कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमावर्ती भारतमा संक्रमण बढ्दा नेपालमा चिन्ता

विहारमा संक्रमितको संख्या ७ सय ६७ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ ।
जितेन्द्र साह

विराटनगर — भारतको विहारसँग मोरङको करिब ६३ किलोमिटर सीमा जोडिएको छ । विहारका ३८ जिल्लामध्ये ३७ वटामा कोभिड–१९ को संक्रमण फैलिइसकेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार दिउँसोसम्म विहारमा ७ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ । 

सीमावर्ती भारतमा संक्रमण बढ्दा नेपालमा चिन्ता

झारखण्डमा १ सय ६४ संक्रमित र ३ को मृत्यु भएको छ । उत्तर प्रदेशमा ३ हजार ५ सय ८० संक्रमित र ९० को मृत्यु भएको छ । पश्चिम बंगालमा २ हजार ६३ संक्रमित र १ सय ९० को मृत्यु भएको छ ।

भारतका ती राज्यहरुमा मुख्यतः दिल्ली, मुम्बई र राजस्थानबाट फर्केकाबाट संक्रमण फैलिइरहेको स्थानीय प्रशासनले बताएका छन् ।

विहारको अन्य सहरमा संक्रमण बढिरहेको हुनाले ग्रीन जोनमा परे पनि विराटनगर सीमावर्ती जोगबनी बजार बन्द रहेको व्यवसायी सञ्जय अग्रवालले बताए । २२ मार्च (९ चैत ) देखि बन्द उक्त बजार चाँडै खुल्ने सम्भावना देखिन्न । जोगबनीसँग सोझो सम्पर्क भएको फारबिसगन्ज, किसनगन्ज, बहादुरगन्ज, कटिहार, मधेपुरा, सुपौल, पुर्णिया, सीतामढी, भागलपुर र पटनामा संक्रमित देखिने क्रम जारी रहेकाले विहार प्रशासनले पूर्ण लकडाउन गरेको उनले बताए । राज्य सरकारले विहारमा २ हजार ४ सय समूहलाई मास्क बनाउने जिम्मेवारी दिएको छ ।

भारतमा १७ मे (४ जेठ) सम्मका लकडाउन छ । ‘स्थिति हेर्दा ४ जेठपछि पनि बजार खुल्छ कि खुल्दैन भन्न सकिन्न, खुले पनि नेपाल सीमा बन्द रहने हुनाले आवागमन हुन पाउँदैन,’ व्यवसायी अग्रवालले भने, ‘जोगबनीको व्यापार नेपालीले गर्दा चलेको हुनाले सीमाबन्दी नहटेसम्म बजार खोल्नुको औचित्य छैन ।’

नेपाल सरकारले ५ जेठसम्म लकडाउन, १८ जेठसम्म सीमाबन्दी र हवाई उडानमा रोक लगाएको छ । सीमावर्ती भारतीय राज्यमा संक्रमण फैलिइरहेकाले वारि सीमावर्ती नेपालमा थप चिन्ता बढेको छ ।

सीमावर्ती रानीस्थित विराटनगर आँखा अस्पतालमा सेवाग्राहीको ट्राभल हिस्ट्री बुझेर मात्र पुर्जी काट्न थालिएको छ । लकडाउन र सीमाबन्दी अगाडिसम्म दिनहुँ उक्त अस्पतालमा आइपुग्ने औसत १ हजार २ सय बिरामीमध्ये ५५ प्रतिशत भारतका यिनै राज्यहरुका हुन्थे । यसमा पश्चिम बंगाल, विहार र उत्तर प्रदेशका सबैभन्दा बढी हुने गरेको अस्पतालले जनाएको छ ।

सीमाबन्दी हटेपछि पनि उपचारका लागि नेपाल आउने भारतका बिरामी एवं कुरुवाको व्यवस्थापन चुनौतीपूर्ण हुने अस्पतालका प्रबन्धक कुमार पृथु बताउँछन् । लकडाउनपछि उक्त अस्पतालमा भारतीय बिरामी आएका छैनन् । दैनिक औसत सय जना नेपाली बिरामी मात्र आइरहेको उनले बताए ।

‘सीमा क्षेत्र भएकाले सबैभन्दा पहिले सेवाग्राहीको ज्वरो नापिन्छ, ह्यान्डवासको पर्याप्त प्रबन्ध छ, हातखुट्टा धुन लगाउँछौं, सेनिटाइजर दिन्छौं,’ पृथुले भने, ‘ट्राभल हिस्ट्रीबाट ढुक्क भएपछि मात्र पुर्जी कटाउन लगाउँछौं ।’

सीमा क्षेत्रको गतिविधिमा निगरानी राख्ने सामाजिक अभियन्ता सञ्जीव चापागाईंले मुख्य नाकामा सुरक्षा व्यवस्था कडा रहेको बताए । ‘अत्यावश्यक औषधि किन्न जाँदा पनि जोगबनी सीमावारि बसेर भारतीय मित्रलाई फोन गर्नुपर्छ, सीमा सुरक्षाकर्मीको सहयोगले हामीसम्म आइपुग्छ,’ उनले भने । खुला सीमा भएकाले सुरक्षाकर्मीसँगै दुवै देशका नागरिक समाज पनि सतर्क रहन जरुरी रहेको चापागाईंले बताए । ‘सीमा निकट दुवैतिर बस्नेलाई अत्यावश्यक वस्तु एवं सेवाका लागि वारिपारिकै भर हुन्छ,’ उनले भने, ‘दैनिकी कठिन नहुने गरी सीमा क्षेत्रमा साझा संयन्त्र आवश्यक छ, जसले सामाजिक दुरीको पालन र व्यक्तिगत सरसफाइमा ध्यान दिँदै दुवैतिरकालाई मानवीय सहयोग पनि गर्न सकोस् ।’

प्रदेश १ सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा. सुरेशप्रसाद मेहताले सीमावर्ती राज्यहरुमा कोरोना संक्रमणको अवस्थाको अध्ययन गरी वारि आवश्यक सतर्कता अपनाइरहेको बताए ।

भारतका ती राज्यहरुसँग वारिका नेपाली भूभागका नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र मानवीय सम्बन्ध छ । डा. मेहता अहिलेको स्वास्थ्य एवं मानवीय संकटको बेलामा सरकारभन्दा बढी नागरिक समाजको भूमिका हुने बताउँछन् । ‘अर्थव्यवस्थालाई धरासायी हुन नदिन ढिलोचाँडो त सरकारले सीमा र लकडाउन खोल्नैपर्छ,’ डा. मेहताले भने, ‘लकडाउन र सीमाबन्दी हटेपछि मास्कको प्रयोग, सामाजिक दुरीको पालना र सरसफाइमा पहिलेको तुलनामा बढी ध्यान दिनुपर्छ ।’

प्रकाशित : वैशाख ३०, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?