शल्यक्रियाअघि बिरामीको कोरोना परीक्षण अनिवार्य- समाचार - कान्तिपुर समाचार

शल्यक्रियाअघि बिरामीको कोरोना परीक्षण अनिवार्य

काठमाडौंका अधिकांश अस्पतालमा अहिले आकस्मिक शल्यक्रियालाई मात्रै प्राथमिकता दिइएको छ । त्यसमाथि शल्यक्रियामा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीबाट संक्रमण नसरोस् भन्न पीसीआर परीक्षण थालिएको छ ।
फातिमा बानु

काठमाडौँ — कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि शल्यक्रिया गर्नुअघि अस्पतालमा बिरामीको परीक्षण गर्न थालिएको छ । शल्यक्रियामा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीबाट संक्रमण नसरोस् भन्न परीक्षण थालिएको हो ।

राष्ट्रिय ट्रमा सेन्टरमा दैनिक १० देखि १३ वटा शल्यक्रिया हुन्छन् । हातखुट्टा र ढाड भाँचिएका, चोटपटकका बिरामी देशभरिबाटै रिफर भएर यहाँ आइरहेका छन् । धेरैजसो संक्रमण फैलिएको जिल्लाबाटै आउने भएकाले कोरोना परीक्षणबिना कसैको शल्यक्रिया नगरिने अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए । ‘तुरुन्तै गर्नुपर्दाको अवस्थामा पीसीआरको रिपोर्ट कुर्न भ्याइँदैन, त्यस्ता बिरामीको अपरेसन गर्दा विशेष सुरक्षा अपनाएर उपचार गर्छौं,’ उनले भने, ‘नत्र सबैको स्वाब लिएर वीर अस्पतालमा परीक्षण गर्ने गरिएको छ ।’

अस्पतालमा लकडाउनपछि शुक्रबारसम्म ८९ बिरामीको पीसीआर र २ सय ८ जनाको आरडीटीबाट परीक्षण भएको सूचना अधिकारी अर्जुन भेटवालले बताए । शुक्रबार दिउँसोसम्म ५ जनाको स्वाबको रिपोर्ट आउन बाँकी छ । अन्यको भने रिपोर्ट नेगेटिभ आएको छ । एक जनामा आरडीटी पोजिटिभ आएपछि पीसीआर गर्दा संक्रमण नरहेको पुष्टि भएको भेटवालले बताए ।

वीर अस्पतालमा पनि बिरामीको पीसीआर नगरी शल्यक्रिया हुँदैन । शल्यक्रिया गर्नुपर्ने बिरामीको अस्पतालमै कोरोना परीक्षण गरिने निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए । ‘अधिकांश बिरामी तराईकै जिल्लाबाट आइरहेका हुन्छन्,’ उनले भने, ‘परीक्षणबिना शल्यक्रिया गर्न स्वास्थ्यकर्मी पनि त्रसित हुन्छन्, परीक्षणपश्चात् रिपोर्ट नेगेटिभ आएमात्रै शल्यक्रिया गर्ने हो ।’ अस्पतालमा अहिले आकस्मिक शल्यक्रियालाई मात्रै प्राथमिकता दिइएको छ । उनका अनुसार दैनिक ७ वटासम्म शल्यक्रिया हुने गरेको छ । तुरुन्तै गर्नुपर्नेबाहेक अन्यको पीसीआरपश्चात् मात्रै शल्यक्रिया गरिन्छ ।

बाँसबारीस्थित सहिद गंगालाल हृदय रोग उपचार केन्द्रमा पनि यस्तो अभ्यास छ । मुटुका शल्यक्रिया आकस्मिक गर्नुपर्ने भएकाले सबैको पीसीआर गर्न सम्भव नहुने अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए । ‘बिरामी ल्याएको दुई घण्टाभित्र अपरेसन गरिहाल्नुपर्छ । पीसीआर रिपोर्ट कुर्ने हो भने बिरामीको ज्यान तलमाथि पर्छ,’ उनले भने, ‘धेरै शंकास्पद छ या लक्षण छ भने आरडीटीबाट परीक्षण गर्छौं ।’ हालसम्म अस्पतालले १० जनाको आरडीटी र दुई जनाको पीसीआर गरेको उनले जानकारी दिए । जोखिम कम गर्न अहिले अस्पतालमा आकस्मिकबाहेक अन्य शल्यक्रिया भने रोकिएको छ ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि शल्यक्रिया गर्नुअघि बिरामीको स्वाब संकलन गरेर टेकु पठाइन्छ । हालसम्म अस्पतालबाट एक सय ८६ जनाको कोरोना परीक्षण भएकोमा एक जनाको मात्रै रिपोर्ट पोजिटिभ आएको छ । त्यस्तै, १८ जनाको आरडीटी पनि गरिएको अस्पतालका प्रशासन प्रमुख माधव घिमिरेले बताए । ‘आरडीटी किट सकिएपछि सबैको पीसीआर नै गर्न थालिएको हो,’ उनले भने, ‘दैनिक ५ वटासम्म अपरेसन भइरहेको छ ।’ परीक्षणकै क्रममा कपिलवस्तुकी एक बालिकामा कोरोना पुष्टि भएको थियो ।

थापाथलीस्थित प्रसूति गृहमा भने जोखिमपूर्ण शल्यक्रिया रोकिएको छ । शल्यक्रियाबाट गरिने प्रसूतिबाहेक घाँटीभन्दा माथिका अंगका शल्यक्रिया नगरिएको निर्देशक डा. जागेश्वर गौतमले बताए । ‘सुत्केरी गराउन त रोक्न मिलेन, जोखिम पनि छैन,’ उनले भने, ‘जोखिम रोक्न अन्य शल्यक्रिया रोकिएको हो ।’

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा यस्तो अभ्यास सुरु भएकै छैन । चिकित्सकले बारम्बार पीसीआर रिपोर्टबिना शल्यक्रिया नगर्नेभन्दा पनि अस्पतालले यसमा अटेरी गरेको केही चिकित्सकले गुनासो गरे । एक चिकित्सकले भने, ‘अस्पतालमै ल्याब छ, स्वाब संकलन गर्ने ठाउँ बनाउन सकिन्छ, संकलन गरेर टेकु पठाए हामी पनि ढुक्क हुन्थ्यौं । सरकारले प्राथमिकता नदिँदा परीक्षण गर्न नसकिएको अस्पतालका मेडिकल निर्देशक डा.कमल खड्काले बताए । ‘शंकास्पद बिरामीलाई हामीले टेस्ट गर्न टेकु पठाए पनि आवश्यक छैन भनेर फिर्ता गर्ने गरेका छन्,’ उनले भने, ‘विशेष सुरक्षा अपनाएर भए पनि शल्यक्रिया भने रोकेका छैनौं ।’

आरडीटी किट मात्रै दिने हो भने आफैं परीक्षण गरेर ढुक्कसाथ शल्यक्रिया गर्न चाहेको उनी बताउँछन् । जोखिम बढेपछि अस्पतालले अहिले आँखाका आकस्मिकबाहेक अन्य शल्यक्रिया रोकेको छ । लकडाउनअघि सातामा ८० शल्यक्रिया हुने यो अस्पतालमा संक्रमणको जोखिम बढेपछि दिनमा मुस्किलले एउटा शल्यक्रिया हुने गरेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७७ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्

एमसीसीबारे संसद्‌ले निर्णय गर्नुपर्छ : प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सम्झौतालाई लिएर निर्णय लिन संसद्‌लाई आग्रह गरेका छन् । उनले राजनीतिक दलभित्रका विवादसँग संसदको सरोकार नभएकाले संसद्ले सम्पतिको रूपमा स्वीकार गरेको सम्झौताबारे निर्णय गर्न भनेका हुन् । 

सत्तारुढ दल नेकपाभित्र नै सडक र विद्युत् पूर्वाधारमा लगानी गर्ने एमसीसी सम्झौतालाई लिएर विवाद भइरहेको बेला सभामुखको टेबुलमा उक्त सम्झौता पुगेकाले निर्णय गर्न प्रधानमन्त्रीले आग्रह गरेका हुन् ।

'दलहरूबीच छलफलका विषय होला । सांसदहरूबीच मतभिन्नता हुनसक्छन् । ती आफ्नो ठाउँमा हुनसक्छन्,' प्रधानमन्त्री ओलीले भने, 'पास गर्ने भए गर्ने, नगर्ने भए संसदले निर्णय गर्नसक्छ । सम्झौता सभामुखको टेबुलमा आइसकेको छ ।'

एमसीसी सम्झौताबारे दलहरूका बीचमा निर्णय गर्नुपर्ने भए संसदीय दलमा कुरा हुने तर संसदले भने चाँडो निर्णय गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । 'दलहरूका बीचमा छलफल गर्नुछ, केही गर्नुछ भने केही गर्नेछन्, ती दलहरुका कुरा भए । संसदको कुरा भएन । दलहरूका निष्कर्ष निस्किन्छन्, ह्वीप जारी होलान् । फेल गर्ने भए पनि । तर संसदको सम्पत्तिको रूपमा आइसकेको सम्झौताबारे निर्णय संसदले गर्नुपर्छ ।'

विगतका सरकारले अमेरिकासँग सम्झौता गरेको र सरकार अविछिन्न उत्तराधिकारवाला हुने भएकाले अहिले अगाडि बढाइएको प्रधानमन्त्रीको भनाइ थियो । अघिल्ला सरकारले गरेका सम्झौता पछिल्ला सरकारले कार्यान्वयन गर्ने हो भने अन्तर्राष्ट्रिय समुदायमा मुलुकको विश्वसनीयतामाथि प्रश्न उठ्ने उनको भनाइ थियो ।

मुख्यगरी नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा नेकपा सांसद भीम रावलले नै एमसीसीलाई पछाडिको ढोकाबाट छिराउन खोजेको हो कि भनेर शंका व्यक्त गरेका थिए । एमसीसी परियोजना अन्तर्गत निर्माण हुने भनिएका ट्रान्समिसन लाइनलाई सरकारले नीति तथा कार्यक्रममा ल्याएकोमा उनले प्रश्न गरेका थिए । नीति तथा कार्यक्रमको बुँदा नम्बर २११ मा लप्सिफेदी- रातामाटे- हेटौंडा र लप्सिफेदी- रातामाटे र दमौली- बुटवल खण्डमा ४०० केभी ट्रान्समिसन लाइन निर्माण गर्ने उल्लेख छ ।

प्रधानमन्त्रीले एमसीसीलाई अगाडिको ढोकाबाट नै ल्याइने र ती परियोजना नेपाल सरकारले निर्माण गर्ने बताएका छन् । विद्युत उत्पादनका लागि परियोजनाहरू अगाडि बढेको र कतिपय परियोजना निर्माण ट्रान्समिसन लाइन नबनेकाले रोकिएका भन्दै उनले त्यो परियोजना सरकारले जसरी पनि निर्माण गर्ने बताए ।

प्रकाशित : जेष्ठ ६, २०७७ १४:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×