कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अपहरणको आरोप प्रमाणित गरेर देखाउन सांसद श्रेष्ठको चुनौती

काठमाडौँ — सत्तारुढ नेकपाका सांसद कृष्णकुमार श्रेष्ठ (किसान)ले आफूमाथि लाग्दै आएको सांसद अपहरणको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने क्रममा उनले आफूमाथि लागेको सांसद अपहरणको आरोप पुष्टि भए जस्तोसुकै सजाय भोग्‍न तयार भएको बताए ।

अपहरणको आरोप प्रमाणित गरेर देखाउन सांसद श्रेष्ठको चुनौती

'केही हप्ता अगाडि यहाँ सांसद अपहरणका कुराहरू आए । मलागयत माननीय सांसद महेश बस्नेतको चरित्र हत्या गर्ने काम भयो,' श्रेष्ठले चुनौती दिए, 'सम्पूर्ण माननीयज्यूहरूलाई साक्षी राखेर भन्न चाहन्छु, अपहरणको आरोप लगाउनेहरूलाई म चुनौती दिन चाहन्छु- प्रमाणित भयो भने सबै माननीयज्यूहरूको अगाडि झुन्डिएर मर्न तयार छु । के हामीलाई आरोप लगाउने डाक्टरहरू पनि झुन्डिन तयार छन् ?'

वैशाख ८ गते सरकारले अध्यादेश जारी गरेको थियो । पार्टी विभाजन गर्न कानुनी सहजता गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारी गराएका थिए । त्यसपछि डा. बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी विभाजन गर्ने कसरत भएको थियो । त्यसका लागि समाजवादीका असन्तुष्ट सांसदहरूलाई विभाजन गर्न कसरत भएको सार्वजनिक भएको थियो ।

त्यसै क्रममा महोत्तरीमा रहेका सांसद डा. सुरेन्द्रकुमार यादवलाई सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठसँगै पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले रातारात काठमाडौं ल्याएका थिए । पार्टी विभाजन गर्ने योजना भने असफल भएको थियो ।

त्यसपछि भट्टराई र यादवलगायत नेताले सांसद अपहरण गरेको भन्दै श्रेष्ठ, बस्नेत र खनालविरुद्ध जाहेरी दिन प्रहरीकोमा गएका थिए । महानगरीय प्रहरी परिसर टेकुले उनीहरूको जाहेरी लिएको थिएन । त्यसपछि सरकारकी वकिलको कार्यालयमा उनीहरू पुगेका थिए । त्यहाँ पनि सुरुमा जाहेरी बुझिएन । दबाबपछि प्रहरीमा उजुरी दर्ता भएको थियो ।

प्रहरीले आइतबार मात्रै उक्त घटना अपहरण नभएको भन्ने प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सरकारकी वकिलको कार्यालयले उक्त मुद्दा तामेलीमा राख्ने निर्णय गरेको छ ।

उक्त घटनाबारे संसदमा दिनदिनै प्रतिपक्षी दलका सांसदहरूले उठाउँदै आएका छन् । सरकारको आलोचना गर्ने क्रममा उक्त घटनालाई उठाउँदै सरकारमाथि प्रश्न गरिरहेका छन् । त्यसै क्रममा सांसद श्रेष्ठले डा. सुरेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई लक्षित गर्दै चुनौती दिएका हुन् ।

प्रकाशित : जेष्ठ ५, २०७७ १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?