कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उदयपुरमा भुल्केबाहिर पहिलो पटक कोरोना संक्रमण

भुल्केबाट नियमित रुपमा रिपोर्टिङ गरिरहेका पत्रकारलाई संक्रमण
डिल्लीराम खतिवडा

उदयपुर — त्रियुगा नगरपालिका–३ भुल्के बाहिर गाईघाट बजारमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । गाईघाट बजार नजिकै बस्दै आएका २५ वर्षीय युवकमा शुक्रबार कोरोना पोजिटिभ पुष्टि भएको हो । उनी पेसाले पत्रकार हुन् ।

उदयपुरमा भुल्केबाहिर पहिलो पटक कोरोना संक्रमण

एक जना पत्रकारसहित उदययपुरमा कोरोना संक्रमितको सख्या ३३ पुगेको छ । त्यसमध्ये १५ जना उपचारपछि डिस्र्चाज भइसकेका छन । पहिलो पटक वैशाख ५ गते भुल्केको नूरी मस्जिदमा बस्दै आएका १२ जना जमातीमा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि क्रमश: थपिँदै अहिलेसम्म ३३ पुगेको हो ।

ती पत्रकार गाईघाटमा बसेर कोरोना प्रभावित भुल्के क्षेत्रमा नियमित रिपोर्टिङ गर्दै आएको पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खडकाले बताए । ‘टेलिभिजनमा रिपोर्टिङ गर्ने उनी भुल्केमा कोरोना सक्रमण देखिएयता नियमित रुपमा समाचार संकलन गरिरहेका थिए,’ अध्यक्ष खडकाले भने, ‘त्यस क्षेत्रको गतिविधिको रिपोर्टिङकै क्रममा उनी संक्रमित भएको हुनुपर्छ ।’

उदयपुरकै ताप्ली गाँउपालिका–५ स्थायी घर भएका संक्रमित पत्रकार गाईघाट बजारमै बसेर पत्रकारिता गर्दै आएका थिए । उनी लकडाउन सुरु हुनुभन्दा धेरै अगाडिदेखि नै गाईघाटमै रहेको पत्रकार महासंघले जनाएको छ ।

भुल्के क्षेत्रमा रिपोर्टिङ गर्ने २६ पत्रकारको वैशाख ३१ गते पसीीआर परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयले थ्रोट स्वाबको नमुना संकलन गरेको थियो । शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित प्रयोगशालाले दिएको रिपोर्टमा एक जनामा मात्रै कोरोना पोजिटिभ देखिएको स्वाथ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताए । ‘यो नतिजा पोजिटिभ आएसँगै भुल्केबाहिर पहिलो पटक कोरोना संक्रमित देखिएको हो,’ सुवेदीले भने । संक्रमित पत्रकारलाई शनिबार उपचारका लागि विराटनगरस्थित कोसी अस्पतालमा रहेको कोभिड–१९ उपचार केन्द्रमा पठाइएको उनले बताए ।

प्रकाशित : जेष्ठ ३, २०७७ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?