कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कस्तूरी तस्करीका अभियुक्तहरुसँग बयान जारी 

तस्करीमा संलग्‍न अन्यको खोजी जारी
अब्दुल्लाह मियाँ

काठमाडौँ — सगरमाथा राष्ट्रिय निकुञ्जमा कस्तूरी मार्न संलग्न भएकामध्ये ३ जनालाई निकुञ्जले बयान लिएर थप व्यक्तिको खोजी गरिरहेको छ ।कस्तूरी मार्ने र बिनाको अवैध कारोबारमा संलग्‍न अभियोगमा विष्णु राई, रमेश राई र जनता राई निकुञ्जको नाम्चेस्थित मुख्यालयको हिरासत कक्षमा छन् । 

कस्तूरी तस्करीका अभियुक्तहरुसँग बयान जारी 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) भूमिराज उपाध्यायका अनुसार अहिलेसम्मको बयानका आधारमा तीन जनामध्ये बिष्णुले रमेश राईबाट एउटा कस्तूरीको बिना खरिद गरेको पत्ता लागेको छ । त्यस्तै जनता राई विगतका वर्षहरुमा निकुञ्जको डोले क्षेत्रमा पासो थापेर कस्तूरी मार्ने गतिविधिमा संलग्न भएको पत्ता लागेको छ । डोले क्षेत्र सबैभन्दा बढी कस्तूरी मानिरे क्षेत्रभित्र पर्छ ।

उनले उक्त क्षेत्रबाट २ वटा कस्तूरी मारी बिना झिकेर विष्णुबाटसमेत गरी ३ वटा बिना काठमाडौं लगेर १ लाख ४० हजार रुपैयाँमा बिक्री गरेको बयान दिएको उपाध्यायले जानकारी दिए । ‘उनीहरुले बयानका क्रममा धेरै व्यक्तिको नाम दिएका छन्,’ नाम्चेबाट उपाध्यायले कान्तिपुरसित भने, ‘पोलिएका व्यक्तिबारे खोजी जारी छ, पक्राउ गर्न प्रहरीलाई अनुरोध गरेका छौं ।’

गत वैशाख १४ मा सगरमाथा निकुञ्जको क्याङ्जुमा नजिकको ताक्डिमामा पासोमा पारेर कस्तूरी मार्नसमेत यही समूह संलग्न रहेको उनीहरुको बयानबाट थाहा भएको छ । उनीहरुलाई स्थानीयहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । पर्यटक गाइड, भरिया बनेर लामो समय उक्त क्षेत्रमा बस्ने र त्यही क्रममा कस्तूरी मार्ने काममा संलग्न हुने गरेको पाइएको छ ।

नियन्त्रणमा लिइएका अन्य व्यक्ति भने गुम्बाभित्रका सामानलगायत चोरीमा संलग्न रहेको पाइएको थियो । उनीहरु तारेखमा छुटेका छन् ।

तस्करहरुले छोडेको कस्तूरीको बिना

खुम्बु पासाङल्हामु गाउँपालिकाङ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले सुराकीका आधारमा उनीहरुलाई नियन्त्रण गर्न सफल भएको बताए । ‘उनीहरुको संलग्नता पुष्टि भएपछि हामीले नियन्त्रणमा लिएर प्रहरीसमक्ष बुझाएका हौं,’ अधिकारीले भने, ‘उनीहरुको रेडपाण्डा पनि मार्ने गरेको योजना रहेछ ।’ यो समूहले लामो समयदेखि सगरमाथा निकुञ्जका विभिन्न क्षेत्रमा कस्तूरी मार्ने र बिनाको सप्लाई गर्ने गरेको पाइएको छ । उनीहरुबाट कस्तूरीलाई मार्न प्रयोग हुने पासो (जाली) समेत बरामद भएको थियो ।

पदयात्रा र भरियाको बहानामा आउनेहरुले कस्तूरी मार्ने गरेको पहिलेदेखिकै रेकर्ड छ । सगरमाथा निकुञ्ज कस्तूरीका लागि प्रख्यात छ । निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले कस्तूरीको संख्या बढिरहेका बेला फेरि तस्करी बढ्नु दु:खद् भएको बताए ।

वैशाख १४ मा मालिङ्गो लिन गएका स्थानीयले पासोमा पारेर कस्तूरी मारिएको देखेपछि निकुञ्ज र सुरक्षा निकायले जानकारी गराएका थिए । उपाध्यायका अनुसार ६ वटैलाई पासोमा पारेर मारिएको र दुई वटा कस्तूरीको बिना (कस्तूरी) निकालेर लगेका थिए । तस्करले एउटा कस्तूरीको भने बिना छाडेर गएका थिए । ६ मध्ये एउटा मात्र पोथी हो । २ वटा कस्तूरी सडेको अवस्था भेटिएकाले लिङ्ग छुट्टिएको थिएन ।

तस्बिर सौजन्य : सगरमाथा राष्ट्रिय निकुञ्‍ज

प्रकाशित : वैशाख २५, २०७७ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?