कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमितको सम्पर्कमा आएका शिक्षण अस्पतालका अधिकांश चिकित्सक 'सेल्फ क्वारेन्टाइन'मा, डेरामा बस्नेलाई तनाव

फातिमा बानु

काठमाडौँ — महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा काम गरेर डेरामा बस्ने अधिकांश स्वास्थ्यकर्मीलाई हिजोआज ड्युटी सकिएकी तनाव हुन्छ । त्यहाँ उपचाररत ६ वर्षिया बालिकामा बिहीबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि घरबेटीले नआइदिए हुन्थ्यो जस्तो व्यवहार गर्न थालेपछि उनीहरुलाई दिनभरीको खटन पछिको तनावले धेरै धपेडी थपिदिएको छ ।

संक्रमितको सम्पर्कमा आएका शिक्षण अस्पतालका अधिकांश चिकित्सक 'सेल्फ क्वारेन्टाइन'मा, डेरामा बस्नेलाई तनाव

‘घर हुनेहरु त घर जान्छन्, केही न केही व्यवस्था होला, ठिकै हो,’ एक चिकित्सकले भने, ‘हामी डेरामा बस्नेलाई त अस्पतालको काम थाल खाउँ न भात खाउँ जस्तो भएको छ ।’

संक्रमण पुष्टि भएकी बालिकाको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी गरि ३९ जना क्वारेन्टाइनमा राख्नुपर्ने भनिएपनि उनीहरुमध्ये अधिकांश घरमै सेल्फ क्वारेन्टाइनमा बसेका छन् । तर, डेरामा बस्नेहरुलाई भने अस्पतालले यथोचित व्यवस्था नगर्दा आपत नै परेको छ ।

प्रत्यक्ष या अप्रत्यक्ष रुपमा संक्रमितको सम्पर्कमा आएका चिकित्सक तथा स्वास्थ्यकर्मी अस्पतालमा आइसोलेट भएर बस्ने ठाउँको अभावका कारण भएपछि ३ जना बाहेक सबै जोखिम मोलेर आफ्नै घरमा बसिरहेका छन् । अस्पतालमा क्वारेन्टाइनमा बसिरहेकाहरुले पनि व्यवस्थित ठाउँ नभएको गुनासो गरेका छन् । छुट्टाछुट्टै बस्ने व्यवस्था नभएपछि दुई जना एउटै कोठामा बसिरहेको क्वारेन्टाइनमा बसेका चिकित्सकले बताए । उनीहरुलाई खाना, पानी लगायतको समस्या रहेको जानकारी दिए । पहिलो दिन त खाना समेत नपाएको चिकित्सकले सुनाए ।

‘अस्पतालले खानाको व्यवस्था नगरेपछि हामीले साथीहरुसँग सहयोग मागेर क्यान्टिनबाट खाना मागायौं,’ चिकित्सकले भने, ‘कोठा वरिपरी बस्ने अरुले पनि यहाँ नबसीदिए हुन्थ्यो जस्तो गरे ।’ अस्पतालले कोभिड–१९ कै लागि भनेर छुट्टाएको भवनमा क्वारेन्टाइनका लागि कोठा नभएपछि उनीहरु अस्पतालको खाली कोठामा बसिरहेका छन् ।

घरबेटी र कोठा वरीपरीका समुदायले विभेद गर्लान् भन्ने डरका कारण अव्यवस्थित भएपनि अस्पतालमै बस्न बाध्य भएको उनीहरुले बताए । ‘कोठामा बहिनीहरु पनि छन् । आइसोलेट नै भएर बस्न पनि सकिँदैन,’ क्वारेन्टाइनमा बसेका अर्का चिकित्सकले भने, ‘जस्तो भएपनि यही बस्नुपर्‍यो नि ।’
अस्पतालले क्वारेन्टाइनको नाममा एकै कोठामा चार जना बस्नु भनेपछि बालिकाको उपचारमा प्रत्यक्ष खटिएका एक चिकित्सकले घर नै फर्किने निर्णय गरेका बताए । परिवारमा दिर्घरोगी रहेकोले घर नै फर्किए पनि उनको मनलाई शान्ति भने मिलेको छैन । परिवारलाई संक्रमण सारिन्छ कि भन्ने चिन्ताले उनलाई शिथिल बनाएको छ ।

‘हामी आवासीय चिकित्सक भएपछि अस्पतालले हामीलाई पहिलेदेखि होस्टेलको व्यवस्था गर्नुपर्ने हो,’ उनले भने, ‘होस्टेल भएको भए आज क्वारेन्टाइनमा बस्न पनि समस्या हुन्थेन । जोखिम मोलेर घर फर्किनुपर्ने थिएन ।’

संक्रमितको सम्पर्कमा आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने भएपनि अस्पताल प्रशासनले यसप्रति चासो नदिएकोमा उनले असन्तुष्टि व्यक्त गरे । ‘मसँग अरु चिकित्सक साथीहरु पनि कोठामासँगै बस्छन् । ठाउँ अभाव हुँदा हामी मिसिएरै बस्नुपर्ने अवस्था छ,’ उनले भने, ‘घरबेटीले पनि अस्पतालमा बसे हुन्थ्यो भनेर सोधिरहन्छन् ।’

वरपरका मानिसहरु उनलाई देखेर त्रसित भएको देख्दा ग्लानी महसुस हुने बताए । अस्पतालमै क्वारेन्टाइनमा बसेर उनी ढुक्क हुन चाहन्छन् तर, अस्पतालले भने यस्ता समस्या वास्ता गरेको छैन ।
नेपालमा कोरोनाको संक्रमण फैलिएलगत्तै अस्पतालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि व्यवस्थित क्वारेन्टाइन बनाउनुपर्ने माग राख्दै आएपनि चासो नदिएको आवासिय चिकित्सक संघका अध्यक्ष डा. अनुप उप्रेतीले बताए ।

‘आवासिय चिकित्सकलाई होस्टल चाहियो भनेर वर्षौंदेखि माग गरेको हो,’ उनले भने, ‘भोली अस्पतालमा अझै संक्रमित भेटिएमा धेरै चिकित्सक क्वारेन्टाइनमा राख्नुपरे के होला ?’ क्वारेन्टाइनको व्यवस्था नहुँदा चिकित्सक कहाँ जाने, के खाने भन्ने अन्योलमा परेको उनले बताए ।

अस्पतालले पूर्व तयारी नगर्दा महामारीको समयमा चिकित्सकहरु संकटमा परेको उनको भनाइ छ । ‘घर हुने त जान्छन्,’ उनले भने, ‘कोठामा बस्ने चिकित्सकलाई घरबेटीले रोग सर्छ भनेर मानसिक तनाव दिइरहेका छन् । उनीहरु कहाँ जाने ?चिकित्सकलाई अस्पतालमा बस्ने व्यवस्था छैन, कोठामा राख्दैनन् ।’

अस्पतालसँग यो समस्या बारे छलफल गर्दा खोक्रो आश्वासन बाहेक केही नपाएको उनले गुनासो गरे । यस्तो व्यवहारले गर्दा चिकित्सकमा काम गर्ने उत्साह नै छैन ।

क्वारेन्टाइनमा बसेका सबै आवासीय चिकित्सकको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आइसकेको छ । १४ दिनभित्र रोगका लक्षण विकास हुनसक्छन् भनेर उनीहरु दुई साता क्वारेन्टाइनमै बस्नुपर्ने बाध्यता छ ।

चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनका लागि भवनको अभाव भएको अस्पतालमा निर्देशक डा. प्रेम खड्गाले स्वाीकारे । ठाउँको व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयसँग पहल गरिरहेको उनले दाबी गरे । ‘हामी मन्त्रालयसँग छलफलमा छौं,’ उनले भने ।

प्रकाशित : जेष्ठ ३, २०७७ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?