कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द्रागिरि नगरपालिका ‘सिल’

उपत्यका बाहिरबाट आएका चार जनामा कोरोना पोजेटिभ देखिएपछि नगरपालिकाले आफ्नो क्षेत्रलाई सिल गर्ने निर्णय गरेको हो ।
सीमा तामाङ

काठमाडौँ — चन्द्रागिरी नगरपालिकामा मात्रै कोरोना संक्रमित चार जना भएपछि काठमाडौं उपत्यका पनि उच्च जोखिममा परेको छ । उपत्यकामा वैशाख ३० गतेदेखि लगातार कोरोना संक्रमित भेटिन थालेका हुन् । उपत्यकामा बाहिर जिल्लाबाट आएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको हो ।

चन्द्रागिरि नगरपालिका ‘सिल’

चन्द्रागिरीमा बिहीबार थप तीन जनामा कोरोना देखिएको हो । उपत्यकामा देखिएको सबै संक्रमित उपत्यका बाहिरबाट आएका हुन् ।

नगरभित्र कोरोना संक्रमित बढ्न थालेपछि नगरपालिकाले शनिबार १२ बजेदेखि लागु हुने गरि ‘सिल’ गर्ने जनाएको छ । नगपालिकामा शुक्रबार बसेको जनप्रतिनिधि र सुरक्षाकर्मीको बैठकले बाहिर हिँड्‍डुल गर्न र स्थानीय सवारी साधन चलाउन नपाउने निर्णय गरेको छ ।

थानकोट–कंलकी मुल सडक मात्रै हुँदै सवारी साधन आवतजावत गर्न पाइने भएपनि नगर क्षेत्राधिकारभित्र रोक्ने, यात्रु चढाउन/ओराल्न नपाइने नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताए । सिल जेठ ७ गते बिहान ६ बजे सम्म लागु हुने र यो अवधिभित्र औषधि पसल बाहेक अन्य पसल बन्द हुने उनले बताए । यो अवधिमा अति आवश्यक परेको खण्डमा जनप्रतिनिधि र सुरक्षाकर्मीका सवारीसाधन मात्र सञ्चालन गर्न पाइने उनले बताए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जिवन आचार्यले उपत्यकामा कोरोना भाइरसको जोखिम बढेपनि बिहान बेलुका तरकारी र अन्य सामान किनमेलको नाममा भीडभाड कायम रहेकोले आफैं सचेत भएर सुरक्षित रहन आग्रह गरे । ‘साँझ र बिहान सुरक्षाकर्मी नभएको भन्दै गल्ली भित्र हिँड्‍डुल गर्ने, खेल्ने गतिविधिलाई रोक्नु पर्छ,’ उनले भने, 'यसलाई रोक्न सम्बन्धित स्थानीय तह र वडाध्यक्षहरुले निगरानी गर्नु पर्छ ।’

मंगलबार (वैशाख ३० गते) कोरोना संक्रमण पुष्टि भएकी चन्द्रागिरीस्थित वडा नम्बर ९ मच्छेगाउँकी ३३ वर्षिया महिला बैशाख २९ गते कञ्‍चनपुरको महेन्द्रनगरबाट सशस्त्र प्रहरीकै भ्यानमा आएकी हुन् । उनका श्रीमान् सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा कार्यरत छन् । दुई बच्चासहित फर्केकी आमालाई पोजेटिभ देखिएपछि उक्त क्षेत्रका १० वटा घरलाई सिल गरिएको वडाध्यक्ष देवेन्द्र महर्जनले बताए । एक सातापछि बच्चा र श्रीमानको परिक्षण गर्ने उनले बताए । उनी अहिले टेकु अस्पतालमा उपचाररत छिन् ।

बिहीबार (जेठ १ गते) कोरोना पुष्टि भएको ३२ वर्षिय पुरुष सशस्त्र प्रहरी बलको अस्पताल नेपालगञ्जमा कार्यरत सुरक्षाकर्मी हुन् । नेपालगञ्जमा चिकित्सक पुर्‍याउन गएको सवारी साधनमा संक्रमित सुरक्षाकर्मी र वडा नम्बर ९ की संक्रमित महिला काठमाडौं आएकी हुन् । संक्रमित पुरुषलाई आउनेबितिक्कै बलम्बु अस्पतालमै क्वारेन्टाइनमा राखिएको र कोरोना परिक्षण गर्दा पोजिटिभ देखिएको बलम्बु अस्पतालका चिकित्सक महेन्द्रराज श्रेष्ठले बताए । ‘नेपालगञ्जमा रहेको अस्पताललाई पनि सिल गरी कोरोना परिक्षण सुरु गरिएको छ,’ उनले भने ।

चन्द्रागिरिमा शुक्रबार (जेठ २ गते) दुई जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएको नगरपालिकाका वडा नम्बर १ दहचोकका ७ वर्षीय बालक हुन् । दोलखा स्थायी घर भएका सक्रंमित बालक र उनको आमा चैत्र ६ गते बारा(माइत) गएका थिए । दुवैजना वैशाख ६ गते एम्बुलेन्समा बाराबाट काठमाडौं आएका वडाध्यक्ष राजेन्द्र केसीले बताए ।

‘बालकलाई पाटन अस्पतालमा लगिएको छ, आमा पनि सँगै छिन्,’ उनले भने, ‘बाबुलाई भने घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौं ।’ उनीहरुकै बिरामी आफन्तलाई काठमाडौं ल्याउन भनेपछि उक्त एम्बुलेन्समा आएको र आफन्तहरु गाउँ फर्किसकेको उनले बताए । वडालाई जेठ १ गते मात्र बाहिरबाट आएको सूचना पाएपछि स्वाब परीक्षण गर्दा छोराको रिपोर्ट पोजेटिभ देखिएको हो ।

शुक्रबार नै पुष्टि भएको अर्का कोरोना संक्रमित स्थायी घर धादिङ भई चन्द्रागिरिस्थित सतुगंल बस्ने ३० वर्षिया महिला रहेकी छिन् । यी महिला लकडाउन अवधिमा नै घर गई वैशाख २७ गते काठमाडौं फर्केको प्रवक्ता हरिभक्त महर्जनले बताए । शुक्रबार पुष्टि भएका कोरोना संक्रमित दुवै पाटन अस्पतालमा उपचाररत छन् ।

प्रकाशित : जेष्ठ २, २०७७ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?