कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश-२ मा कोरोना संक्रमणको उच्च जोखिम

दशगजा क्षेत्रमै घन बस्ती हुनु, सीमावर्ती भारतीय जिल्लामा संक्रमण बढ्दै जानु तथा सीमा क्षेत्रमा नेपाल भित्रिन आउनेको संख्या बढ्नुले प्रदेश–२ मा कोभिड–१९ संक्रमणको जोखिम बढाएको छ ।
जनकराज सापकोटा

काठमाडौँ — भारतको बिहारका जिल्लाहरुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढदै जाँदा सीमा जोडिएको प्रदेश २ मा संक्रमणको जोखिम बढ्दै गएको छ । प्रदेश २ का ८ जिल्लासँग सिमाना जोडिएका बिहारका ४ जिल्लामा आइतबारसम्म ५१ भारतीयमा संक्रमण पुष्टि भएको छ ।

प्रदेश-२ मा कोरोना संक्रमणको उच्च जोखिम

जुन विहार राज्यका ३८ जिल्लामा देखिएको संक्रमणको करिब ९ प्रतिशत हो । आइतबारसम्म बिहारमा ६ सय २९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ५ जनाको मृत्यु भइसकेको छ ।

प्रदेश २ को ४ सय ६५ किलोमिटर सिमाना भारतको विहार राज्यका पूर्वी चम्पारण, पश्चिमी चम्पारण, सीतामढी र मधुवनी जिल्लासँग जोडिएको छ । यी जिल्लालाई बिहार सरकारले ‘एल्लो जोन’ अर्थात् संक्रमण धेरै विस्तार नभइसकेको जिल्लामा सूचीकृत गरे पनि पछिल्ला दिनमा संक्रमणको दर बढ्दै गएको छ । सीमावर्ती क्षेत्रमा संक्रमणको दर बढ्दै जाँदा नेपाल छिर्ने क्रम तीव्र बन्दा प्रदेश–२ मा संक्रमणको जोखिम थपिएको हो । कान्तिपुरले प्रदेश–२ को सीमावर्ती क्षेत्रमा खटिएका प्रहरी अधिकारीसँग गरेको कुराकानीका अनुसार सीमापारि नेपाल छिर्न खोज्ने नेपालीको संख्या ९ देखि १० हजारको हाराहारीमा छ ।

जब कि शनिबारसम्म यो संख्या ५ सय २७ मात्रै रहेको संघीय सरकारको दाबी छ । गृह स्रोतबाट प्राप्त विवरणमा पछिल्लो एक दिनमा मात्रै प्रदेश २ को सीमा नाकामा थप ४२ नेपाली मात्रै आएको उल्लेख छ । एक साताअघि मात्रै भारतका विभिन्न सहरमा अड्किएका श्रमिकहरुलाई गन्तव्यमा जान दिने नीति भारत सरकारले अख्तियार गर्‍यो । जसअनुरूप दिल्ली, गुजरात, हरियाणा, पूर्वी पन्जाबजस्ता सहरबाट रेल चढेर आएका श्रमिकहरु सीमावर्ती भारतीय बजारमा जम्मा भएका छन् । लकडाउन र सीमा सिल लम्बिँदै जाँदा सीमावर्ती क्षेत्रमा थुप्रिनेको संख्या बढ्दै गएको छ ।

सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक अधिकारीले १० दिनअघिसम्म पनि सीमामा समस्या नरहेको तर भारतीय पक्षले आन्तरिक आवतजावत खुकुलो पारेपछि मान्छे थुप्रिने क्रम बढेको बताए । सीमापारिबाट जर्बजस्ती छिर्ने नेपालीलाई उतै फिर्ता गर्ने गरिए पनि पछिल्ला दिनमा भारतीय सुरक्षा अधिकारीले जिम्मा लिन नमान्ने प्रवृत्ति देखिन थालेको ती अधिकारीको भनाइ छ । ‘हामीले नियन्त्रणमा लिएर भारतीय प्रहरीलाई बुझाउने तर उनीहरुले छाडिदिने गरे भने सीमा नाकामा आवतजावत रोक्न सकिँदैन,’ उनले बताए ।

प्रदेश–२ प्रहरी स्रोतका अनुसार पछिल्लो तीन दिनमा मात्रै लुकिछिपी नेपाल प्रवेश गरेका तीन सय नेपालीलाई नियन्त्रणमा लिएर भारततर्फै पठाइएको छ । महोत्तरी, धनुषा र सप्तरीको सीमा नाकाबाट उनीहरुलाई फर्काइएको हो । प्रहरीका अनुसार धनुषा हुँदै विहारतर्फ बग्ने र रौतहट हुँदै बिहारतर्फ बग्ने वाग्मती नदीको तिरैतिर जोखिम मोलेर नेपालीहरु छिर्ने क्रम बढेको छ । रौतहटको सीमा क्षेत्रमा खटिएका एक प्रहरीका अनुसार रातको समयमा नेपाल छिर्नेहरु बढी छन् ।

सीमा क्षेत्रमा रहेको बाक्लो बसोबासका कारण सुरक्षाकर्मीको सक्रियताका बावजुंत पनि आउजाउ पूर्ण नियन्त्रणमा आउन सकेको छैन । प्रहरीका अनुसार प्रदेश २ का १६ स्थानमा दशगजा क्षेत्रभीत्रै झुरुप्प घरहरु छन् । बाक्लो बसोबास रहेका यी क्षेत्रका सीमा वारपार गर्नेलाई प्रहरीले रोक्न सक्ने अवस्था नरहेको प्रहरी बताउँछ । सुरक्षाकर्मीको आँखा छलेर सीमावारि आउने घटना पनि अन्य प्रदेशको तुलनामा प्रदेश २ मा धेरै देखिन्छ । शुक्रबार सर्लाहीको गडौता नगरपालिका–१ स्थित बहादुरपुर नाका हुँदै भारततर्फबाट सरोज राउत र सन्तोष महतो सुरक्षाकर्मीको आँखा छलेर नेपाल छिरे । स्थानीयको सूचनाका आधारमा प्रहरीले दुवैलाई पक्रेर वेणीभोला माविको क्वारेन्टाइनमा राख्यो । सोही दिन महोत्तरीको सम्सी नाका हुँदै भारतबाट छिरेका तीनमध्ये दुईलाई क्वारेन्टाइनमा राखे पनि एक जना फरार भए । प्रहरी स्रोतका अनुसार समि मोहम्मद भन्ने ती व्यक्तिको खोजी भइरहेको छ । गत बुधबार मात्रै उक्त नाका हुँदै छिरेका पाँच जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो । शृंखलाबद्ध रूपमा भएका यस्ता घटनाहरुले प्रदेश–२ मा लुकिछिपी छिर्ने क्रम बढिरहेको देखाउँछ ।

शनिबारसम्म प्रदेश २ मा पर्सा, रौतहट, सर्लाही र बाराका गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् । ती संक्रमितमध्ये मुिस्लम जमाती समूहसँग जोडिएका बाहेक ४ जना लकडाउन सुरु भएपछि लुकिछिपी भारतबाट आएका हुन् ।

प्रदेश २ को सीमामा खटिएका सुरक्षाकर्मीमाथि भारतीय पक्षबाट आक्रमणका घटना पनि बढ्दै गएकाले सुरक्षा चुनौती थपिएको देखिन्छ । गत वैशाख २५ मा बाराको सुवर्ण गाउँपालिका–३ स्थित अस्थायी सुरक्षा पोस्टमा कार्यरत सशस्त्र प्रहरीले नेपाल छिर्न खोजेका दुई भारतीलाई रोके । नेपाल छिर्न नदिएको भन्दै झन्डै एक सयको हाराहारीमा जम्मा भएमा भारतीयले उक्त प्रहरी पोस्ट नै तोडफोड गरिदिए । स्थिति नियन्त्रणमा दिन प्रहरीले एक राउन्ड हवाई फायर नै गर्नुपरेको थियो । सुरक्षा स्रोतका अनुसार सीमा सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमणको घटना प्रदेश २ मा धेरै भएका छन् । चैत १८ यता सप्तरीको कञ्चनपुर, सिरहाको सोहरबा, लच्का र माडर, सर्लाहीको सिमरा चेकप्वाइन्टमा आक्रमणको प्रयास भएको थियो ।

प्रदेश २ को एक जिल्लाका प्रहरी प्रमुखले भने, ‘छिर्नै दिन हुन्न भन्ने केन्द्र सरकारको नीति हुने तर सीमा नाकामा नेपाली थुप्रिने क्रम बढ्दै जाने हो भने रोक्न सक्ने अवस्था देखिन्न । जबर्जस्ती हुलका हुल नेपाली छिरे भने संक्रमण विस्तार हुन सक्छ ।’

प्रकाशित : वैशाख २९, २०७७ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?