१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

लकडाउन खुलेपछि पाइलट जनगणना

ठूलो महामारी भएकाले जनगणनाको अन्तिम प्रश्नावलीमा समेट्नु उचित : विज्ञ
कोभिड–१९ को छुट्टै अध्ययन गर्छौं : केन्द्रीय तथ्यांक विभाग
गणेश राई

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले कोभिड–१९ को कारण रोकिएको पाइलट जनगणना लकडाउन खुलेपछि गर्ने भएको छ । विभागको तालिकाअनुसार गत चैत ९ देखि २३ गते सम्पन्न यो भइसक्नु पर्थ्यो । 

लकडाउन खुलेपछि पाइलट जनगणना

‘मेरो गणना, मेरो सहभागिता’ नारासहित २०७८ असार १ गतेबाट १५ गते सम्पन्न गर्ने राष्ट्रिय जनगणनाको पूर्वतयारीका निम्ति विभागले पाइलट जनगणनाको तयारी गरेको हो । विज्ञले भने राष्ट्रिय जनगणनाको प्रश्नावलीमा कोरोना महामारीलाई पनि समेट्न सक्नु पर्ने सुझाएका छन् ।

‘कोभिड–१९ ले गर्दा निर्धारित तालिकाअनुसार पाइलट जनगणना अहिले रोकिएको छ,’ विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले भने, ‘लकडाउन खुलेर स्थिति सहज भएपछि तत्काल पाइलट जनगणना लिन्छौं । त्यसनिम्ति प्रश्नावली सेट तयारी छ ।’ नमुना जनगणना प्रश्नावली फाराम भर्ने र प्रविधि दुवै प्रयोग गरिने उनले जनाए ।

‘कोभिड–१९ ठूलो महामारी भएकाले जनगणनाको अन्तिम प्रश्नावलीमा समेट्नु उचित हुनेछ,’ पाइलट जनगणनामा समेट्न नसकिए पनि कोभिड–१९ महत्वपूर्ण विषय भएको उल्लेख गर्दै जनसंख्याविद् प्राध्यापक योगेन्द्र गुरुङ भन्छन्, ‘राष्ट्रिय योजना आयोगले सोचेर प्रश्न राख्न सक्छ । तर यो नियमित प्रश्नावलीमा नहुन पनि सक्छ ।’ जनगणना बृहत् रूपमा एकसाथ लिइन भएकाले जटिलभन्दा सामान्य प्रश्नमात्र समेटिने उनले बताए ।

विभागका महानिर्देशक श्रेष्ठले जनगणनाको आधारभूत मान्यता तथा अंकहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने भएकाले आसन्न जनगणनामा कोभिड–१९ लाई समेट्न नसकिने बताए । ‘कोभिड–१९ को तथ्यांकीय आवश्यकताअनुसार छुट्टै अध्ययन गर्नेछौं,’ उनले भने, ‘पाइलट जनगणनामा समेटिएका प्रश्नलाई नै प्रमुख आधार बनाएर राष्ट्रिय जनगणना हुनेछ ।’

पाइलट जनगणनामा प्रत्येक व्यक्ति, परिवारको आर्थिक, सामाजिक पक्ष समेटिने छ । व्यक्तिलाई नाम, थर, लिंग, उमेर, वर्ग, जात/जाति, मातृभाषा, पुर्ख्यौली भाषा र दोस्रो भाषा, धर्म, अपांगता, शिक्षा, बसाईसराई, आर्थिक, प्रजननलगायत पक्ष खुलाइने छ । त्यसैगरी परिवारले उपभोग गरेको जग्गाजमिन र क्षेत्रफल, महिलाको स्वामित्व, घरको किसिम, चर्पी, खाना पकाउने इनधन, टेलिभिजन, मोबाइल फोन, पिउने पानी, बिजुली बत्ती, पालेको पशु र पंक्षी, घरेलु व्यवसाय लगायतको लगत लिइने छ । विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणनाको तथ्यांक संकलन कार्य मिश्रित मोडेलबाट हुनेछ । इन्टरनेट सुविधा भएको, भौगोलिक कठिनाइ नरहेको र व्यवस्थापकी पक्ष सहज रहेका महानगर र उपमहानगरपालिकामा हातेकम्प्युटर (ट्याबलेट) प्रयोग गरिने छ । अन्यत्र कागजी रूपमै जनगणनाको प्रश्नावली भर्ने/भराइने छ ।

विगतको जनगणनामा लगत–१ र लगत–२ उल्लेख दुई किसिमले प्रश्नावली सोधिएको थियो । लगत–१ प्रश्नावली प्रत्येक घर परिवारमा सोधिन्थ्यो भने लगत–२ प्रत्येक आठ घर परिवारमध्ये एक परिवारलाई मात्र सोधिन्थ्यो । यसपटक एकै किसिमको मात्र प्रश्नावलीबाट पूर्ण जनगणना हुने निर्देशक लामिछानेले बताए । विगतमा जिल्लागत तथ्यांकमात्र दिइन्थ्यो । अबचाहिँ स्थानीय सरकारलाई समेत तथ्यांक आवश्यक रहेकोले एउटै प्रश्नावली सोधिने छ । र वडा तहकै तथ्यांक संकलन हुने जनाइएको छ ।

पाइलट जनगणनाका निम्ति प्रत्येक प्रदेशबाट २ जिल्लाका दरले १४ जिल्लाका ५५ वडा छनोट गरिएका छन् । जसमा प्रदेश १ को पाँचथर र मोरङ, प्रदेश २ को धनुषा र पर्सा, वागमती प्रदेशमा मकवानपुर र काठमाडौं छन् । त्यसैगरी गण्डकी प्रदेशको बाग्लुङ र कास्की, प्रदेश ५ मा रूपन्देही र प्यूठान, कर्णाली प्रदेशको सुर्खेत र जुम्ला र सुदुरपश्चिम प्रदेशको कैलाली र दार्चुलामा हुनेछ । ती जिल्लाका करिब ११ हजार ६ सय १० घरपरिवारमा नमुना जनगणना हुनेछ । पाइलट जनगणनाका निम्ति सुपरीवेक्षक र गणकलाई तालिम दिइएको छ । संलग्न जनशक्तिमध्ये सुपरीवेक्षक १५ जना, गणक ६० जना र अन्य ४७ जना तैनाथ रहेका छन् ।

नेपालमा १९६८ साल (सन् १९११) मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता प्रत्येक दश वर्षमा जनगणना हुँदैआएको छ । पछिल्लो पटक सम्पन्न राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार देशको जनसंख्या २ करोड ६५ लाख रहेको छ । अब हुने १२ औ जनगणना गणतन्त्र नेपालको पहिलो जनगणना हुने छ । यसमा पशुपंक्षीको समेत गणना हुने जनाइएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७७ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?