कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तातोपानी सबै खाले सामानलाई खुला

स्वास्थ्य प्रोटोकलको पालना गर्दै दिनहुँ १० वटा कन्टेनरबाट आवश्यक सामान नेपाल भित्रनेछन् ।
अनिश तिवारी

सिन्धुपाल्चोक — खाद्यान्न र मेडिकल सामग्रीमात्रै भित्र्याउने सहमतिमा खोलिएको तातोपानी नाका बिहीबारबाट सबै सामग्रीका लागि खुला गरिएको छ । जनप्रतिनिधि, व्यवसायी, हिमालय सीमापार वाणिज्य संघ र उद्योग वाणिज्य संघबीच बुधवार र बिहीबार भएको छलफलले सबै प्रकारका व्यापारिक सामान भित्र्याउने निर्णय गरेको हो ।

तातोपानी सबै खाले सामानलाई खुला

नाकामा स्वाथ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा दिएर सामग्री ल्याउने सहमति गरिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए । ‘यहाँको स्वास्थ्यको विषयलाई लापरबाही नगरियोस् भन्ने हाम्रो मुख्य सहमति हो । स्वास्थ्य प्रोटोकलको पालना गर्दै दिनहुँ १० वटा कन्टेनरबाट आवश्यक सामान आउनेछन्, ’ पौडेलले भने । अब रेडिमेडबाहेक व्यापारिक सामग्रीमा किटानाशक औषधि छर्किनेलगायत सबै प्रक्रिया पुर्‍याएर मात्रै ल्याइने उनले सुनाए ।

स्थानीय, जनप्रतिनिधि र संघसंस्थासँग समन्वय गरेर अगाडि बढ्ने र एक महिनामा समीक्षा गर्ने पनि सहमति भएको छ । पौडेलका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम हेल्थ डेस्कको मेडिकल सेट ल्याएर नाकामा स्वास्थ्य परीक्षण कडाइ गरिएको छ । ‘एक डाक्टर र दुई स्वास्थ्यकर्मीबाट सिसाको स्क्रिनबाट हातमात्रै निकालेर टाढाबाट परीक्षण हुनेछ,’ उनले भने । चीन–नेपाल आउजाउ गर्दा सबै विवरण लेखिएको पासको व्यवस्था गरिएको छ । ३० मिनेट कन्टेनर रोकेर डिसइन्फक्टेट स्प्रे गरिनेछ ।

उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले छलफलमा भएका सहमतिलाई आधार मानेर तातोपानी सुक्खा बन्दरगाह भन्सार र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताए । सबै व्यवसायी नाका खोल्न सकारात्मक देखिएकाले स्वास्थ्यलाई सावधानी अपनाउँदै नाकालाई सञ्चालनमा आएको उनको भनाइ छ ।

प्रकाशित : वैशाख २६, २०७७ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?