नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुग्यो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप २७ मा पुष्टि भएको जनाएको हो । उनीहरुको उमेर १७ देखि ४२ वर्ष रहेको छ । मंगलबार फेला परेका संक्रमितमध्ये २४ पुरुष र ३ महिला रहेका छन् ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा झापाका ९, सुनसरीका १, मोरङको १, सर्लाही २, काठमाडौं ३, भक्तपुरको १, मकवानपुरको १, रामेछापको १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तु ४ र नवलपरासीका १ गरी २७ जनामा संक्रमण देखिएको बताए ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३७ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट ७४ हजार ६ सय ४९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३२ हजार ६ सय ४ परीक्षणहरु छ ।

हालसम्म आइसोलेसनमा देशभरी ४५७ जना रहेका छन् । उपत्यकामा १७ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ४४० जना रहेका छन् । क्‌वारेन्टाइनमा २१ हजार ६ सय २३ जना छन् । मंगलबारसम्म मुलुकका ३८ जिल्लामा संक्रमण फैलिइसकेका छन् ।

प्रकाशित : जेष्ठ ६, २०७७ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्

अस्पताल आउने सबै खाले बिरामीको पहिचान र ‘ट्राभल हिस्ट्री’ लिइने

कान्तिपुर संवाददाता

विराटनगर — अस्पतालमा उपचारका लागि पुग्‍ने सबै बिरामीलाई आफ्नो स्पष्ट पहिचान र ‘ट्राभल हिस्ट्री’लिइने भएको छ ।

बिरामी र बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी दुवैको स्वास्थ्यलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गर्न लागिएको चिकित्सकले बताएका छन् ।

नेपाल चिकित्सक संघ कोसी शाखाले संक्रमणको जोखिमयुक्त र संक्रमण भेटिएको निश्चित क्षेत्रबाट आएका बिरामीहरु को पीसीआर परीक्षण गरी त्यसैअनुसारको स्वास्थ्य सजगता अपनाउनुपर्ने भएकाले यस्तो व्यवस्था गर्न लागिएको शाखा अध्यक्ष डा. फरवार्ड सिलवालले बताए ।

विराटनगरबाट आएका बिरामीको हकमा संक्रमण फैलिएको निश्चित वार्डबाट आएका बिरामी को पीसीआर परीक्षण गर्ने र विराटनगरका अन्य वार्डवाट आएका बिरामीलाई उनीहरुको कन्ट्याक्ट र ट्राभल हिस्ट्री बुझेर पीसीआर परीक्षणपछि उपचार गरिने जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ का बिरामीहरुको उपचारमा प्रत्यक्ष रुपमा संलग्‍न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको व्यवस्थापनसम्बन्धी मार्ग निर्देशन, २०७७ सम्बन्धमा संघले ध्यानाकर्षण भएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कोभिड–१९ संक्रमित बिरामीहरुको उपचारमा प्रत्यक्ष रुपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ७ दिनसम्म उपचारमा संलग्न गराउने अनि त्यसपछि १५ दिन क्वारेन्टाइनमा र त्यसपछिको ७ दिन होम क्वारेन्टाइनमा राख्ने गरी व्यवस्था गर्न संघले माग गरेको छ ।

संघले देशमा संक्रमितको संख्या बढ्दै गरेको अवस्थामा संक्रमण भएर पनि कुनै गम्भीर लक्षण नदेखिएका बिरामीहरुको उपचारमा कम चिकित्सक र स्वास्थ्यकर्मीलाई खटाई भोलिका दिनमा आउने सक्ने जटिल अवस्थाका लागि अन्य स्वास्थ्यकर्मीहरु तयार राख्ने गरी व्यवस्था गर्न सरकारसित माग गरेको छ ।

सरकारी तथा निजी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको मापदण्ड बमोजिमका व्यक्तिगत सुरक्षाका सामग्री प्रदान गर्ने र पीसीआर परीक्षण गराउने गरी व्यवस्था गर्न संघले माग गरेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७७ १६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×