नेपाली सैनिकको शव लिन अफ्रिका उड्यो श्री एयरलाइन्स- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली सैनिकको शव लिन अफ्रिका उड्यो श्री एयरलाइन्स

सुरज कुँवर

काठमाडौँ — अफ्रिकी मुलुक लिबियामा २१ दिनअघि हृदयघातबाट मृत्यु भएका एक नेपाली सेनाको शव लिन श्री एयरलायन्सको सीआरजे विमान बिहीबार बिहान ७ बजे ट्युनिसिया उडेको छ ।

काठमाडौंबाट उडेको यो विमान ओमानको मस्कट, इजिप्टको कायरो हुँदै बिहीबार बेलुकी ट्यनिसियाको राजधानी ट्य्निसस्थित कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, यो चार्टर उडान संयुक्त राष्ट्रसंघको खर्चमा नेपाली सेनाले काठमाडौंबाट गराएको हो । प्रवक्ता पाण्डेका अनुसार, लिबियामा रहेको संयुक्त राष्ट्र संघको सहायता मिसनमा खटिएका झापा मूल घर भएका एक जमदारको मे १ तारिख (वैशाख १९ गते) हृदयघातका कारण मृत्यु भएको थियो । ती सैनिकको शव बोकेर उक्त विमान शुक्रबार दिउँसो काठमाडौं फर्किने छ ।

आन्तरिक उडानमा रहेको तथा हालै एसियाका केही मुलुकमा कार्गो चार्टरको अनुमति लिएको श्रीलाई नागरिक उड्डयन प्राधिकरणले विशेष परिस्थिति भएकाले कार्गो उडानको अनुमति दिई अफ्रिका पठाएको हो ।

श्रीको बमबार्डियर विमान काठमाडौंबाट सोझै ट्युनिसिया उड्न नसक्ने भएकाले काठमाडौंबाट मस्कट, मस्कटबाट इजिप्टको कायरो र ट्युनिसियाको राजधानी ट्युनिसमा रहेको कार्थेज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । शव लिबियाबाट त्यहाँसम्म सडकमार्ग हुँदै ल्याइएको प्रवक्ता पाण्डेले बताए ।

श्रीका एक अधिकारीका अनुसारका उक्त विमान शुक्रबार ट्युनिसियाबाट शव मात्रै बोकेर कायरोबाट दुबई हुँदै काठमाडौं फर्किने उडान तालिका रहेको छ ।

प्रवक्ता पाण्डेले शुक्रबार नै शव काठमाडौंबाट नेपाली सेनाको विमानमा भद्रपुर पठाइने बताएका छन् । उनका अनुसार, पछिल्ला महिना अफ्रिकी मुलुकमा शान्ति सेनामा खटिएका तीन सैनिकको ह्दयघातका कारण मृत्यु भइसकेको छ । श्रीले पछिल्लो एक महिना दुइटा चार्टर शव ल्याउनकै लागि गरेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीमा कोरोनासँग जुध्न जनशक्ति र पूर्वाधार दुवै कम

कर्णालीमा अहिलेसम्म १० हजार ४ सय ३० वटा क्वारेन्टाइन र ५ सय ४० वटा आइसोलेसन बेड छन् । अन्य प्रदेशमा जस्तै शंकास्पद र संक्रमितहरू ह्वात्तै बढे यिनले थेग्दैनन् । 
जनकराज सापकोटा, कलेन्द्र सेजुवाल

काठमाडौँ/सुर्खेत — अन्य प्रदेशको दाँजोमा सबैभन्दा ढिलो कोरोना संक्रमण देखिएको कर्णालीमा सम्भावित संक्रमितको पहिचान, आइसोलेसन र उपचारका लागि पर्याप्त तयारी देखिन्न । विकट भौगोलिक अवस्थिति, कमजोर स्वास्थ्य पूर्वाधार र भारतबाट भित्रिएकाहरू लुकीछिपी गाउँ छिर्ने क्रमसँगै जोखिम अझ बढेको छ ।

सामान्य बेलामै पनि चिकित्सक, स्वास्थ्यकर्मी र पूर्वाधारको कमी रहेको कर्णालीमा संक्रमणको जोखिम बढ्दा जनशक्ति अभावमा उपचार प्रक्रिया प्रभावित हुने देखिन्छ । स्वास्थ्य मन्त्रालयका अनुसार कर्णालीमा अहिले १ सय ६२ चिकित्सक र १ सय २६ स्टाफ नर्स छन् । अस्पताल र स्वास्थ्य केन्द्र गरी २७ वटा लाकोरोना उपचारका लागि तोकिएको छ । यी सबैमा गरी १ सय ५१ कोरोना विशेष बेड, १६ भेन्टिलेटर र २ आईसीयू छन् ।

चैत १८ मा १ हजार २ सय ३७ थान रहेको पीपीई सेटको संख्या कर्णालीमा मंगलबारसम्म २ हजार ४ सय ९५ पुर्‍याइएको छ । जबकि लकडाउनयता मात्रै कर्णालीमा भारत र अन्य प्रदेशबाट १० हजारभन्दा धेरै जना भित्रिसकेको सुरक्षा निकायको अनुमान छ । यसरी भित्रिएकामध्ये ९ हजार ८ सय ३८ जना क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेको देखिन्छ । अहिले ७ सय ४१ जना क्वारेन्टाइनमा र ५ सय २० जना होम क्वारेन्टाइन रहे पनि निकट दिनमा त्यो संख्या ह्वात्तै बढ्ने देखिन्छ । सुरक्षास्रोतका अनुसार भारतबाट आएर लुकीछिपी गाउँ छिर्नेहरूको संख्या क्वारेन्टाइनमा बसेर फर्किनेहरूको जत्तिकै हुन सक्छ ।

कर्णालीका प्रदेश प्रहरीप्रमुख डीआईजी वसन्त पन्तले पछिल्ला दिन संक्रमणको व्यापक विस्तार भएर रेडजोनमा परेका जिल्लाबाट पनि मानिसहरू कर्णालीका सुर्खेत, दैलेख र रुकुमतिर सुरक्षित भइन्छ भनेर आउने क्रम बढेको बताए । ‘समुदाय स्तरमै व्यापक मात्रामा परीक्षण नगरेसम्म ढुक्क हुने अवस्था छैन । यद्यपि अहिलेसम्म कर्णाली सुरक्षितजस्तो देखिन्छ,’ उनले भने ।

चैत १८ मा कर्णालीमा २ सय ६१ आइसोलेसन बेड र २ हजार ३० क्वारेन्टाइन बेड थिए । त्यसयताको ५० दिनमा ८ हजार ४ सय क्वारेन्टाइन बेड थपेर बुधबारसम्म १० हजार ४ सय ३० पुर्‍याएको छ । त्यस्तै २ सय ७९ आइसोलेसन बेड थपेर ५ सय ४० वटा पुर्‍याइएको छ । तर, अन्य प्रदेशमा जस्तै संक्रमित र शंकास्पदहरू ह्वात्तै बढे यति बेडले थेग्दैनन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी भारतबाट आउने नेपालीमध्ये करिब २० हजारको गन्तव्य कर्णाली प्रदेश हुन सक्ने बताउँछन् । उनका अनुसार हाल भारतका विभिन्न स्थानमा कर्णालीका करिब ७० हजार मान्छे छन् ।

प्रदेश ५ र सुदूरपश्चिमका क्वारेन्टाइनहरूमा भारतबाट आएकाहरूको संख्या थपिँदै जाँदा जस्तो अव्यवस्थापन र जोखिम बढिरहेको छ, त्यस्तै नियति कर्णालीमा पनि दोहोरिने देखिन्छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका एक उपल्ला सरकारी अधिकारीले आफूहरू क्वारेन्टाइनमा बेड नपुग्ने, आएकाहरूलाई उचित व्यवस्थापन गर्न नसक्ने र विकराल अवस्था आउने दिन कुरेर बसेजस्तो अनुभव भइरहेको सुनाए ।

प्रदेश सरकारले २ हजार ७ सय ८९ जनाको पीसीआर र ७ हजार ५ सय ७८ जनाको आरडीटी गरे पनि परीक्षणको यो गति पर्याप्त देखिन्न । सुरुमा संघीय सरकारको भर पर्दा परीक्षण सुस्त भएको भन्दै प्रदेश अस्पताल आफैंले किट किन्ने प्रक्रिया चालेको छ । सामाजिक विकासमन्त्री दल रावल सुरुआती चरणमा भारतबाट आएका धेरैजसोको परीक्षण गरिए पनि पछिल्ला दिन त्यसरी आउनेको संख्या थपिएकाले जोखिम बढ्न थालेको बताउँछन् । गत सोमबार संक्रमण पुष्टि भएका दैलेख, आठबीस नगरपालिकाका ३५ वर्षीय युवक पनि भारतबाटै फर्केका हुन् ।

दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल भारतबाट आउनेलाई प्रदेश सरकारले सिधै स्थानीय तहमा पठाइदिँदा पनि संक्रमणको जोखिम बढेको बताउँछन् । ‘स्थानीय तहमा बनेका सबै क्वारेन्टाइन स्तरीय छैनन् । न त तिनले भारतबाट आउने ठूलो संख्यालाई धान्न सक्छन्,’ उनले भने । सुरक्षा निकायका अनुसार पछिल्ला दिनमा क्वारेन्टाइनमा बसेकाहरू भाग्ने घटना पनि दोहोरिइरहेको छ । प्रदेश प्रहरीका डीआईजी पन्तले यसरी भाग्नेहरूलाई कडाइ गरिएको बताए ।

प्रदेश सरकारले चैत ७ गते वीरेन्द्रनगरमा १ हजार बेडको क्वारेन्टाइन बनाउने निर्णय गरेर त्यसमध्ये ४ सय बेडको जिम्मा नेपाली सेनालाई दिएको थियो । सेनाले अहिले २ सय १० बेड मात्र तयारी अवस्थामा राखेको छ । उत्तरपश्चिम पृतनाका पृतनापति सरोजप्रताप राणा मानिसहरू आए ४ सयवटै बेड प्रयोगमा ल्याउने सकिने बताउँछन् ।

त्यस्तै, ६ सय बेडको क्वारेन्टाइन बनाउने भनिएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कामै सुरु भएको छैन । विश्वविद्यालयको भवन जतिसुकै बेला दिन सकिने अवस्था रहे पनि सरकारले क्वारेन्टाइन बनाउनेबारे कुरा नगरेको उपकुलपति नन्दबहादुर सिंह बताउँछन् । उनले क्वारेन्टाइनसाथै अन्य काममा सहयोग गर्न ८ सय ५ जनाको स्वयंसेवक टोली पनि तयार पारिएको बताए ।

सामान्य अवस्थामा समेत कहिले झाडापखाला त कहिले सिजनल फ्लुका कारण कर्णालीमा कयौंले ज्यान गुमाउँथे । स्वास्थ्य सेवा विभागका अनुसार २०६७ यताका ५ वर्षमा झाडापखाला, डेंगु र मौसमी ज्वरोजस्ता मौसमी महामारीका कारण देशैभरि ५ सय ८४ जनाले ज्यान गुमाएका थिए । जसमध्ये २ सय ३७ अर्थात् ४१ प्रतिशत जाजरकोट, कालिकोट, रुकुम, सल्यान र प्युठानका थिए ।

कोरोनाबाट जोगिन नियमित साबुनपानीले हात धुनुपर्ने भए पनि कर्णालीका सबै जनतामा सफा पानीको पहुँचसम्म देखिन्न । स्वास्थ्य मन्त्रालयका अनुसार कर्णालीका सबैजसो जिल्लामा औसतमा ५० प्रतिशतभन्दा कम जनता मात्र सफा पानीको पहुँचमा छन् ।

जटिल भौगोलिक संरचना र व्यवस्थित सडक सञ्जालको अभावका कारण कर्णालीमा संक्रमण फैलिए नियन्त्रण गर्न कठिन हुने देखिन्छ । अहिले पनि हुम्ला र डोल्पामा सजिलै गाडी पुग्ने अवस्था छैन । मुगु वर्षायाममा यातायात सम्पर्कबाट बाहिरजस्तै रहन्छ । दुर्गम गाउँमा संक्रमित देखिए उनीहरूलाई आइसोलेसन वार्डसम्म ल्याइपुर्‍याउनै कठिन छ । स्वास्थ्य मन्त्रालयका अनुसार कर्णालीमा जम्मा ६५ वटा एम्बुलेन्स छन् । ती पनि अप्ठ्यारो सडक सञ्जालका कारण सबै ठाउँ पुग्न सक्दैनन् ।

प्रकाशित : जेष्ठ ८, २०७७ ११:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×