कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामारीका बेला सगरमाथामा चीनको सक्रियता 

लक्ष्मी लम्साल

बेइजिङ — विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला चीनले उत्तरी मोहडाबाट आरोहणको ६०औं वार्षिकोत्सवका अवसरमा सर्वोच्च शिखर सगरमाथा लक्षित गतिविधिहरूलाई निरन्तरता दिइरहेको छ। सन् १९६० को मे २५ मा पहिलोपटक तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण भएको थियो।

महामारीका बेला सगरमाथामा चीनको सक्रियता 

महामारीका कारण यस वसन्त ऋतुको पर्वतारोहण गतिविधि रोकेको चीनले सगरमाथामा फाइभ-जी नेटवर्क जडान, उचाइ मापन, फोहोर संकलन, सगरमाथा केन्द्रित अनुसन्धानलगायतका गतिविधिहरूलाई यतिबेला तीव्रता दिइरहेको हो।

चाइना मोबाइल र हुवावे कम्पनीले मिलेर सगरमाथाको ६ हजार ५ सय मिटरको उचाइमा पहिलो पटक फाइभ-जी नेटवर्क स्थापना गरेका छन्। चाइना डेलीका अनुसार अप्रिल ३० तारिखदेखि सगरमाथामा गिगाबिट अप्टिकल फाइबर नेटवर्क स्थापित भएपछि अब चाइना मोबाइलले आफ्नो डुअल गिगाबिट नेटवर्क सञ्‍चालन गर्न सकेको हुवावे कम्पनीले पुष्टि गरेको छ।

फाइभ-जी नेटवर्ट सञ्‍चालनमा ल्याएलगत्तै चीनले सगरमाथाको उचाइ पुनः मापनको प्रक्रिया अघि बढेको जानकारी गराएको थियो। गत मे ९ तारिखमा ३० जना चिनियाँ सर्वेक्षण टोली हिमपहिरोको खतरा देखेपछि ७ हजार २८ मिटरको उचाइबाट झरेर ६ हजार ५ सय मिटरको उचाइमा फर्किएको थियो। खेलकुद प्रशासनअन्तर्गत पर्वतारोहण प्रशासन केन्द्रका उपाध्यक्ष वाङ युङफङले बताएअनुसार ६ जना पथप्रदर्शक र २७ जना उपकरण बोकेका भरियासहित टोली गत शुक्रबार शिखरतर्फ लम्किए पनि हिम चट्टान र पहिरोको खतराका कारण फर्किएको थियो। उनले भने, ‘फर्किएको टोली आराम गर्दैछ भने मापन उपकरणको प्रयोग गर्दै आरोहणको अभ्यास पनि गर्दैछ।’

नेपाल र चीनको सीमामा पर्ने सगरमाथाको तेश्रो पटक उचाइ मापन गर्न लागेको चीनले खतरा कम हुँदै गएपछि मापनको कामलाई अघि बढाउने बताएको छ। सर्वेक्षण टोलीका क्याप्टेन छिनोरले भने, ‘परिस्थिति विचार गर्दै मापन प्रक्रिया अघि बढाइनेछ।’

चीनले सन् १९४९ मा जनगणतन्त्र स्थापनापछि १९७५ र २००५ मा सगरमाथाको उचाइ मापन गरेको थियो।

सगरमाथाको उचाइ नाप्न व्यस्त चीनले फोहोर संकलनको कामलाई पनि जारी राखेको छ। सोमबार तिब्बत स्वायत्त प्रदेशको क्षेत्रीय खेलकुद ब्युरोले जनाएअनुसार सगरमाथालगायत ३ वटा हिमालबाट तीन सातामा ६ मेट्रिक टन फोहोर संकलन गरिएको छ। सगरमाथाको ५ हजार २ सय मिटरको उपचाइमा वार्षिक वसन्त ऋतु सफाइ अभियानअन्तर्गत यो फोहोर संकलनको काम गरिएको थियो। कोभिड-१९ का कारण वसन्त ऋतुको आरोहण रोकिए पनि वार्षिक सरसफाइ कार्यक्रम जारी राखिएको जिम्मेवार अधिकारीले बताए। ८ हजार मिटर अग्ला चिनियाँ भाषामा छोमोलाङ्माका साथै शिशापाङ्मा र चो यू हिमालबाट फोहोर संकलन गरिएको थियो। ‘अप्रिल २० देखि फोहोर संकलनको काम सुरू गरिएको थियो, तिब्बती खेल ब्युरोका प्रमुख ङिमा छिरिङले भने, ‘आगामी जुनसम्ममा सरसफाइको काम सकिने अपेक्षा छ।’

सगरमाथा आधारित अनुसन्धानलाई पनि चीनले महत्व दिइरहेको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका वनस्पतिहरू ट्री-लाइन पार गरेर उकालोमा चढ्दै गरेको विषय जर्नल अफ बायोजिओग्राफीमा छापिएको थियो जसलाई चिनियाँ सञ्‍चारमाध्यमहरूले अंग्रेजी र चिनियाँ लिपिमा प्रकाशित गरेका थिए। यो विषय सगरमाथा केन्द्रित नभए पनि हिमाली क्षेत्रप्रतिको चिनियाँ आकर्षणसँग सम्बन्धित छ।

चीनले सगरमाथाको ‘ग्ल्यामर’ बढाउनका लागि त्यहाँका गतिविधिहरूलाई सञ्‍चारमाध्यमहरूमा प्राथमिकता दिइरहेको छ। चाइना मोबाइलको क्लाउड भर्चुअल रियालिटी (भीआर) प्लेटफर्ममार्फत् सगरमाथाको दृश्य ३६० डिग्री लाइभ स्ट्रिमिङ पनि भइरहेको छ। दक्षिणपश्चिम चीनको तिब्बतमा रहेको सगरमाथामा देखिएको पूर्ण चन्द्रमाको दृश्य लगायत अनेक फोटोहरू चिनियाँ सञ्‍चारमाध्यमहरूमा छाएको देखिन्छ।

प्रकाशित : जेष्ठ १, २०७७ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?