कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भाइ मर्दा पनि मेरो नभएको समाज मलाई चाहिँदैन’

सरकारी लगानीसमेत रहेकाे सार्वजनिक भवनमा किरिया बस्न दलितलाई अवरोध
दीपक परियार

पोखरा — कोरोना कहरमा पोखरा–१६ बाटुलेचौरका मोहन सुनारको परिवारमा अर्को पीडा थपियो । भाइ सम्मरबहादुर सुनारको दुबईमा निधन भयो । यता सम्मरबहादुरका छोरा मनोजले सार्वजनिक किरियापुत्री भवनमा किरिया बस्न पाएनन् ।

‘भाइ मर्दा पनि मेरो नभएको समाज मलाई चाहिँदैन’

मोहनले जातको कारण देखाउँदै किरियापुत्री भवन प्रयोग गर्न नदिनेविरुद्ध उजुरी हाले । प्रहरीले दुई आरोपितलाई पक्राउ गर्‍यो । अहिले पक्राउ परेकाका आफन्त र छिमेकीले दैनिकजसो मोहनको घर घेर्छन् । लकडाउनले भन्दा उनीहरूकै त्रासले मोहनको परिवार घरबाहिर निस्कन सकेको छैन ।

निमोनियाले थलिएका सम्मरबहादुरको उपचारका क्रममा निधन भएको चैत २३ मा खबर आयो । अन्तर्राष्ट्रिय उडान बन्द भएकोले शव नेपाल ल्याउन सम्भव भएन । वैशाख ३ मा सम्मरको अन्त्येष्टि भयो । दुबईमै रहेका सम्मरका माहिला छोरा उतै किरिया बसे । यता नेपालमा कान्छा छोरा मनोज किरिया बस्ने भए ।

बाटुलेचौरको गैह्रा खोरमा सार्वजनिक किरियापुत्री भवन थियो । मोहनले मनोजलाई त्यहीँ कोरा बसाउन चैत २६ मा भवन निर्माण समितिका अध्यक्ष राम जीसीसँग चाबी मागे । जीसीले स्थानीय भरत थापाको घरमा चाबी रहेको बताए । थापाले जीसीको अनुमतिबिना चाबी नदिने जवाफ फर्काए । तर जीसीले फोनै उठाएनन् । भोलिपल्ट क्षत्री समुदायका मानिस जम्मा भएर दलितलाई भवन उपलब्ध गराउन नसक्ने सुनाए ।

मोहनका अनुसार स्थानीय जनक थापा र देवबहादुर थापाले जातीय आक्षेप लगाउँदै तथानाम गाली गरे । क्षेत्री समुदायले बनाएको भवन आफूहरूले मात्रै उपयोग गर्ने भन्दै उनीहरूले कालीखोलाछेउको अर्को पुरानो भवन प्रयोग गर्न दबाब दिए । सुनार परिवार पुरानै भवनमा जान बाध्य भयो ।

तर, दलित भएकैले सार्वजनिक भवन प्रयोग गर्न नदिइएको समाचार सार्वजनिक भएपछि वैशाख १४ मा देवबहादुर र जनकले मोहनलाई धम्क्याए । स्वास्थ्यकर्मीसमेत रहेका मोहनले त्यही दिन वडा प्रहरी कार्यालय बगरमा ज्यानको सुरक्षा माग्दै निवेदन दिए । तर गालीगलौज र धम्की अझै नरोकिएपछि वैशाख १९ मा जिल्ला प्रहरीमा जातीय विभेद तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ अन्तर्गत उजुरी हाले । जसमा राम, जनक र देवबहादुर थापालाई विपक्षी बनाइएको छ । प्रहरीले मंगलबार राम र जनकलाई पक्राउ गर्‍यो । उनीहरूलाई बुधबार अदातलबाट म्याद थपी जिल्ला प्रहरीको हिरासतमा राखिएको छ ।

पक्राउ परेकाको रिहाइको माग गर्दै बाटुलेचौरको क्षत्री समाजले बुधबार जिल्ला प्रहरी कार्यालय घेराउ गर्‍यो । भीड नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज नै गर्नुपर्‍यो । ५ जनालाई नियन्त्रणमा लिएर बुधबारै छाडिएको जिल्ला प्रहरी प्रवक्ता राजकुमार केसीले बताए ।

चण्डिका टोल, मध्यमपथ, अमरदीप र डाँडाकोथोकमा २ सय ४० घर क्षत्री छन् । उनीहरूले सार्वजनिक जमिनमा ३० लाख खर्चिएर दुई वर्षअघि बनाएको उक्त भवनमा युवा क्लब, आमा समूह, क्षत्री समाजको कार्यक्रमसमेत हुने गर्छ । भवन बनाउन पोखरा महानगरपालिकाले ५ लाख र वडा नम्बर १६ ले १ लाख ७४ हजार रुपैयाँ प्रदान गरेका थिए । महानगरमा बुझाइएको प्रस्तावमै भवन सार्वजनिक प्रयोजनको हुने उल्लेख छ । तर, बाटुलेचौरका ८० घर गन्धर्व र अन्य दलित समुदायका व्यक्तिले उक्त भवन प्रयोग गर्न पाएका छैनन् । उक्त घटनाअघि कुनै बोर्ड नराखिएको भवनमा अहिले भने ‘क्षत्री समुदायको समाज घर’ लेखेर टाँगिएको छ ।

सार्वजनिक स्थल र सरकारी लगानीसमेतमा बनेको भवनको उपयोग एउटा समुदायले मात्रै गर्न नमिल्ने मोहन बताउँछन् । ‘खोला टाढा भएको र त्यहाँको भवन फोहोर पनि भएकाले नयाँ भवन प्रयोग गर्न अनुमति मागेका थियौं,’ उनले भने, ‘दलित भएकैले प्रयोग गर्न दिइएन । उल्टै जातीय आधारमा होच्याउने काम भयो ।’

घटना स्थानीय स्तरमै सामसुम पार्न र उजुरी फिर्ता लिन पटकपटक दबाब आएको मोहनले सुनाए । ‘एउटै समाज हो, पछि यही समाज चाहिन्छ भन्नेखालका अभिव्यक्ति नआएका होइनन्,’ उनले भने, ‘मेरो भाइ बित्दा मेरो नभएको समाज मलाई किन चाहिने ? समाज चाहिन्छ भनेर कहिलेसम्म नुघ्ने ?’ उजुरी दर्ताअघि भवन प्रयोग गर्न नदिइएको विषयमा कसैले छलफलै चलाउन नचाहेको उनी बताउँछन् ।

दुई जना पक्राउ परेपछि क्षत्री समुदायले मंगलबार र बुधबार दुईपटक चण्डिका टोलमा रहेको मोहनको घर घेरा हाल्यो । अहिले घरको मूल ढोकामा ताल्चा लगाएर १० जनाको परिवार भित्रै बस्छ । आफूहरू त्रात्रमा बस्नुपरेको र घटनाका साक्षीलाई समेत डरधम्की देखाइएको उनको आरोप छ ।

क्षत्री समुदायले मात्रै रकम संकलन गरेर बनाएकाले अरूले उक्त भवन प्रयोग गर्न नपाउने डाँडाथोक टोल विकास संस्थाका सचिव सन्दीप थापा बताउँछन् । ‘उहाँहरूका लागि छुट्टै भवन खोलानजिकै छ,’ उनले भने, ‘त्यहीँ गएर किरिया गर्नुस् भनेका हौं । यो भवन क्षत्रीले मात्रै प्रयोग गर्ने भएकाले अरूलाई प्रयोग गर्न नदिएका हौं । जातीय विभेद गरेका होइनौं ।’ उनले क्षेत्री समुदाय आक्रोशित भएर सुनारको परिवारमाथि केही भए आफूले जिम्मा लिन नसक्ने अभिव्यक्ति दिए ।

चर्चित लोकगायक झलकमान गन्धर्व र धर्मराज थापाको जन्मस्थल हो, बाटुलेचौर । केही वर्षअघि चण्डिका टोलकै चोकमा झलकमानको सालिक बनाउने क्रममा समेत क्षत्री समुदायले अवरोध पुर्‍याएको थियो । गन्धर्व समुदायको जोडबलमा झलकमानको सालिक ठडिएको थियो ।

विभेद गर्नेकै पक्षमा सांसद

गण्डकी प्रदेश सांसद कृष्णबहादुर थापाले जातीय विभेदको आरोपमा पक्राउ परेका रामबहादुर र जनकलाई बिनासर्त रिहाइ गर्न माग गरेका छन् । उनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दुई जनालाई प्रहरीले षड्यन्त्रपूर्वक हिरासतमा लिएको आरोप लगाए ।

‘केही उच्छृंखल तत्त्वहरूले जातीय विभेदको नाम दिएर जातीय अतिवादलाई प्रोत्साहित गर्ने जातिवादी नेता कार्यकर्ताहरूको षड्यन्त्रले सदियौंदेखि भइरहेको हाम्रो सामाजिक सद्भावलाई धमिल्याउने काम भएको छ,’ विज्ञप्तिमा भनिएकाे छ ।

बाटुलेचौरकै बासिन्दा थापा नेकपाका कास्की जिल्ला अध्यक्षसमेत हुन् । त्यस्तै रामबहादुर र जनक नेकपाका वडा सचिवालय सदस्य हुन् ।

-यसअघि प्रकाशित समाचारको शिर्षकमा भाइ हुनुपर्नेमा छोरो हुन गएकोमा सच्याएका छौं । -प्रधान सम्पादक

प्रकाशित : वैशाख २५, २०७७ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?