कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनामुक्त नेपाल पहिलो प्राथमिकता : प्रधानमन्त्री

‘स्वास्थ्य सामग्री खरिदमा अनियमितता देखिए कारबाही हुन्छ’
ऋषिराम पौड्याल

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई जतिसक्दो छिटो कोभिड–१९ मुक्त बनाउन सरकारले पहिलो प्राथमिकता दिएको बताएका छन् । कोभिड–१९ विरुद्ध सरकारको तयारीलाई कम भन्न नमिल्ने उनले जिकिर गरे । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि सांसदले राखेको जिज्ञासाको जवाफ दिने क्रममा मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सबैको सहयोगमा मुलुकमा कोभिड–१९ नियन्त्रण गर्न सक्ने अवस्थामा रहेको बताए ।

कोरोनामुक्त नेपाल पहिलो प्राथमिकता : प्रधानमन्त्री

भरपर्दो ढंगले जाँच गर्ने, परीक्षणको दायरा बढाउने र बिरामीलाई क्वारेन्टाइन र आइसोलेसनमा राखेर उपचार प्रबन्ध मिलाउने जिम्मा सरकारले लिने उल्लेख गर्दै उनले नीति तथा कार्यक्रम कोरोना नियन्त्रण र उपचारमै केन्द्रित भएको बताए । उनले मुलुकभर ५७ हजार जनाभन्दा बढी राख्ने सकिने क्वारेन्टाइन तयार रहेको जानकारी दिए ।

प्रतिनिधिसभामा दुई दिन भएको छलफलमा प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षका अधिकांश सांसदले नीति तथा कार्यक्रम कोभिड–१९ नियन्त्रण र बिरामीको उपचारमा केन्द्रित नभएको टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री ओलीले खुला सीमाका कारण भारतबाट आउने संक्रमितले भने भयावह अवस्था सिर्जना गर्न सक्ने बताए । ‘उताबाट भागेर आउने र लुकेर बस्ने, खुरखुर घर जाने भएकाले पत्ता लगाउनै कठिन हुँदा यो समस्या बढी देखिएको छ,’ उनले भने, ‘कोभिड–१९ कै कारणले मात्र नभई अन्य जटिलताका कारण नेपालमा २ जनाको निधन भयो । यसमा दु:ख व्यक्त गर्छु ।’

प्रधानमन्त्री ओलीले कोभिड–१९ का कारण नेपालमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर सरकारले उच्च सतर्कता अपनाएको दाबी गरे । उनले पीपीई, किटलगायतका स्वास्थ्य सामग्री ल्याइँदै गरेको जानकारी दिँदै विश्वका नेताहरूले नै सामानको समस्या देखाइरहेको बताए । नेपालले पनि स्वास्थ्य सामग्रीमा गुणस्तर कायम गर्ने प्रयास गरिरहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ चीनको वुहानमा देखापरेपछि नै सरकारले तयारी सुरु गरेको दाबी गरे । ‘जनता, जनप्रतिनिधि र सिमानामा आएर बस्नेहरूको दबाबका कारण बाहिरबाट आउनेलाई रोक्न सकिएन । यसले भयावह स्थिति ल्याउने हो कि भन्ने खतरा छ,’ उनले भने,

‘तर अहिले पनि रोक्न नसकिने स्थिति छैन । हामीले कहाँबाट कसलाई सर्‍यो भन्ने नै ‘ट्ेरसिङ’ गर्न नसकेका छैनौं ।’ ओलीले वुहान, इटाली र दुबईबाट आएको भाइरस नरम रहेको र भारतबाट आएको कडा देखिएको बताए ।

उनले संक्रमण रोक्ने प्रयासमा सबैको सहयोग आवश्यक रहेको बताए । लकडाउन पालना नगर्ने मुलुकमा गम्भीर समस्या देखिएको उनको भनाइ थियो । ‘नेपालले लकडाउन पालना गरेकाले तत्काल ठूलो रूपमा फैलन पाएन । लामो समयपछि बिस्तारै फैलियो,’ उनले भने, ‘प्रतिरोध र प्रतिरोधी क्षमता नै कोरोनाको उपचार हो । भाइरस मर्दैन र मार्न सकिन्न ।’

प्रधानमन्त्री ओलीले भाइरसको स्रोत बाहिरबाट आउने व्यक्ति नै मुख्य भएको उल्लेख गर्दै संक्रमण समुदायमा सरेको नदेखिएको बताए । क्वारेन्टाइन र आइसोलेसनमा राखेकालाई उपचार गरिने उनको भनाइ थियो । ‘क्वारेन्टाइनमा मान्छे नबसेकाले गुणस्तर कम छ । त्यसलाई सुधार गर्नुपर्ने अवस्था छ,’ उनले भने ।

कोभिड–१९ ले महँगोमा मूल्यवान शिक्षा दिएको उल्लेख गर्दै यसको नियन्त्रणपछि स्वास्थ्य क्षेत्रमा नेपाल एक तह माथि उठ्ने दाबी उनले गरे । ‘अहिलेसम्म कोरोनामा धरै खर्च गरेका छौं । फेरि पनि खर्च गर्ने अवस्था आउन सक्छ,’ उनले भने ।

‘ओम्नी नाम सुनेको पनि थिइनँ’

प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्ने विषय उठाएर मिडियाले बालुवाटारलाई समेत जोड्दै आफ्नो बदनामा गराउन खोजेको आरोप लगाए । ओम्नी भन्ने व्यापारिक कम्पनीको नाम आफूले यसअघि नसुनेको दाबी उनले गरे । ‘व्यापार मेरो विषय होइन । मेरो काम राजनीतिक हो, व्यापारमा म चासो राख्दिनँ,’ उनले भने ।

ओलीले स्वास्थ्य सामग्री खरिदमा कसैले अनियमितता गरेको भए छानबिन र कारबाही हुने बताए । ‘कोही पनि कारबाहीबाट उम्कन सक्दैन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले मिडियाले मन नपरेको मान्छेलाई भ्रष्टाचारी देख्ने गरेको टिप्पणी गरे । पीपीई र स्वास्थ्य सामग्री नभएको अवस्थामा छिटो प्रक्रियाबाट खरिद गर्नुपर्ने भएकाले स्वास्थ्य विभागको महानिर्देशकले नै सबै प्रक्रिया अघि बढाएको दाबी गर्दै उनले यसमा अनावश्यक र पूर्वाग्रही ढंगले आफूलाई मुछेको बताए । ‘खरिद प्रक्रियामा सबैले बाँडेर खाए भन्ने जुन हल्ला चलाउन खोजियो त्यो विचित्र छ । सञ्चारमाध्यममा पनि के के प्रवृत्ति हो, मैले बुझ्न सकिनँ,’ उनले भने ।

‘स्रोतको ग्यारेन्टीपछि प्याकेज’

प्रधानमन्त्री ओलीले कोभिड–१९ प्रभावित अर्थतन्त्र उकास्नका लागि ल्याइने प्याकेज राज्यले धान्न सक्ने र स्रोतको ग्यारेन्टी भएको हुनुपर्ने बताए । ‘हामी जहॉ छौं, जता जाँदै छौं, त्यहीअनुुसार नै अर्थतन्त्रको नीति बन्छ,’ उनले भने ।

कमाइबाट आम्दानी सुनिश्चित गर्ने बाटो देखाउने गरी सरकार अघि बढ्न खोजेको ओलीको भनाइ थियो । कोभिड–१९ का कारण विश्वमा करोडौं मान्छेले रोजगारी गुमाउने उल्लेख गर्दै उनले उपभोग्य वस्तुको उत्पादन बढाउनुपर्ने बताए । ‘दातृराष्ट्रहरू सहयोग दिइरहन सक्ने अवस्थामा नरहन सक्छन्,’ उनले भने, ‘कोरोनालाई निको पार्दै सामाजिक जनजीवन पनि चलाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्र कमजोर नहुने गरी प्याकेज ल्याउन खोजेको उल्लेख गर्दै अशक्त, अपांगता भएका र विपन्नलाई राहत दिन सरकारले नीति बनाइरहेको जानकारी दिए । ‘उद्योगीहरू पहिले बाँच्नुपर्छ । त्यसपछि आर्थिक उन्नति गर्न सकिन्छ,’ उनले भने ।

‘सरकार केही नगरी बस्दैन’

प्रधानमन्त्री ओलीले सरकार कोभिड–१९ ले निराश भएर मात्र नबस्ने उल्लेख गर्दै सम्भव भएसम्म विकास योजनाहरू अघि बढाउने बताए । ‘यो स्थायी सरकार हो,’ उनले भने,‘विकास निर्माण र सामाजिक उत्तरदायित्व सँगसँगै लैजानुपर्छ ।’

५ वर्षका लागि निर्वाचित सरकारले दीर्घकालीन योजना ल्याउनु उचित रहेको ओलीको तर्क थियो । ‘कोरोनाविरुद्ध लड्न सबै शक्ति लागिरहनुको अर्थ अरू काम गर्दैनौं भन्ने होइन,’ उनले भने, ‘सरकार केही नगरी बस्न सक्दैन ।’ प्रधानमन्त्री ओलीले कोभिड–१९ लाई निको पार्दै स्वाभाविका रूपमा अर्थतन्त्रलाई आत्मनिर्भर स्थितिमा पुर्‍याउनुपर्ने बताए । उनले नेपाललाई विकसित राष्ट्र बनाउने कल्पना गरेको बताए । विगत २ वर्षमा तुइन विस्थापनको काम सकेको दाबी गर्दै उनले सरकारले गरेको कामलाई ओझेलमा पार्न खोजिएको टिप्पणी गरे ।

प्रकाशित : जेष्ठ ७, २०७७ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?