शिक्षण अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना पोजिटिभ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षण अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना पोजिटिभ

स्वरूप आचार्य

काठमाडौँ — बिहीबार बिहान कोरोना पोजिटिभ देखिएकी कपिलवस्तुकी ६ वर्षीया बालिका त्रिवि शिक्षण अस्पतालको न्यूरो सर्जरी वार्डमा भर्ना रहेको खुलेको छ । उनलाई 'रेस्पिरेटोरी प्यापिलोम्याटोसिस' (स्वासनलीमा मासु पलाएको) देखिएका कारण शल्यक्रिया गर्नु अगाडि सतर्कताका लागि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ रहेको पाइएको हो ।

शिक्षण अस्पतालमा शल्यक्रिया गर्नका लागि भर्ना गरिएकी बालिकामा कोरोना पोजिटिभ देखिएपछि अहिले त्यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, अन्य बिरामी तथा तिनका कुरुवाहरु त्रसित भएका छन् ।

त्रिवि अस्पतालस्थित उच्च स्रोतले जानकारी दिएअनुसार उनलाई ईएनटी (नाक कान घाँटी) विभाग को ओपीडीमा जाँच गरिएपछि शल्यक्रियाका लागि भर्ना गरिएको थियो । हाल ईएनटी विभागको भवनलाई कोरोना संक्रमितको उपचारका लागि भनेर तयार पारिएको कारण उनलाई न्यूरो सर्जरी वार्डमा भर्ना गरेर राखिएको थियो ।

शिक्षण अस्पताल स्रोतका अनुसार अहिले उनको कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि टोली अस्पताल पुग्दै छ । त्यसपछि मात्रै कसरी अस्पताल सिल गर्ने वा के गर्ने भन्ने टुंगो लाग्छ ।थप विवरण आउन बाँकी ।

प्रकाशित : जेष्ठ १, २०७७ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यका छिर्नेको मात्र परीक्षण !

 अस्पताल पुगेर फर्कन्छन् धेरै, चिकित्सक भन्छन्- ‘आउनेजति सबैको परीक्षण गरेर साध्य छैन’
फातिमा बानु

काठमाडौँ — शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपत्यकाबाहिरबाट आउने व्यक्तिको पनि कोभिड–१९ परीक्षण गर्न थालिएको छ । कोरोना संक्रमण फैलिएको जिल्लाबाट आउने व्यक्तिहरू शंकास्पद हुने भन्दै अस्पतालले अनिवार्य परीक्षण थालेको हो ।

आइतबारदेखि काठमाडौं बाहिरबाट आउनेको भीड अस्पतालमा बढ्न थालेको छ । परीक्षण गरिदिनु भन्दै बुधबार ५ सय जना अस्पताल आएको निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए । तीमध्ये ३ सय ५० जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको उनले बताए ।

‘आउनेजति सबैको परीक्षण गरेर त साध्य छैन,’ उनले भने, ‘तराईका जिल्लाबाट उपत्यका छिर्नेहरूको चाहिँ अनिवार्य परीक्षण हुन्छ । त्यसबाहेक संक्रमण फैलिएको जिल्लाको स्थानीय नभए पनि संक्रमण फैलिएको जिल्ला हुँदै आउनेको पनि बुधबारदेखि परीक्षण थालेका छौं ।’ यसअघि अस्पतालले विदेशबाट फर्किएका र कोरोनाको लक्षण देखिएका व्यक्तिको मात्रै स्वाब संकलन गरेर परीक्षण गर्न पठाउने गरेको थियो । बुधबारदेखि संक्रमण फैलिएको जिल्लालाई ट्राभल हिस्ट्री मान्ने गरेको हो ।

पछिल्लो समय जिल्लाबाट राजधानी काठमाडौं छिर्नेहरू अन्य रोगको उपचार गर्न, शल्यक्रिया गर्न या कुनै कामले उपत्यका छिरेको बताउँछन् । अधिकांश व्यक्ति वीरगन्ज, जनकपुर, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेबाट परीक्षण गरिदिनु भन्दै आइरहेको अस्पतालले जनाएको छ । संक्रमण नफैलिएको जिल्लाबाट आउनेलाई भने कोरोनाको लक्षण भएमात्रै परीक्षण गर्ने गरिएको डा. राजभण्डारीले बताए । लक्षण नभएकालाई ओपीडी कार्डमा ‘कोरोना टेस्ट गर्न आवश्यक छैन’ भनेर लेखिदिने गरिएको छ । अस्पतालमा आउने अधिकांश व्यक्ति अहिले घरबेटी, समुदाय र वडा कार्यालयको दबाबमा आउने गरेका छन् । त्यस्तै बैंक, सरकारी कार्यालय र अन्य क्षेत्रमा काम गर्ने व्यक्तिहरू पनि आइरहेका छन् । काम सुरु गर्नुअघि परीक्षण गर्नैपर्ने कार्यालयको दबाबका कारण उनीहरू टेकु आइरहेका हुन् ।

त्यस्ता व्यक्तिलाई अस्पतालले घरमै आइसोलेसनमा बस्न र मास्क लगाएर हिँड्न सल्लाह दिने गरेको छ । लक्षण नभएका बिरामीले पनि परीक्षण गरिदिनैपर्ने भनेर झगडा गर्ने, थर्काउने गरेको आकस्मिक कक्षमा खटिएका एक चिकित्सकले बताए । ‘लकडाउन तोडेर काठमाडौं आउने उनीहरू नै, अनावश्यक टेस्ट गरिदिनुपर्‍यो भनेर हामीलाई गाली गर्ने पनि उनीहरू नै,’ उनले भने ।

उक्त अस्पतालमा अहिले कोभिड–१९ का ३ जना बिरामी भर्ना छन् । तीमध्ये २ जना मंगलबार बेलुका भर्ना भएका हुन् भने अर्का एक जना पहिलेदेखि भर्ना थिए । अस्पतालको आइसोलेसन वार्डमा उनीहरूको उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य सामान्य रहेको डा. राजभण्डारीले बताए । त्यस्तै, संक्रमण शंकास्पद ८ जना भर्ना भएका छन् । उनीहरूको रिपोर्ट आएको छैन । कोरोनाबाट गम्भीर बिरामीका लागि अस्पतालमा २० शय्याको आईसीयू कक्ष निर्माण लगभग पूरा भएको उनले बताए ।

प्रकाशित : जेष्ठ १, २०७७ ०९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×