कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमापरि रहेकालाई झिकाइदिन परिवारको अपिल

मुसहर टोलका ५० परिवारका ९२ जना सीमावर्ती बजार सोनवर्षा र ५२ जना सितामढीको क्वारेन्टाइनमा छन् । उनीहरूलाई नेपालकै क्वारेन्टाइनमा राख्ने गरी फर्काइदिन परिवारजनले सरकारसमक्ष आग्रह गरेका हुन् ।
ओमप्रकाश ठाकुर

सर्लाही — सीमा क्षेत्रमा आएर पनि नेपाल भित्रन नसकेकाहरूका परिवारजनले उनीहरूलाई घर फर्काइदिन आग्रह गरेका छन् । सर्लाहीसँग सीमा जोडिएको भारतीय क्षेत्रमा आइपुगेका एक सयभन्दा बढी नेपालीहरूलाई घर फर्काइदिन उनीहरूका परिवारजनले आग्रह गरेका हुन् ।

सीमापरि रहेकालाई झिकाइदिन परिवारको अपिल

सीमा सिल भएका कारण भारतीय क्वारेन्टाइनमा रहेका उनीहरूलाई नेपालमै ल्याएर स्थानीय तहका क्वारेन्टाइनमा राख्न उनीहरूले जनप्रतिनिधि तथा स्थानीय प्रशासनसँग माग गरेका छन् ।

सीमापारिका क्वारेन्टाइनमा बसेको एक महिनाभन्दा बढी समय भइसक्दा पनि उनीहरू घर फिर्न पाएका छैनन् । भारतीय क्वारेन्टाइनमा बसिरहेका १ सय २३ नेपालीलाई वैशाख ४ मा भारतीय सुरक्षाकर्मीले चोर बाटो हुँदै नेपाली सीमा नजिक ल्याएर छाडिदिएका थिए । त्यसमध्ये ९१ जनालाई बोर्डरमा रहेका सुरक्षाकर्मीले फेरि भारत नै पठाइदिएका थिए । सीमामा खटिएका सुरक्षाकर्मीको आँखा छलेर गाउँ आउन सफल ३२ जना भने गाउँपालिकाको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किसकेका छन् । भारतीय क्वारेन्टाइनमा फर्काइएका ९१ जना र पछि थपिएका गरी एक सयभन्दा बढी नेपाली अहिले सीमापारि नै छन् । स्वदेशी भूमिमा टेकिसकेका उनीहरूलाई भारत पठाएर स्थानीय प्रशासनले आफ्नो निर्दयी स्वरूप देखाएको स्थानीयको आरोप छ । घर फिर्ने टुंगो नहुँदा उनीहरू चिन्तित बनेको परिवारजनले बताएका छन् ।

बेलाबेला परिवारको सम्पर्कमा आएका उनीहरूले भारतीय क्वारेन्टाइनमा खानपिन, बसोबासलगायतमा समस्या भइरहेको गुनासो पोखेका मरनीदेवी माझीले बताइन् । उनका तीन छोरा र एक नाति उत्तरप्रदेशमा मजदुरी गरेर घर फिर्ने क्रममा सीमास्थित क्वारेन्टाइनमै अड्किएका छन् । फोन सम्पर्क भएका बेला छोराले एउटै कोठामा कोचाकोच गरेर बस्नुपरेको र शौचालय जान पनि पालो कुरेर जानु परिरहेको बताएको उनले सुनाइन् । ‘उत्तरप्रदेशमा मजदुरी गरेर फर्कने क्रममा सोनवर्षामा प्रहरीले समातेर राख्यो, १५ दिनपछि भारतीय प्रहरीले छाडेकामा नेपाली प्रहरीले फेरि भारतमै पठाइदियो,’ उनले भनिन्, ‘सँगै रहेका केही लुकेर आउँदा घरमा छन्, हाम्रा घरका भने सीमामै अलपत्र छन् ।’

उनले सीमामा नेपालीहरूले कैदीबन्दीसरह जीवन बिताइरहेको दाबी गरिन् । महामारीका बेला घरका सदस्य सीमामा अलपत्र पर्दा निद्रासमेत लाग्न छाडेको उनले दुखेसो पोखिन् । प्रशासनसमक्ष आफूहरूको पहुँच नपुगेको र स्थानीय नेतालाई गुहार्दासमेत सीमाबाट छोरा, नाति फर्काउन कसैले पहल नगरिदिएको गुनासो गरिन् । स्थानीय मुसहर टोलका उनीजस्तै ५० परिवारका ९२ जना सीमावर्ती बजार सोनवर्षा र ५२ जना सितामढीको क्वारेन्टाइनमा रहेका स्थानीय बताउँछन् ।

स्थानीय प्रशासनले भने गृह मन्त्रालयको आदेशअनुसार नेपाली भूमि टेकिसकेका उनीहरूलाई गाउँ फर्काउनुको साटो भारतमै पठाइएको जनाएको छ । भारतीय सुरक्षाकर्मीले समन्वय नगरी चोर बाटो हुँदै पठाएका कारण पनि यो समस्या आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसी बताउँछन् । लामो समय क्वारेन्टाइनमा बसेकालाई सरकारले नै निर्णय गरेर दुवै देशका नागरिकलाई आ–आफ्नो देशको क्वारेन्टाइनमा बस्ने गरी फिर्ता ल्याउनुपर्ने उनको भनाइ छ । ‘यो दुई देशको कुरो छ, नागरिक फिर्ताका लागि सरकारले नै निर्णय गर्नुपर्छ,’ उनले भने, ‘ल्याएर आ–आफ्नो देशको क्वारेन्टाइनमा राखे हुन्थ्यो, हामीलाई पनि गाह्रो छ ।’

प्रकाशित : वैशाख २६, २०७७ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?