कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परीक्षणबिनै भारतबाट भित्रिए ४२ सय

भारतले प्रवासी कामदारलाई लक्षित गरेर रेल सेवा सुरु गरेपछि स्वदेश फर्किने नेपालीको संख्या ह्वात्तै बढेको छ, यसरी फर्किनेमा कर्णालीका मात्रै करिब दुई हजार जना छन् ।
प्रदेश ब्युरो

काठमाडौँ — भारतका विभिन्न सहरबाट फर्किएकाहरू स्वास्थ्य परीक्षणबिनै सीमा नाकाबाट भित्रिइरहेका छन् । भारतले प्रवासी कामदारलाई लक्षित गरेर रेल सेवा सुरु गरेपछि स्वदेश फर्किने नेपालीको संख्या ह्वात्तै बढेको छ । भारतबाट फर्किएकामध्ये धेरैमा संक्रमण पुष्टि भइरहेका बेला बाँकेको जमुनाह नाकाबाट मात्रै ३ हजार ५ सय जना परीक्षणबिनै प्रवेश गरेका छन् ।

परीक्षणबिनै भारतबाट भित्रिए ४२ सय

उनीहरू अधिकांश प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका हुन् । यसरी आएकालाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने जनाएका छन् ।

कैलालीको गौरीफन्टा नाकाबाट बुधबार राति ७ सय ५८ जना परीक्षणबिनै नेपाल भित्रिएका छन् । सुदूरपश्चिमसहित विभिन्न जिल्लाका उनीहरू एकपछि अर्को गर्दै १५ वटा गाडीमा आएपछि नाकामा खटिएका सुरक्षाकर्मी र जिल्ला प्रशासनका प्रतिनिधिलाई व्यवस्थापन गर्नै हम्मे भएको थियो ।

जमुनाह, गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिनेमध्ये करिब २ हजार जना कर्णालीका विभिन्न जिल्लाका छन् । उनीहरू सुर्खेतको बबई नाका हुँदै कर्णाली प्रदेश पुगिसकेका छन् । उनीहरूको बबईमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिँदै छ ।

पछिल्ला दिन कोरोना संक्रमणको जोखिम अत्यधिक बढेका बेला भारतबाट फर्केकालाई कोरोना जाँच नगरी सीमाबाट भित्र्याउन थालेपछि जोखिम झनै बढेको छ । ‘उनीहरूको न कोरोना परीक्षण भएको छ न त खाना र बसोवासको व्यवस्थापन,’ गौरीफन्टा नाकामा अभिलेख संकलन गर्न खटिएका जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले भने, ‘अवस्था भयावह भयो ।’

प्रदेश ५ का विभिन्न नाकामा भारतबाट आउनेको संख्या बढेपछि स्थानीय तहले उनीहरूलाई उद्धार गरेर क्वारेन्टाइनमा राख्न थालेका छन् । भारतबाट फर्किएका बाँकेका सर्वसाधारणलाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस र कोहलपुरका क्वारेन्टाइनमा राखिएको छ । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार बाँकेका मात्रै तीन सय जना आएका छन् ।

बाँकेमा बिहीबारसम्म ९९ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ । नेपालगन्जमा पहिलोपल्ट संक्रमित भेटिएका एक जना भारतको नानपाराबाट आएका थिए । नरैनापुर गाउँपालिकामा भेटिएका सबै ६८ संक्रमित भारतको महाराष्ट्र र दिल्लीलगायतका सहरबाट आएका हुन् ।

भेरी अस्पतालका कन्सल्टेन्ट प्रमुख फिजिसियन तथा मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले भारतबाट नेपालीहरू फर्किन पाउने तर व्यवस्थित क्वारेन्टाइन निर्माण आवश्यक रहेको बताए । तर, बाँकेमा मापदण्ड पुगेका कुनै पनि क्वारेन्टाइन छैनन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले भारतबाट आउनेमा कोरोना संक्रमण बढी देखिएको भन्दै स्वास्थ्य जाँचबिना प्रवेश दिनु खतरनाक भएको बताए । ‘अवस्था भयावह भइसक्यो । सावधानी नअपनाउने हो भने समस्या अझै बल्झिन्छ,’ उनले भने ।

भारतका विभिन्न ठाउँबाट आएका नेपालीलाई बुधबार धनगढीस्थित गौरीफन्टा नाकाबाट भित्र्याइँदै । तस्बिर : अर्जुन शाह/कान्तिपुर

यस्तै, रूपन्देहीको बेलहिया नाकामा दैनिक स्वदेश आउने जम्मा हुन थालेका छन् । कपिलवस्तुको कृष्णनगर र नेपालगन्जको जमुनाहा नाकामा पनि सयौं जम्मा भएका छन् । इलाका प्रहरी बेलहियाका अनुसार बुधवार साँझ सुनौलीमा तीन सयभन्दा बढी भेला भएका थिए । उनीहरू रेलमा आएका हुन् । तीमध्ये १ सय १० जना अर्घाखाँचीका थिए । उनीहरूलाई लिन अर्घाखाँचीको मालारानीका जनप्रतिनिधि बस ल्याएर नाकामै आएका थिए । स्थानीय तहमा क्वारेन्टाइनमा बसाउने गरी उनीहरूलाई लगिएको छ ।

‘भारतमा रेल चलेपछि सुनौली हुँदै स्वदेश आउनको चाप बढ्न थालेको छ,’ प्रहरी निरीक्षक ईश्वरी अधिकारीले भने, ‘अब यो संख्या झन् बढ्ने देखिन्छ ।’ नाकामा आएकालाई सम्झाएर भारतीय सुरक्षाकर्मीको साथमा नौतनवास्थित क्वारेन्टाइनमा पठाउने गरिएको छ । एक साताको अवधिमा नौतनवाको क्वारेन्टाइनबाट १ हजार ५ सयभन्दा बढीलाई रूपन्देही ल्याएर क्वारेन्टाइनमा राखिएको छ । तर, नौतनावाको क्वारेन्टाइनमा बस्ने नेपालीको चापमा कमी नआएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

धमाधम उद्धार

दाङमा भारतबाट फर्किनेहरूलाई स्थानीय तहले धमाधम उद्धार गरी क्वारेन्टाइनमा राख्न थालेका छन् । क्वारेन्टाइनमा राखिएका सबैको पीसीआर परीक्षण गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुनीता पौडेलले बताइन् । उनले भनिन्, ‘संक्रमण समुदायमा फैलिन नपाओस् भनेर सतर्कता अपनाएका छौं । गाउँगाउँबाट स्वाब संकलन गरेर परीक्षण गरिरहेका छौं ।’ घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले वडामा विद्यालय र सामुदायिक भवनहरूमा क्वारेन्टाइन बनाइएको बताए । हालसम्म दुई सय जना आइसकेको र आउने क्रम जारी रहेको उनले बताए ।

जिल्लामा भारतबाट आठ हजारभन्दा बढी व्यक्ति आउने अनुमान गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकमा जिल्लाका १० वटै पालिकामा उक्त संख्यामा व्यक्ति आउने आकलन गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । रूपैडिहा, कृष्णनगर र कोइलाबास नाकाबाट मानिसहरू आइरहेको र उनीहरूलाई सम्बन्धित पालिकामार्फत व्यवस्थापन गरिरहेको रिजालले बताए ।

‘किट अभावले परीक्षण भएन’

किट अभाव भएकाले गौरीफन्टाबाट बुधबार राति भित्रिएका ८ सय ५८ जनाको परीक्षण गर्न नसकिएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । उनीहरूमध्ये कैलाली र कञ्चनपुरका स्थानीय तहले सम्बन्धित स्थानीयलाई टिपरमा राखेर पालिकाका क्वारेन्टाइनमा लगेका थिए । त्यसबाहेक सुदूरपश्चिमका पहाडी र अन्य जिल्लाका बासिन्दालाई प्रशासनले धनगढीकै त्रिनगरस्थित नवदुर्गा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखेको थियो ।

नवदुर्गामा पठाइएकाहरूको खानाको पूर्वव्यवस्थापन हुन सकेको थिएन । खानाको ठेगान नभएपछि धनगढीकै केही स्वयंसेवकहरूले चाउचाउ चिउराको व्यवस्थापन गरेका थिए । उनीहरूले तीन दिनदेखि भोकै रहेको बताए ।

भारतबाट आएकाहरूमध्ये बालबालिकादेखि वृद्धवृद्धासम्म थिए । ‘उनीहरूलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिने भएकाले १४ दिनपछि आरडीटी टेस्ट गर्छौं,’ स्वास्थ्य महाशाखा प्रमुख कार्कीले भने । सोमबार र मंगलबार पनि भारतका विभिन्न ठाउँबाट ठूलो संख्यामा नेपालीहरू यसै नाकाबाट फर्किएका थिए । यसैसाता झन्डै एक हजार २ सय जना नेपाल भित्रिएको सुरक्षा निकायका प्रतिनिधिहरूले बताएका छन् ।

कर्णालीमा भित्रिए २ हजार

कर्णालीका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीका अनुसार भारतबाट बुधबार राति मात्रै १ हजार ९ सय ३० जना बबई आइपुगेका छन् । यसरी आएकामध्ये सुर्खेतका ४ सय ९७ जना, दैलेखका ८ सय २९, सल्यानका ४ सय ५८, जाजरकोटका ८१, जुम्लाका ११ र कालीकोटका ५४ जना छन् । उनीहरुको आरडीटी परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्रै सम्बन्धित स्थानीय तहको समन्वयमा क्वारेन्टाइनमा राखिने उनले बताए । ‘अहिले भारतबाट धेरैको संख्यामा भित्रिँदै छन्,’ मन्त्री भण्डारीले भने, ‘आरडीटी परीक्षण गरेर मात्रै व्यवस्थित क्वारेन्टाइनमा बसाल्न स्थानीय तहलाई अनुरोध गरिसकेका छौँ ।’

सुर्खेतको बबई नाका भएर कर्णाली प्रदेश प्रवेश गरेका भारतबाट फर्किएका नेपाली ।

स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले आरडीटी पोजिटिभ आएकाहरूको पीसीआर गरिने बताए । ‘यो अन्तिम नतिजा होइन,’ उनले भने, ‘लगातार भित्रिँदै छन्, सबैको जाँच हुँदैछ । आरडीटी पोजिटिभ आएकाहरूको पीसीआर गरेपछि मात्रै शुक्रबार अन्तिम नतिजा आउनेछ ।’

डेढ साताभित्र कर्णालीमा १५ देखि २० हजार नागरिक भित्रिने अनुमान प्रदेश सरकारले गरेको छ । दैनिक १५/१६ सयको संख्यामा नागरिक भित्रिए कर्णालीमा भएको स्रोत साधन र जनशक्तिले नभ्याउने प्रमुख वाग्ले बताउँछन् । ‘अहिलेका लागि त हामीसँग स्रोत साधन छ,’ उनले भने, ‘जोखिम पनि बढ्दै गइरहेको अवस्थामा भित्रिएकाहरूको जाँच गर्न न जनशक्तिले भ्याउँछ, न साधनले नै ।’ उनका अनुसार अहिले बबई नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा १२ जना र ल्याबका लागि ४ जना स्वास्थ्यकर्मी खटिएका छन् ।

कर्णालीमा हालसम्म ७ हजार ६ सय ६५ जनाको आरडीटी परीक्षण गरिएकामा २ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरूको पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

-नेपालगन्जबाट ठाकुरसिंह थारू, मधु शाहीरूपा गहतराज, भैरहवाबाट माधव ढुंगाना र दाङबाट दुर्गालाल केसी, धनगढीबाट अर्जुन शाह र वीरेन्द्रनगरबाट चाँदनी कठायत)

प्रकाशित : जेष्ठ ९, २०७७ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?