५ सय ५० थान भीटीएम किनेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयमा एक सय भीटीएम रहेको स्वास्थ्य कार्यालय प्रमुख मोहनप्रसाद सुवेदीले बताए । सुवेदीले भने, ‘अब भीटीएमको होइन, परीक्षणका लागि प्रयोगशालाको खाँचो भयो ।’ त्रियुगा नगरपालिका– ३ भुल्केमा बैशाख ५ गते पहिलो पटक कोरोना सक्रमण पुष्टि भएको थियो । त्यसयताका समेत गरेर ३३ जना संक्रमित भएकामा २३ जना उपचारपछि फकिएका छन् । भुल्केसहित अन्य ठाउमा कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण जारी छ ।

झापामा पनि पालिकाहरूले आफ्नै बजेटबाट भीटीएम खरिद प्रक्रिया बढाएका छन् । जिल्ला कोरोना संक्रमण, रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति संयोजक सोमनाथ पोर्तेलका अनुसार मंगलबारसम्म जिल्लामा तीन हजार ५ सय थान बढी भीटीएम मौज्दात छ । उक्त अनुगमन समितिले एक हजार र जिससले दुई सय थान भीटीएम खरिद गरेका छन् । गत शुक्रबार संघीय स्वास्थ्य मन्त्रालयले एक हजार थान पठाएको थियो ।

कनकाई, अर्जुनधारा र शिवसताक्षी नगरपालिकाले पाँच/पाँच सय थान र मेचीनगर नगरपालिकाले तीन सय थान भीटीएम खरिद गरेका छन् । जिल्लाका लागि थप दुई हजार २ सय थान भीटीएम सप्लायर्स कम्पनीले काठमाडौं ल्याइसकेको जिल्ला रेडक्रस सोसाइटीका सभापति लोकराज ढकालले जानकारी दिए । जिल्लामा सञ्चालित ‘एकका लागि एक’ अभियानको ७ सय, भद्रपुर नगरपालिका तथा कचनकवल र झापा गाउँपालिकाको ५/५ सय थान गरि २२ सय थान भीटीएम बुधबारसम्म जिल्ला पुर्‍याउने ढकालले बताए ।

‘एकका लागि एक’ अभियानले चार दिनअघि प्रमुख जिल्ला अधिकारीलाई ३ सय ४० थान भीटीएम सहयोग स्वरूप उपलब्ध गराएको थियो । बिर्तामोड, दमक र गौरादह नगरपालिका तथा गौरीगञ्ज र बुद्धशान्ति गाउँपालिकाले पनि ५/५ सय थान भीटीएम खरिद गर्ने प्रक्रिया अघि बढाइसकेको पोर्तेलले जानकारी दिए ।

जिल्लामा पछिल्लो एक सातामा भारतबाट लुकीछिपी एक हजार ४ सय नेपाली झापा प्रवेश गरेका छन् । उनीहरूलाई जिल्लाका विभिन्न क्वारेन्टाइन र होल्डिङ एरियामा राखिएको छ ।

‘मौज्दातले धान्दैन’

सुदूरपश्चिमका ९ जिल्लामा ४ सय ९ थान भिटिएम मौज्दात थियो । सोमवार नै २ हजार १ सय ५० थान आइपुगेको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । ‘अहिलको मौज्दात आवश्यकताको ५ प्रतिशत पनि होइन,’ उनले भने, ‘सोमबार प्राप्त किट बाडीचुंडी गरी जिल्लामा पठाएका छौ ।’ पछिल्लो चरणमा भारतबाट आउनेको संख्या ह्वात्तै बढेकाले अहिलको मौज्दात भीटीएमले माग धान्न नसकिने डा. अवस्थीले बताए ।

सुदूरपश्चिममा कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकामा भारतबाट घर फर्कनेको लर्को लागेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ९ जिल्लाका ६ सय ६० क्वारेन्टाइनमा १९ हजार ९ सय ५८ जना बसेका छन् । मंगलबार भित्रिएका समेत गरेर यो संख्या करिब २३ हजार पुग्ने देखिन्छ ।

-प्रताप विष्ट (हेटौंडा), दीपक परियार (पोखरा), घनश्याम गौतम (रूपन्देही), कलेन्द्र सेजुवाल (सुर्खेत), डिल्लीराम खतिवडा (उदयपुर), अर्जुन राजवंशी (बिर्तामोड), देवनारायण साह (मोरङ) र चित्रांग थापा (धनगढी)

प्रकाशित : जेष्ठ १४, २०७७ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?