कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दासढुंगामाथि राजनीति : न बिर्सिन्छन् न छानबिन गर्छन्

०५० को दशकमा एमालेले दुर्घटनालाई षड्यन्त्रपूर्ण भन्दै आएको थियो, ०६० यता रहस्यमयी भन्यो र अहिले त्यसलाई जनताले षड्यन्त्रपूर्ण हत्याका रूपमा लिएको व्याख्या गरियो ।
बिनु सुवेदी

काठमाडौँ — हरेक वर्ष जेठ ३ गते जस्तै यसपालि पनि शनिबार बिहानै नेकपा अध्यक्षहरूको वक्तव्य आयो । तीन पृष्ठ लामो वक्तव्यमा २७ वर्षदेखि भनिँदै आएको ‘कर्मकाण्डी’ कुरा दोहोरियो– मदन भण्डारी र जीवराज आश्रित मारिएको रहस्यमय घटनाको अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्ने ।

दासढुंगामाथि राजनीति : न बिर्सिन्छन् न छानबिन गर्छन्

पार्टीका नेताहरू पटकपटक सरकारको नेतृत्वमा पुगे, भण्डारीकै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति छिन् तर यो घटना, छानबिन र दोषीलाई कारबाही गर्ने भन्ने वक्तव्य र भाषणभन्दा माथि उठेको छैन । बरु चितवनको दासढुंगाको यो घटना र मदन भण्डारीको व्यक्तित्व नेकपाका नेताहरूलाई राजनीति गर्ने बलियो हतियार भएको छ ।

भण्डारीले नै नेतृत्व गरेको तत्कालीन एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली (दुई पटक) प्रधानमन्त्री भए । अहिले भण्डारीको प्रखर अनुयायीका रूपमा उदाएका तत्कालीन माओवादीका पुष्पकमल दाहाल दुई पटक प्रधानमन्त्री बने । माओवादीमै रहँदा बाबुराम भट्टराई पनि प्रधानमन्त्री भए । तर कुनै बेलाका चर्चित कम्युनिस्ट नेताको त्यो दुर्घटनाको रहस्य पत्ता लागेन ।

तत्कालीन एमालेका खोटाङ जिल्ला सचिव एवं राजनीतिक विश्लेषक हरि रोकाका अनुसार दासढुंगा दुर्घटनाबारे छानबिन गर्न बनेको ओली नेतृत्वको आयोगको प्रतिवेदन नेतृत्वले लामो समयसम्म सार्वजनिक गरेको थिएन । ‘हामीले ०५१ मा जनकपुर र ०५३ मा पाल्पामा भएको पार्टीको केन्द्रीय कमिटीको विस्तारित बैठकमा प्रतिवेदन किन आएन भनेर सोधेका थियौं,’ रोकाले कान्तिपुरलाई सुनाए, ‘त्यसको जवाफ महासचिव माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य केपी शर्मा ओली दुवैले दिनुभएन ।’

घटना भएको तीन दिनपछि ०५० जेठ ६ गते बनेको ओली आयोगले असार ३ गतेको पार्टी केन्द्रीय कमिटी बैठकमा षड्यन्त्रपूर्ण किसिमले दासढुंगा दुर्घटना गराइएको भन्दै पेस गरेको प्रतिवेदन अहिले सार्वजनिक नै छ । पार्टी पंक्तिभित्र पनि संशय के छ भने यस्तो प्रतिवेदन तयार पारेको १८ महिनापछि ०५१ मंसिरमा बनेको एमाले सरकारको गृहमन्त्री हुँदा ओलीले यो विषयको छानबिन किन अघि बढाएनन् ? ‘हामीले पनि त्यतिबेलै यही प्रश्न सोधेका थियौं तर जवाफ पाएनौं,’ विश्लेषक रोकाले भने ।

घटनाको एकमात्रै विश्वासिलो प्रमाण चालक अमर लामा थिए । घटनाबारे अध्ययन गर्न बनेको ओली र तत्कालीन प्रतिनिधिसभा सदस्य पद्मरत्न तुलाधार संयोजकत्वका दुई छुट्टाछुट्टै समितिले शंकाको सुई उनीतिर पनि घुमाएका थिए भने अरू दुई सरकारी आयोगले लामालाई निर्दाेष भनेका थिए । तर लामाको तत्कालीन माओवादीले हत्या गरेपछि घटना थप रहस्यपूर्ण बन्यो । ‘लामालाई ०६० साउन ११ गते दिउँसो ३ बजे कीर्तिपुर नगरपालिका–११ नयाँबजारमा गोली हानी हत्या गरे,’ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिवेदनमा छ, ‘सोही दिन दिउँसो १ बजे लामालाई माओवादीले कालिकास्थानबाट अपहरण गरी लगेका थिए, अपहरणपछि ट्याक्सीमा लगेका पीडितलाई कीर्तिपुरकै पीपलबोटमा उतारी लखेट्दै दुई सय मिटर पर नयाँबजार पुगेपछि गोली हानेका थिए ।’ त्यतिखेर माओवादीले हत्याको जिम्मा लिँदै बाटो–बाटोमा पर्चा छोडेको थियो ।

लामाको हत्यापछि दासढुंगा दुर्घटना षड्यन्त्रपूर्ण थियो भनेर उठाइँदै आएको सवाल झन् बलियो बन्यो तर जवाफ कमजोर । ०६० को दशक नेपाली राजनीति बढ्तै उतारचढावमय भयो । राजा हटाएर गणतन्त्र ल्याउने अभियानमा नेपालका राजनीतिक दलहरू एकताबद्ध भए । ०६० देखि ०७० सालसम्म आइपुग्दा भण्डारीको पार्टी एमालेले आफू सत्तामा भएकामा घटनाको सत्यतथ्य छानबिन गर्छाैं भनेर विज्ञप्ति निकाल्यो, सत्ताबाहिर हुुँदा छानबिनको माग गर्दै विज्ञप्ति निकाल्यो । स्थायी कमिटी सदस्य अमृतकुमार बोहराको सम्झनामा त्यतिखेरका एमालेजनहरू आफ्नै नेतृत्वमा स्थायी र बलियो सरकार बनेपछि सत्यतथ्य पत्ता लगाउने गरी अनुसन्धान गरेर सत्यतथ्य सार्वजनिक गर्छाैं भन्थे । मदनकी पत्नी विद्यादेवी भण्डारीसमेत संविधान बनेर स्थिर सरकार आएपछि घटनाको सत्यतथ्य पत्ता लगाउनुपर्ने पक्षमै थिइन् । तर मुलुकमा संविधान बनेकै ६ वर्ष भइसक्यो । संविधान बनिसकेपछि राष्ट्रपति भएकी भण्डारीले दोस्रो कार्यकालको दोस्रो वर्ष पार गरिसकेकी छन् । स्थिर सरकारका प्रमुख मदन भण्डारीको विचारमा विश्वास राख्ने ओली नै छन् । भण्डारीलाई महान् मित्र ठान्ने दाहाल र उनै ओलीको संयुक्त नेतृत्वमा नेकपा सञ्चालन भइरहेको छ ।

दासढुंगा दुर्घटनाबारे चालक लामाले मुख नखोलेझैं लामाको हत्याबारे तत्कालीन माओवादी पनि मौनप्राय: देखिन्छ । यो पृष्ठभूमिमा नेकपाका अध्यक्षद्वयले संयुक्त विज्ञप्ति निकालेर भण्डारीको सम्झना गरेका छन् र घटनाबारे सत्यतथ्य बुझ्ने वाचा गरेका छन् । तर विज्ञप्तिको भाषा बदलिएको छ । यसअघि आफैंले षड्यन्त्रपूर्ण र रहस्यमय भन्दै आएका नेताहरूले यसपालि त्यसको जिम्मेवारी जनताको काँधमा पनि छाडिदिएका छन् । ‘यी दुई लोकप्रिय नेताहरूको रहस्यमय दासढुंगा जिप दुर्घटनामा दु:खद निधन भएको आज २७ वर्ष बितेको छ । उक्त घटनाको रहस्य अझै उद्घाटित हुनसकेको छैन,’ अध्यक्षद्वयले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन्, उनीहरूमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिन्छन् ।’

मदनको मानमर्दन

०५० को दशकमा एमालेले उक्त दुर्घटनालाई षड्यन्त्रपूर्ण भन्दै आएको थियो, ०६० यता रहस्यमयी भन्यो र अहिले त्यसलाई जनताले षड्यन्त्र पूर्ण हत्याका रूपमा लिएको व्याख्या गरियो ।

विश्लेषक हरि रोका यत्रो हंगामा चलेको घटनाको गहिरो गरी खोजी नै नभएको बताउँछन् । ‘भण्डारीको षड्यन्त्रपूर्ण हत्या थियो भन्ने कुरा राजनीतिक हतियार थियो कि के थियो भन्न सकिने अवस्था रहेन, नेताहरूले साँच्चिकै गम्भीर रूपमा लिन्थे भने त गहिरिएर छानबिन गर्थे, अहिले त झन् बलियो सरकार छ, राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीकै मातहतमा छ,’ उनले भने । रोकाले बर्सेनि भण्डारीका नाममा विज्ञप्ति निकाल्नुलाई बेकारको राजनीतिक फन्डा भनी टिप्पणी गरे ।

२७ औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा अध्यक्षद्वयले विज्ञप्तिमा मदन–आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गरिरहने दृढ संकल्प गरेका छन् । भण्डारीलाई चिनेका पुराना नेताहरू भने नेकपा नेतृत्वको संकल्पमै ढोंग देख्छन् । स्थायी कमिटी सदस्य बोहराको सम्झनामा भण्डारी एकदमै सरल जीवन रुचाउने र जनतासँग नजिक हुने नेता थिए । ‘उहाँ आफ्नो अडान त राख्नुहुन्थ्यो तर अरूको कुरा पनि सुन्नुहुन्थ्यो, उचित खालको तथ्य र तर्कलाई स्वीकार गर्नुहुन्थ्यो,’ उनले भने, ‘सादा जीवन शैली र वर्गीय भावना थियो, उहाँको नामलाई सिरानी हालेर यहाँसम्म आइसकेपछि व्यवहार पनि भण्डारीको झैं हुनुपर्छ, आदर्शबाट प्रेरित हुनुपर्छ ।’ अहिले जोबाट सबैभन्दा धेरै भण्डारीका नाममा राजनीति भइरहेको छ, उनैबाट उनको आदर्श लत्याइएको बोहराले बताए ।

मदन–आश्रित स्मृति दिवसका अवसर पारेर ०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो । त्यसलाई नेकपा स्वयंले भव्य र ऐतिहासिक पहलकदमी भनेको छ । पार्टी एकता घोषणा पनि मदननगर बल्खुमा रहेको भण्डारीको सालिकलाई साक्षी राखेरै गरिएको थियो । त्यसयता नेताहरूले भण्डारीलाई नसम्झिएको कुनै ठाउँ हुँदैन । प्रत्येक सार्वजनिक कार्यक्रममा नेताहरूको भाषणको एउटा शीर्षक मदन भण्डारी हुने गथ्र्यो । नेकपा केन्द्रीय सदस्य प्रदिप नेपाल भण्डारीका नाममा अब राजनीतिक व्यापार गर्न नहुने बताउँछन् । ‘षड्यन्त्रमूलक ढंगबाट भएको हत्याको हत्यारा प्राय: भेटिँदैन, सरकारले पनि पत्ता लगाउन सक्दैन,’ उनले भने, ‘अब उहाँहरूले मदन भण्डारीका बारे नबोले पनि हुन्छ, विज्ञप्ति निकाल्ने औपचारिकता नदेखाए पनि हुन्छ ।’

नेकपामा कसैको नाम चलेको छ भने त्यो भण्डारीकै हो । त्यही भावनालाई बुझेर होला प्रत्येक असार १४ मा उनको जन्मदिन र जेठ ३ मा निधन भएको दिन पारेर घटनाको सत्यतथ्य छानबिन गर्न माग गरिन्छ, वक्तव्य निकालिन्छ । किन त्यस्तो हुन्छ त ? मदन भण्डारीलाई नजिकबाट नियालेका मानवशास्त्री सुरेश ढकालको जवाफ छ, ‘यो एक किसिमको संस्कारजस्तै भयो । उहाँको हत्या भएकै हो भन्ने पनि प्रमाण छैन, हैन भन्ने पनि प्रमाण छैन । त्यसैले रहस्यपूर्ण भइदियो, नेताहरूले श्राद्धजस्तो बनाइदिए ।’

ढकालको स्मरणमा भण्डारी गल्ती सुधार्ने स्वभावका थिए, विश्व परिस्थिति र आन्तरिक परिस्थिति नियालेर राजनीतिक लेखाजोखा गर्थे । भण्डारीले लगाएको त्यो गुण नेताहरूले तिर्नै नसकेको ठम्याइ ढकालको छ । ‘मदन भण्डारीको विरासत सम्हाल्छौं भन्ने नै फरक बाटोमा गइरहेका छन् । विरासत सम्हाल्दा पुरानो कुरा पनि सम्झिनुपर्छ तर नेपाली चरित्र बित्ने कुरा बितिहाल्यो, भोलिको हेर्नुपर्छ भन्ने खालको छ,’ ढकालले भने, ‘एकातिर उनलाई सम्झिऔं भन्ने पनि छ अर्कातिर भोलिको कुरा सोचौं भन्ने पनि छ । त्यसैले दासढुंगाबारे गम्भीर अध्ययन पनि हुँदैन, घटनाको सत्यता बाहिर ल्याउँछौं भन्न पनि छाड्दैनन् ।’

प्रकाशित : जेष्ठ ४, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?