कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०९

सीमानजिक सेनाले गस्ती गर्ने

सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण र दुर्व्यवहार हुन थालेका बेला ५ किमि यता सेनाको तैनाथीले मनोवैज्ञानिक त्रास सिर्जना गर्ने गृहको बुझाइ
मातृका दाहाल

काठमाडौँ — सरकारले भारतीय सिमानाबाट पाँच किलोमिटर दूरीमा नेपाली सेनाको गस्ती टोली परिचालन गर्ने भएको छ । दक्षिणतर्फका नाका सिल गर्न खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि भारतीयबाट सांघातिक हमला र दुर्व्यवहारका घटना हुनुका साथै अवैध प्रवेश नरोकिएपछि गृहमन्त्री स्तरीय निर्णयबाट सेना परिचालन गर्न लागिएको हो । यसका लागि गृह मन्त्रालयले मंगलबार सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकेको छ ।

सीमानजिक सेनाले गस्ती गर्ने

तेस्रो तहमा सेनालाई तैनाथ गराउँदा जबर्जस्ती अवैध प्रवेश गर्नेका लागि मनोवैज्ञानिक त्राससमेत सिर्जना हुने गृहको बुझाइ छ । पूर्वदेखि सुदूरपश्चिमसम्म १ हजार ८ सय ८० किमि दूरीमा नेपालका २३ जिल्ला भारतसँग जोडिएका छन् ।

चैत ११ गते लकडाउन सुरु भएसँगै सीमा हँुदै आवतजावत नियन्त्रण गर्न भारततर्फ सशस्त्र प्रहरीका १ हजार २ सय १३ र नेपाल प्रहरीका ४ सय ७० स्थानमा चेकप्वाइन्ट खडा गरिएका छन् । यी स्थानमा करिब ३० हजार सुरक्षाकर्मी परिचालित छन् । तर खुला सिमानाका कारण भारतीयले नेपाल आउने क्रममा सुरक्षाकर्मीलाई दुव्र्यवहार र आक्रमण नै गर्न थालेपछि सेनाको सहयोग लिनुपरेको गृह मन्त्रालयले जनाएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को परिच्छेद ३ मा प्रमुख जिल्ला अधिकारीलाई स्थानीय शान्तिसुरक्षा, दंगा नियन्त्रण, निषेधाज्ञा, कफ्र्यु आदेश जारी गर्ने र यसका लागि अन्य सुरक्षा निकायले परिस्थिति नियन्त्रण गर्न नसकेको अवस्थामा ‘ब्याकफोर्स’ मा रहने गरी सेना खटाउन सक्ने अधिकार दिइएको छ ।

गृहमन्त्री रामबहादुर थापा मंगलबार बेलुका सीमा नाका सिल गर्न खटिएका प्रहरी र सशस्त्रको ब्याकफोर्सका रूपमा सेना तैनाथ गराउनेसम्बन्धी निर्णय गरी उच्चस्तरीय समन्वय समिति बैठकमा गएका थिए । समितिको बैठकमा थापाले सीमाबाट हुने अवैध घूसपैठ नियन्त्रण गर्न सेनालाई स्थानीय प्रशासन मातहत ब्याकफोर्सका रूपमा खटाउने निर्णय गरिएको सुनाएका थिए ।

भारतीय सीमाबाट मानिसको घूसपैठ रोक्न जनस्तरबाटै ‘नागरिक निगरानी समूह’ गठन गर्न पनि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । गृहले जिल्ला सुरक्षा समितिको बैठक बसी सबै सुरक्षा निकायबीच सूचना आदानप्रदान, आपसमा सहयोग र सहजीकरणको वातावरण निर्माण गर्न निर्देशन दिएको छ । गृहले सीमा जोडिएका जिल्लास्थित प्रशासन र सशस्त्र प्रहरीलाई भारतीय समकक्षीसँग समन्वय गरी एकअर्का देशका सिमानाको क्वारेन्टाइनमा रहेका नागरिक यथास्थानमा रहने गरी समन्वय गर्न पनि निर्देशन दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भारतीय सीमा नाकाबाट हुने प्रवेश नियन्त्रण तथा नेपालतर्फ ५ किमि दूरीमा ‘एरिया डोमिनेसन’ का लागि सेनाको समेत सहयोग लिन सकिने गरी प्रबन्ध मिलाउन निर्देशन दिइएको बताए । यससम्बन्धी के–कसरी प्रभावकारी सुरक्षा व्यवस्थापन मिलाउने भन्ने जिम्मा प्रमुख जिल्ला अधिकारीहरूलाई दिइएको उनले जानकारी दिए । ‘यसलाई सेना परिचालनका रूपमा बुझ्न मिल्दैन,’ शर्माले भने, ‘शान्तिसुरक्षा व्यवस्थापन र लकडाउन तथा नाका सिल कार्यान्वयनमा सेनाको सहयोग लिइएको हो ।’

गृहमन्त्री थापाले सोमबार मात्रै भारतसँग सीमा जोडिएको नेपाली भूभागको सुरक्षामा हाल कायम रहेको १ सय २१ वटा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) लाई बढाएर ५ सय पुर्‍याउने उल्लेख गर्दै त्यसका लागि कार्ययोजना पेस गर्न सशस्त्र प्रहरी मुख्यालयलाई निर्देशन दिएका थिए ।

प्रकाशित : वैशाख २४, २०७७ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?