जसले कोरोना जितिन्

‘बिहान दुई घण्टा व्यायाम, योग गर्थें । दिनमा ६ लिटरसम्म तातो पानी पनि पिएँ । बिहान लसुन–पानी, दिउँसो कागती र नुन राखेको पानी पिउँथें । बेलुका खानापछि अदुवा, बेसारपानी खाएर सुत्थें । बोझो मुखमा राख्थे । गीत सुन्थेँ। आफन्तसँग कुरा गर्थें । दिमाग खाली राखिनँ । अस्पताल बस्दाको मेरो रूटिन यही हो ।’
मकर श्रेष्ठ

काठमाडौँ — लकडाउनको अघिल्लो दिन चैत १० मा अफिसबाट बिदा लिएर उनी सुनसरीस्थित घर गएकी थिइन् । ३९ दिनपछि मोटरसाइकलमा काठमाडौं फिरिन् । कार्यालय जानुअघि आफैं कोरोना नभएको प्रमाणित गर्न टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगिन् । स्बाब दिएको भोलिपल्ट वैशाख ३० गते राति १० बजे आफ्नो रिपोर्ट पोजिटिभ भएको थाहा पाइन् ।

जुन बेला उनी ठिमीस्थित साथीको कोठामा सुत्ने तरखरमा थिइन् । त्यही राति टेकु अस्पतालमा भर्ना भएकी उनले दैनिक ६ लिटर पानी खाइन् । आफन्तसँग नियमित फोन सम्पर्क, व्यायाम, योगा गर्ने र कमेडी सुनेर दिन बिताइन् । दुईपटक पीसीआर र एकपटक आरटीडी परीक्षण गर्दा पनि नतिजा नेगेटिभ देखिएपछि उनी बिहीबार डिस्चार्ज भइन् । अस्पतालका निर्देशक सागर राजभण्डारीले उनीसहित अरू ३ जना पनि डिस्चार्ज भएको बताए । कोरोना पोजिटिभ देखिएपछि भर्ना भएकी उनले १० दिन अस्पतालको बसाइमा कोरोनालाई कसरी जितिन् ? उनको अनुभव :

म ललितपुरको पुल्चोकस्थित आरोग्य फाउन्डेसनको कर्मचारी हुँ । घर गएको ३९ दिनपछि काठमाडौं फर्किएर अफिसमा फोन गरेँ । १५ दिन क्वारेन्टाइनमा बस्नुपर्छ भनेर सुनाए । यसरी बस्नुभन्दा आफै अस्पताल गएर कोरोना नभएको पुष्टि गरेको रिपोर्ट लिएर आउँछु भन्ने लाग्यो । कोठामा समेत नछिरी सिधै टेकु अस्पताल गए । स्वाब दिएँ । ठिमीमा रहेकी साथीले कोठामा बोलाइरहेकी थिइन् । यहाँ आउनुअघि पनि साथीलाई तपाईंको घरबेटीले के भन्ने हो ? म त बाहिरबाट आएको भनेर सोधेको थिए । केही भन्नुहुन्न भनेपछि गए । २९ गते एक रात र ३० गते दिउँसो साथीकैमा बसे ।

रिपोर्ट नआएसम्म अफिस पनि जान्न भनेर बसेकी थिएँ । तर, रिपोर्ट चाहिँ कुन बेला आउने हो भन्ने सोधिखोजी गरिरहे । शंका लागेर परीक्षण गरेको भने थिइँन । कसैले कुरा नकाटोस् भनेर परीक्षण गराएको थिएँ । आफू तराईबाट आएको भए पनि कोरोना छैन भन्ने देखाउन पनि परीक्षण गर्न गएको थिएँ । नेगेटिभ आएको रिपोर्ट लिएर अफिस र कोठा छिर्छु भन्ने सोचेको थिएँ । तर, ३० गते राति १० बजे प्रयोगशालाबाट आएको त्यो फोनले मलाई अफिस र कोठा होइन कि अस्पताल पो पुर्‍याइदियो । हामी खाना खाएर सुत्ने तरखरमा थियौ । रिपोर्ट पोजिटिभ भएपछि के गर्ने ? अब कसलाई भन्नुजस्तो भयो

अस्पतालबाट पोजिटिभ देखिएको फोन आउनेबित्तिकै कहाँबाट सर्‍यो होला भन्न सम्झेँ । घर र वरिपरिको आफन्तभन्दा त कहीँ गएकै थिएन । पक्कै घरबाटै सर्‍यो होला भन्ने लाग्यो । परिवारको चिन्ता भयो । ८५ वर्षीया हजुरआमा, दमको बिरामी ममीलाई सम्झिएँ । आफू कहाँकहाँ गएँ भनेर सम्झेँ । काठमाडौंमा छँदा एमबीबीएस दोस्रो सेमेस्टरको परीक्षा पनि दिएको थिएँ, त्यो पनि सम्झिएँ । घरमा हुँदा वरिपरिको आफन्तकहाँ गएको थिएँ, यतातिर पनि सम्झेँ । तर, मलाई चाहिँ कोरोनाको संक्रमण लाग्दा हुने कुनै लक्षण नै थिएन । पुन: परीक्षण गरिदिनुुस् भन्न पनि सकिएन ।

मलाई घरबाटै सरेको हुन सक्छ भन्ने भयो । साढे १० बजे त मलाई लिन एम्बुलेन्स आइपुग्यो । टेकु अस्पताल पुर्‍याए । अस्पतालमा ५ वटा आइसोलेसन कोठा थिए । त्यसमध्येमा मलाई एउटामा राखियो । त्यो रात त तनावले सुत्नै सकिएन । भोलिपल्ट बिहानदेखि आफ्नै बारेमा समाचार आउन थाल्यो । सिन्धुलीको माइतीमा सिल गरियो । नर्सलाई कोरोना लाग्यो रे भन्ने समाचार आउन थाल्यो । न म नर्स थिएँ, न त विवाहित नै । म अस्पताल प्रशासनको कर्मचारी थिएँ । म अविवाहित हुँ । घरबाट काठमाडौं आउँदा मैले खाना खाएको सिन्धुलीको भिमान ठूलीमामुकी छोरीको घर हो । समाचारमा मेरो माइती भनिएको थियो । सबै कुरा गलत हो भनेर कसलाई भन्नु ? म को हुँ ? आफन्तलाई थाहा छँदै थियो । अनि घरमा सिल भयो, साथीको कोठा भएको ठाउँमा सिल भयो, मैले खाना खाएको सिन्धुलीमा सिल भयो भन्ने समाचारले झन् तनाव भयो । अनि आफ्नो बारेमा गलत समाचार आउँदा कोरोनाको लक्षण भएजस्तो हुन्थ्यो । घर, साथी, अफिस र सिन्धुलीमा दिदीकोमा सिल गर्‍यो भन्दा मेरो कारणले यस्तो भन्ने चिन्ता हुन्थ्यो । बिस्तारै भुल्दै गएँ ।

अस्पताल भर्नाको दोस्रो दिनदेखि तनाव लिनै छाडेँ । आफन्त र साथीहरुसँग फोन र च्याटमा गफिन थालेँ । सुनसरी घर भएका तर, विदेशमा भएका पनि कोरोना लागेर निको भएका रहेछन् । उहाँहरुले पनि तनावमुक्त हुन सल्लाह दिए । त्यसपछि कसरी हुन्छ ? समय कटाउन फुर्सद बस्दै बसिनँ ।

किन आएकी थिइन् काठमाडौं ?

म उता घरमा थिएँ । यता डाक्टर र अरू साथीहरु दोहोरो ड्युटी गरिरहेका थिए । तर, म नहुँदा उहाँहरुले तलब पाउनुभएको थिएन । एक सातामै फर्किहाल्छु भनेर चैत १० गते जहाजमा विराटनगरसम्म गएको थिएँ । लकडाउन थपिँदै गयो । गाडी बन्द भयो । आउनै सकिएन । मेरो कारणले अरूले तलब नपाएपछि तनाव पनि भयो । जिल्ला प्रशासनबाट पास बनाएर अंकलको मोटरसाइकलमा काठमाडौं आएँ । सिन्धुली भिमानमा ठूलीममीकी छोरी दिदीकहाँ खाना खाएँ । हामी त्यहाँ आधा घण्टा पनि बसेनौँ । यहाँ बस्दा पनि सचेत थियौं । दूरी कायम गर्‍यौँ । आफूमा कोरोना भएको र कुनै लक्षण देखिएको भए घरबाट आउने नै थिइनँ ।

अस्पतालमा के सुविधा छ ?

कोठामा टेलिफोन छ । सीसी क्यामेरा छ । केही समस्या पर्‍यो वा आवश्यक परेको सामान माग्न फोन गर्दा ल्याइदिन्थ्यो । ब्लड प्रेसर दिनमा तीन पटकसम्म नाप्न आउँथे । १० दिनमा एकपटक चिकित्सक राउन्डमा आउनुभयो । आफूलाई केही समस्या पर्‍यो भने सिधै चिकित्सक र स्वास्थ्यकर्मीलाई सोध्न मिल्थ्यो । खाजा र खाना समयमै आउँथ्यो । बिहान ७ बजे दूध, बिस्कुट र अण्डा ल्याइदिन्थ्यो । १० बजे खाना हुन्थ्यो । दिउँसो २ बजे चिया बिस्कुट दिन्थ्यो । बेलुका ६ देखि साढे बजेसम्म खाना हुन्थ्यो । सुरुको दुई दिन बिहान मासु खाना आयो । म साकाहारी भएकाले मासु फिर्ता गरेँ । तेस्रो दिनबाट चाहिँ भेज खाना आउन थाल्यो ।

अस्पताल भर्ना भए लगत्तै वाईफाईको पासवर्ड दिनुभएको थियो । परिवारसँग च्याट गर्थें । मलाई केही भएको छैन । ढुक्क हुनुस्, म चाँडै निको भएर आउँछु भनेर सम्झाउँथेँ ।

तनाव घटाएर भइयो निको

कोरोना लागेको भनेपछि तनाव हुन्छ । डर बेस्सरी हुन्छ । कोरोनाको लक्षण नभए पनि डरले कताकता लक्षण देखिएजस्तो हुँदो रहेछ । विश्व नै डराएको कोरोना लागेको छ भन्दा डर त लाग्थ्यो । तर, बिर्सन खोज्थें । पीडा भुल्न बिहान दुई घण्टा व्यायाम गर्थें । योगा गर्थें । दिनमा ६ लिटरसम्म तातोपानी पानी खाएँ ।

चिसो पानी खाइनँ । बिहान लसुनपानी, दिउँसो कागती र नुन राखेको पानी पिउँथें । बेलुका खानापछि अदुवा, बेसारपानी खाएर सुत्थेँ । घाँटीमा समस्या नहोस् भनेर बोझो मुखमा राखेर सुत्थेँ । बेलुका तातोपानीमा लसुन काटेर भिजाउँथे । भोलिपल्ट बिहान एकदेखि दुई गिलास यही पानी खान्थेँ । दूध खान्थेँ । दुई घण्टा व्यायाम गर्थेँ । तातोपानीले नुहाउँथँे । खाना खाएर गीत सुन्थेँ । आफन्तसँग कुरा गर्थेँ । दिमाग खाली राखिनँ । अस्पताल बस्दाको मेरो रुटिन यही हो ।

कोठामा एक्लै हुन्छ । त्यही कोरोना मात्रै सम्झने हो भने डिप्रेसनमा जान्छ । अनावश्यक सोचाइका लागि दिमाग खाली हुन दिइनँ । कसरी हुन्छ पहिलो रिपोर्ट नै नेगेटिभ निकाल्छु भनेर सोच्थँे । दिउँसो खाजा खाएपछि म्युजिक लगाएर ध्यान गर्थेँ । थप व्यस्त हुन किताब मगाएको थिए । ल्याइदिने कोही भएन । फुर्सद हुनेबित्तिकै कमेडी हेर्थेँ । तातोपानी, व्यायामले शरीरको रोग प्रतिरोधको क्षमता बढ्दो रहेछ । आइसोलेसनमा बस्दा फेसबुक र समाचार हेर्दा चाहिँ दु:खी र चिन्तित मात्रै बनाउँछ । मलाई यस्तै भयो । धुलिखेलमा कोरोना लागेकी महिलाको मृत्यु भएको समाचार देखेपछि समाचार हेर्नै छाडेँ । फेसबुक डिएक्टिभ गरे । फेसबुक हेरिरहँदा त्यहाँ आउने अनेक सूचनाले अत्यासलाग्दो बनाउँछ । पावर घटाउँछ । अलि असहज हुँदा डाक्टरलाई फोन गरे । उहाँले समाचार र फेसबुक नहेर्न भन्नुभयो । कसरी हुन्छ आत्मविश्वास दह्रो पार्ने प्रयास गरेँ ।

साथीहरु आफन्तले आत्तिँदै फोन गर्थे । तर, मैले आत्तिएको भान पारिनँ । म आत्तिएको जस्तो कसैलाई भनिनँ । डाक्टर र सिस्टरलाई पहिलाका बिरामीले के गर्नुहुन्थ्यो भनेर सोध्थे ।

सबैको नेगेटिभ आएपछि ढुक्क

अस्पताल भर्ना भएको चार दिनपछि परिवारको रिपोर्ट नेगेटिभ आयो । मलाई मोटरसाइकलमा ल्याउने अंकलको रिपोर्ट पनि नेगेटिभ आयो । एक रात र दिउँसो सँगै बसेकी साथीको रिपोर्ट पनि नेगेटिभ । अनि मेरो मात्रै कसरी पोजिटिभ भयो ? त भन्ने लाग्यो । सबैको रिपोर्ट नेगेटिभ भएकाले मेरो पनि परीक्षण गरिदिन भनेँ किनभने मेरो रिपोर्टप्रति पनि विश्वास नै लाग्न छाड्यो ।

शनिबार ल्याब बन्द थियो । आइतबार मेरो पनि स्वाब निकालियो । मंगलबार रिपोर्ट नेगेटिभ आयो । अनि ढुक्क भए । नियमअनुसार २४ घण्टा भित्र दोस्रोपटक पनि नेगेटिभ आउनुपर्ने रहेछ । बुधबार फेरि स्वाब लियो । आज (बिहीबार) बिहान रिपोर्ट आयो । पीसीआर मात्रै नेगेटिभ होइन आरटीडीबाट हेर्नुपर्छ भन्नुभयो । यो पनि नेगेटिभ आयो । अनि खुसीको सीमा रहेन । घरमा फोन गरेर खुसी साटेँ । केही बेरमा त अस्पतालले डिस्चार्ज पनि गरिदियो । डिस्चार्जपछि अफिसले व्यवस्था गरेको कोठामा बसिरहेको छु ।

भक्तपुरमा कोठा छ तर, आफू संक्रमित भएको कुरा घरबेटीलाई पनि भनेको छैन । कोठामा जाउ घरबेटीले फिर्ता गर्ला ? आफ्नो रिपोर्ट पोजिटिभ भएको देखाउँदा अस्पताल बसेको थाहा पाएपछि के भन्ला ? त्यसैले अफिसले व्यवस्था गरेकै ठाउँमा बसेको छु । प्रकाशित : जेष्ठ ९, २०७७ ०७:५७

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

जैविक विविधता र मानव अस्तित्व

सन्दर्भः जैविक विविधता दिवस
मनकुमार धमला

काठमाडौँ — प्राध्यापक जायर्ड डायमण्ड जीव, जैविक विविधता, जीव विकासक्रम, मानव समाज विकास र यिनीहरुबीचको अन्तरसम्बन्धका बारेमा शोध गर्ने विश्व प्रशिद्ध अध्येता हुन् ।

उनले त्यस्तै अध्ययनहरु गरेर सन् २००५ मा ‘कोल्याप्स’ मुख्य शिर्षक रहेको एउटा पुस्तक प्रकाशन गरेका छन् । उक्त पुस्तकमा डायमण्डले प्राग–ऐतिहासिक मानव समाजहरुको विकास र पतनका कारणहरुको खोजी गरेका छन् । कुनै समाज रहनु वा पतन हुनुमा डायमण्डले ५ मुख्य कारणहरु निर्क्यौल गरेका छन् ।

मानवीय क्रियाकलापले निम्त्याउने वातावरण विनास, जलवायु परिवर्तन, शत्रु समाजको आक्रमण, छिमेकी समाजको असहयोग र समस्याहरु (वातावरणीय वा अन्य) आउँदा समाजले गर्ने प्रतिकार्यले त्यो समाजको भविष्य निर्धारण गर्ने डायमण्डको निचोड छ । प्राकृतिक स्रोतहरुको दुरुपयोगले निम्त्याएको वातावरणीय असन्तुलन तथा समाजको सकारात्मक पहलकदमीको अभावमा मध्य अमेरिकाको माया सभ्यता, ग्रीनल्याण्डको भाइकिंग सभ्यता, इस्टर टापुको सभ्यता, कम्बोडियाको अन्ग्कोरवाट सभ्यता जस्ता विकासको उत्कर्षमा पुगेका सभ्यताहरुको पतन भयो ।

अर्कोतर्फ प्राकृतिक स्रोतहरुको सदुपयोग र समाजमा देखापरेका समस्याहरुसँग सामूहिकरुपमा प्रतिकार्य र सकारात्मक पहलकदमी हुँदा तोकुगावा (जापान) सभ्यता, न्युगिनी सभ्यता, तिकोपिया सभ्यता अझै यथावत मात्र छैनन् झन् समृद्ध भएका छन् ।

आज विश्व कोभिड—१९ नामक जीवाणु र त्यसले निम्त्याएको महाव्याधिले आक्रान्त छ । यो लेख तयार गर्दा सम्म करिब ५० लाख मानिस यस महाव्याधीको संक्रमणबाट ग्रसित भएका छन् भने करिब सवा तीन लाखले ज्यान गुमाइसकेका छन् । सिंगो मानव समाज भोक र शोकले आहत छ । हिजोसम्म पुँजी र प्रविधिमा अल्लादित मानिस आज आफैं गृहबन्दी भएको छ । प्रविधि र विकासको उत्कर्षमा रहेका समाजहरु रोकथाम र उपचारको अभावमा क्रन्दित छन् । मानव समाज द्वेष र घृणाले भरिँदै छ । समग्रमा आज मानव प्रजाति आफ्नो अस्तित्वको गम्भीर चिन्तामा डुबेको छ । आखिर किन र कसरी ? उत्तर खोज्न फेरी डायमण्डको निचोडलाइ विश्लेषण गरौं ।

डायमण्ड मानिस र पर्यावरणबीच अन्योन्याश्रित सम्बन्ध रहेको ठान्दछन् । मानिस आफ्नो जीवन र जीविकोपार्जनको लागि पारिस्थितिक प्रणाली र त्यहाँ रहेको जैविक विविधतामाथि निर्भर रहन्छ । पारिस्थितिक प्रणालीहरुले प्रवाह गर्ने सेवाहरुबाट नै मानवीय आवश्यकता परिपूर्ति हुन्छन् । अर्कोतर्फ मानवीय क्रियाकलापले पारिस्थितिक प्रणालीहरुको प्राकृतिक कार्य र सेवा प्रवाहमा असर गरिरहेको हुन्छ । यो जटिल र गहन अन्तरसम्बन्ध को बुझाइ र तदनुरुपको कार्यले दुवैको भविष्य निर्क्यौल गर्दछन् ।

आफ्ना आवश्यकताहरुको परिपूर्ति गर्ने क्रममा मानिसले पृथ्वीको अत्यधिक दोहन गरेको छ । प्राकृतिक प्रणालीहरुको विनास पृथ्वीको इतिहासमै सबै भन्दा ज्यादा भएको छ । मानव र वन्यजन्तुको अन्तरक्रिया बढेको छ । वन्यजन्तुको प्राकृतिक जनसंख्या न्युन हुँदै जाँदा प्रजातिहरुको लोप हुने क्रम अत्यधिक बढेको छ । जटिल पारिस्थितिक प्रणालीहरु सरलीकृत गरिएका छन् । र समग्रमा सम्पूर्ण पारिस्थितिक प्रणालीहरु कमजोर भएका छन् । पारिस्थितिक प्रणालीहरु कमजोर हुँदा र मानव वन्यजन्तुको अन्तरक्रिया बढ्दा वन्यजन्तुबाट विभिन्न किसिमका रोगहरु मानिसमा र मानिसबाट वन्यजन्तुमा सर्ने सम्भावना रहन्छ ।

कोभिड—१९ भन्दा अघि देखा परेका उस्तै प्रकृतिका रोगहरु (सार्स, मर्स) को उत्पत्ति वन्यजन्तुबाट भएको वैज्ञानिक पुष्टि भइसकेको छ । कोभिड—१९ को उत्पत्ति पनि वन्यजन्तुबाट भएको हुनसक्ने वैज्ञानिक आधारहरु तय हुँदै छन् । सबै भन्दा दुखको कुरा त के रहेको छ भने प्राकृतिक वातावरणको विनाशसंगै आगामी दिनहरुमा यस्तै प्रकृतिका रोगहरु देखा पर्ने सम्भावना बढेर जाने वैज्ञानिक अनुसन्धानहरु र विभिन्न निकायका प्रतिवेदनहरुले देखाएका छन् ।

सन् २०१९ मा करिब १ सय ५० वैज्ञानिकको टिमले १५००० भन्दा बढी वैज्ञानिक शोधहरुको अध्ययन संश्लेषण गरि प्रकाशन गरेको प्रतिवेदनले मानव अस्तित्वका लागि सन्तुलित प्रकृतिको अपरिहार्यता स्थापना गरेको छ । सोहि प्रतिवेदन अनुसार पृथ्वीको प्रकृति र सम्पूर्ण प्राकृतिक प्रणालीहरुमा मानवीय क्रियाकलापका कारण अपुरणीय क्षति पुगेको छ । फलस्वरुप पारिस्थितिक प्रणालीहरुहको कार्यसम्पादनमा ह्रास आइ तिनीहरुले गर्ने सेवाको प्रवाहमा नकरात्मक असर परेको छ । यसले समग्र आर्थिक सामाजिक पक्षमा असन्तुलन आएको र विपन्न वर्गमा त्यसको असर तुलनात्मक रूपमा बढी रहेको देखाएको छ ।

मानव जातीले पृथ्वीको कतिसम्म दोहन गरेको रहेछ भन्ने कुरा त यो बन्दाबन्दीको समयमा प्रकृतिमा पुनः आएको स्वच्छताले पुष्टि गरिसकेको छ । थोरै समयका लागि मानवीय क्रियाकलापहरु रोकिदा वायुमण्डल स्वच्छ भएको छ भने हरितगृह ग्यासको उत्सर्जनमा कमी आएको छ । वन्यजन्तुहरु आफ्नो बासस्थानबाट बाहिर निस्केका छन् । अझ भनौं केहि समय भने पनि पृथ्वीले सास फेर्न पाएको छ ।

आज मे २२ संसारभर जैविक विविधता दिवस मनाइदैछ । सन् १९९३ देखि मनाउन थालिएको यो दिवसमा जैविक विविधता र यसको संरक्षणको महत्वलाइ विभिन्न कार्यक्रम गरेर प्रचार प्रसार गर्ने गरिन्छ । जैविक विविधता महासन्धि को सचिवालयले यो वर्षको नारा ‘हाम्रा समस्याको समाधान प्रकृतिमा छन् — आवर सोलसुन्स आर इन नेचर’ भन्ने तय गरेको छ । कोभिड—१९ महाव्याधि खेपिरहेको आजको दिनमा यो वर्षको नारा अझ सान्दर्भिक देखिन जान्छ ।

कोभिड—१९ महाव्याधिले सिंगो मानव जातिलाई धेरै शिक्षा दिएको छ । हाम्रो सोचमा परिवर्तन ल्याउने मौका दिएको छ । हाम्रा क्रियाकलापहरु सच्याउने अवसर दिएको छ । प्रकृति र मानवबीचको अन्तरसम्बन्ध बुझ्ने तथा सह अस्तित्व र भातृत्वमा बाँच्ने विश्वास जगाएको छ । हाम्रो र सम्पूर्ण पृथ्वीको भविष्य हाम्रो हातमा रहेको यथार्थ बोध गराएको छ ।

कोभिड—१९ महाव्याधि कहिले अन्त्य हुने हो वा होइन आजै भन्न सकिने अवस्था छैन । यो महाव्याधिका कारण लाखौ करोडौ मानिसले आफ्नो रोजगारी गुमाउनुका साथै चरम गरिबीको सामना गर्नु पर्ने भनेर अर्थशास्त्रीहरूले चेतावनी दिइसकेका छन् । त्यसले आगामी दिनमा प्राकृतिक स्रोतसाधनमाथि विश्वभर नै मानवीय चाप बढाउने निश्चित प्राय छ । त्यसैले यस अवस्थामा प्राकृतिक स्रोतहरुको सुरक्षित उपभोग तथा व्यवस्थापनमा अझ बढी सजगताका साथ काम गर्नु पर्ने देखिन्छ । नेपाल पनि यसतर्फ चनाखो रहनु पर्ने हुन्छ ।

प्राकृतिक प्रणालीहरूको विनाश र प्रजातिहरुको लोप हुने क्रमलाई रोक्ने कार्यहरु अझ प्रभावकारी ढंगले अघि बढाउनुपर्ने हुन्छ । लोपोन्मुख प्रजातिहरु र तिनीहरुका बासस्थानको संरक्षण गर्दै सन्तुलित रूपमा विकास निर्माणका कार्यहरु गर्न सकेमा मात्र सम्पूर्ण दिगो विकासका लक्ष्यहरू हासिल हुनेछन् । विज्ञान र प्रविधिको उपयोग मानव समाज मात्र होइन सम्पूर्ण प्रकृतिको हितमा लगाउन सकेमा हामी दीर्घकालसम्म लाभान्वित रहन्छौं । सम्भवतः कोभिड—१९ महाव्याधिले मानव जातिलाई सिकाएको यो नै सबैभन्दा ठूलो पाठ हो ।

व्यारी कम्मनरले सन् १९७१ मा प्रकाशन गरेको पुस्तक ‘द क्लोजिंग सर्कल’ मा प्रतिपादन गरेका इकोलोजीका चार नियमहरु मध्ये तेस्रो नियम ‘प्रकृति सर्वज्ञानी छ’ लाई हृदयंगम गर्न सकेमा पनि हामीले अहिले भोगिरहेका धेरै समस्याहरुको समाधान निकाल्न सकिन्छ । पृथ्वीको स्वास्थ्यमा नै हाम्रो स्वास्थ्य निर्भर रहन्छ, पृथ्वीको अस्तित्व सुरक्षित रहँदा नै हाम्रो अस्तित्व सुरक्षित रहन्छ । हाम्रा हरेक अप्राकृतिक क्रियाकलापहरुको प्रकृतिसँग जवाफ छ किनकी प्रकृति हामीभन्दा महान् छ, प्रकृति हामीभन्दा ज्ञानी छ ।

लेखक त्रिवि वातवरण विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक हुन् ।

प्रकाशित : जेष्ठ ९, २०७७ ०७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×