कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थायी कमिटीका लागि रणनीति बनाउँदै दाहाल–नेपाल समूह

बबिता शर्मा

काठमाडौँ — स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह संयुक्त रणनीति निर्माणमा जुटेका छन् ।

स्थायी कमिटीका लागि रणनीति बनाउँदै दाहाल–नेपाल समूह

सचिवालयको निर्णय कार्यन्वयनसम्बन्धी प्रस्ताव निर्माणमा सोमबार दुई अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष दाहालबीचको वार्ता धेरै सकरात्मक नभएपछि दाहाल–नेपाल समूह आशन्न स्थायी कमिटीको बैठकको रणनीति निर्माणमा जुटेको हो ।

बैशाख २५ मा बस्ने स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने र सचिवालयको निर्णय कार्यन्वयनको वातावरण कसरी बनाउने भनेर दाहाल–नेपाल समूहका नेताहरु आइतवारदेखि लगातार परामर्शमा छन् ।

नेपाल निकट स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले विगतमा जस्तो सहमतिबाट पछाडि हट्ने जालझेलको राजनीति नहोस् भनेर स्थायी कमिटीका लागि रणनीति बनाउन छलफल भएको बताइन् । उनले बैठकमा अध्यादेशपछिका सबै विषय एक–एक गरेर स्थायी कमिटी बैठकमा राखिने पनि बताइन् ।

‘अध्यादेश फिर्ता भए पनि त्योसँग जोडिएका एक–एक विषय हामी बैठकमा उठाउँछौं । त्यसबाहेक प्रधानमन्त्रीको सोच, शैलीलगायत पार्टी र सरकारसँग जोडिएका धेरै कुरा बैठकमा उठ्नेछन्,’ शाक्यले भनिन्, ‘व्यवहारमा लागु हुने गरी ठोस प्रस्ताव आएन भने हामी छलफल गरेर पुरक प्रस्ताव पनि राख्न सक्छौं ।’

दुई विवादित अध्यादेश प्रकरणपछि अध्यक्षद्धयलाई पत्र लेखेर बैठक राख्न माग गर्ने दाहाल र नेपाल समूहका २० सदस्यमध्ये शाक्य पनि एक हुन् ।

‘हामी २० जना स्थायी कमिटीका सदस्यहरुले बैठक माग गरेका थियौं । बैठक बोलाईएको छ । त्यो बैठकमा कसरी प्रस्तुत हुने भनेर हामी पनि छलफलमै छौं । तयारीका साथ बैठकमा जान्छौं । चित्त बुझ्दो जवाफ आएन भने त्यही अनुसार अगाडि बढ्छौं,’ शाक्यले भनिन् ।

सोमबार साँझ वरिष्ठ नेता नेपालले दाहाल र आफूनिकट स्थायी कमिटी सदस्यहरुसँग भेट गरेर स्थायी कमिटीमा प्रस्तुत हुने तयारीबारे परामर्श लिएका छन् ।

आफ्नै निवास कोटेश्वरमा नेपालले बोलाएको भेलामा टोपबहादुर रायमाझी, मात्रिका यादव, देवेन्द्र पौडेल, जनार्दन शर्मा, चक्रपाणि खनाल, गोर्कण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु सहभागी थिए । त्यसअगाडि पनि नेता नेपालले आफूनिकट केही स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेको स्रोतले बतायो ।

त्यसअगाडि सोमबार बिहान नेता जर्नादन शर्माको सानेपा निवासमा चक्रपाणि खनाल, पम्फा भुसाल, मात्रिका यादव, देव गुरुङ, देवेन्द्र पौडेललगायतका नेताहरुबीच आसन्न स्थायी कमिटीको बैठकको रणनीतिबारे छलफल भएको थियो ।

त्यसलगत्तै सानेपामै दाहाल र नेपाल समूहका चार–चार नेताको छलफल भएको एक नेताले बताए । बैठकमा सहभागी ती नेताले भने, ‘सचिवालयको निर्णय कसरी कार्यन्वयन गर्ने भन्ने विषयमा छलफल भयो ।’

ती नेताका अनुसार विगतका कमजोरी सच्याउँदै पार्टी र सरकारलाई विधिसम्मत सञ्चालनका लागि प्रधानमन्त्री ओलीबाटै भरपर्दो ठोस प्रस्ताव आउनुपर्ने र यदि नआएको खण्डमा पुरक प्रस्ताव पेश गर्ने तयारी भएको छ ।

शनिबार बसेको सचिवालय बैठकले २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेसँगै दाहाल–नेपाल समूह रणनीति निर्माणमा जुटेका हुन् । स्थायी कमिटी अगाडि २४ गते सचिवालय बैठक बोलाइएको छ, जहाँ स्थायी कमिटी बैठकका एजेन्डा तय हुनेछन् ।

शीर्ष नेता अचानक मिलेकोमा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्यहरु शंसकित छन् र आफ्नो मुद्दा स्थायी कमिटीमा राख्ने तयारीमा छन् ।

आइतबार नेपालले आफूनिकटका केन्द्रीय सदस्यसँगको छलफलमा यस्तो आशंका गरेको एक नेताले बताएका थिए । केन्द्रीय सदस्यसँगको छलफललगत्तै नेता नेपालले आइतबार साझ स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका थिए । छलफलमा नेपालले पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमबारे बिफ्रिङ गर्दै दाहाल र उपाध्यक्ष बामदेव गौतमको भूमिकामाथि शंका व्यक्त गरेका थिए ।

केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने दाहाल–नेपाल समूहको अडानविपरित शनिबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष दाहाल देखिएपछि नेपाल समूह सशंकित भएको थियो ।

सचिवालय बैठक अगाडि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच ४० मिनेट कुराकानी भएको थियो । कुराकानीमा दुई नेताबीच ‘पावर सेयरिङ’ मा सहमति भएको हुनसक्ने आशंका नेपाल समूहको थियो ।

कोटेश्वरमा भएको भेलामा सहभागी एक नेताका अनुसार दाहालले पर्याप्त छलफल नगरी ओलीसँग मिलेर जान सहमति जनाएकोमा नेपाल असन्तुष्ट छन् ।

उनका अनुसार उपाध्यक्ष गौतमले दाहालसँग छलफल गरेको र नाटकीयरुपमा राजनीति विकसित भएको भेलामा नेता नेपालले बताएका थिए । मंसिरमै भएको पार्टी एकल चलाउने सहमतिमै दाहालले फेरि ‘कम्प्रमाइज’ गरेको हुन सक्ने नेता नेपालको संकेत थियो । आइतबार साँझ अध्यक्ष दाहाल र नेता नेपालको भेटवार्तापछि उक्त शंका हटेको नेताहरुको दावी छ ।

‘केपी कमरेडले हामीबीचमा अविश्वास पैदा गर्ने प्रयास गर्नुभयो । तर हामीले सफल हुन दिएनौं,’ स्थायी कमिटी सदस्य शाक्यले भनिन्, ‘उहाँको षडयन्त्र हामीले बुझ्यौं । अब हामी संयुक्त रणनीति तय गरेर बैठकमा उपस्थित हुन्छौं ।’

सचिवालय बैठकले पार्टीलाई विधि, पद्धति र कम्युनिस्ट मूल्य–मान्यतामा सञ्चालन गर्ने, पार्टीको मार्ग निर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख आर्थिक–सामाजिक रूपान्तरणको लक्ष्य हासिल गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गरेका थिए । आत्मालोचित हुँदै सहमतिमा अगाडि बढ्ने प्रस्ताव ओलीले अगाडि सारेपछि तत्कालका लागि नेकपाको विवाद साम्य भएको थियो ।

प्रकाशित : वैशाख २२, २०७७ २१:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?