कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अझै आइपुगेन सेनाले ल्याउने स्वास्थ्य सामग्री 

चैत १६ को मन्त्रिपरिषद्ले दिएको थियो जिम्मा, एक महिना बढी हुँदा पनि आएन सामग्री
नेपालमा खरिद प्रक्रियाको झन्झट, चीनमा बिदा र चापले गर्दा ढिला भयो : सेना 
जगदीश्वर पाण्डे

काठमाडौँ — सेनाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनबाट खरिद गरेको अतिआवश्यक स्वास्थ्य सामग्री सम्झौताअनुसारै ढुवानी भएको भए, मंगलबार बेलुकीसम्म नेपाल एयरलाइन्सको वाइडबडी विमानले केही सामग्री काठमाडौं ल्याइपुर्‍याउँथ्यो । 

अझै आइपुगेन सेनाले ल्याउने स्वास्थ्य सामग्री 

तर, भनेअनुसार काम हुन नसकेपछि ती स्वास्थ्य सामग्रीहरु कहिलेसम्म नेपाल भित्रिन्छन् भन्ने टुंगो लागिसकेको छैन । सामग्री कहिले नेपाल आइपुग्छन् त ? यसको उत्तर स्वयं सम्झौता गर्ने सेनासँग पनि छैन ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे केही दिनयता चीनमा लगातार सरकारी बिदा पर्नु, नेपालसहित विश्वका अन्य मुलुकहरुले पनि एकैपटक स्वास्थ्य सामग्री आपूर्ति गर्न खोज्नु, सबै मुलुकलाई एकैपटक सामग्री चाहिएको कारण विमानस्थलमा ट्राफिकको समस्या हुनु र भन्सारका चेक–जाँच गर्न समय लाग्ने कारणले गर्दा स्वास्थ्य सामग्री ल्याउन ढिलो भएको बताउँछन् । त्यसकारण सामग्री कहिले आइपुग्छ भनेर भन्न नसकिने पाण्डे बताउँछन् ।

तत्काल आवश्यक पर्ने भएकाले लामो प्रक्रिया गर्दा समय लाग्ने भएर सेनालाई जिम्मा दिएको सामग्री अहिलेसम्म नआइपुग्दा विभिन्न प्रश्न उठेका छन् ।

मंगलबार (वैशाख २३ मा) मा विमानबाट पहिलो लटको सामग्री ल्याउने भनेर सेनाले ढुवानी कम्पनी फ्ल्यास फ्रेइट नेपाल कार्गो कम्पनीसँग वैशाख १६ गते सम्झौता गरेको थियो । चार्टड विमानबाट दुई खेपमा अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तीन लाख ७२ हजार पाँच सय डलर (चार करोड ४४ लाख ३६ हजार रुपैयाँ) दिने सम्झौता गरेको हो । सेनाका अनुसार पहिलो विमानमा १४ थरीका १८.८४३ टन स्वास्थ्य सामग्री ल्याउने र दोस्रो विमानमा १७ थरीका २८.७७ टन स्वास्थ्य सामग्री ल्याउने योजना थियो ।

यस्तै, स्थलमार्गबाट अन्य सामग्री ल्याउनको लागि सेनाले ढुवानी कम्पनीसँग दुई करोड ८६ लाख ७६ हजार चार सय रुपैयाँको सम्झौता गरेको हो । सेनाले मन्त्रिपरिषद्को चैत १६ को निर्णयअनुसार चीनको सरकारी कम्पनी सिइनो फर्म इन्टरनेसनल कर्पोरेसनबाट सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि ६७ थरीका स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको थियो ।

नेपाल सार्वजनिक खरिद ऐन र आर्थिक नियमावलीमा रहेको प्रक्रियाअनुसार चीनको सिनो फर्मसँग वैशाख ७ मा सेनाले सम्झौता गरेको थियो ।

‘सम्झौतापछि हामीले सार्वजनिक खरिद ऐनमा संक्रमणको अवस्थामा कम्तिमा तीन दिन राखेर बोलपत्र आह्वान गर्नुपर्ने भन्ने नियमअनुसार बोलपत्र आह्वान गरेका थियौं,’ सैनिक प्रवक्ता पाण्डेले भने । सिनो फार्मसँग वैशाख ७ मा सम्झौता गरेको थियो भने ८ गते पैसा पठाएको थियो ।

सेनाले वैशाख ९ गते ढुवानीको लागि बोलपत्र आह्वान गरेको थियो । वैशाख ११ गतेसम्म ११ कम्पनीबाट निवेदन परेको थियो । सेनाले वैशाख १४ गते लेटर अफ इन्टेन्ट (आशयपत्र) तयार पारेर रक्षा मन्त्रालयमा पठायो । सेनाले वैशाख १६ गते आपूर्तिकर्तालाई ‘लेटर अफ एसेप्टेन्स’ दिएको थियो भने २३ गतेसम्म पहिलो विमानबाट जसरी भए पनि काठमाडौंमा सामग्री ल्याउने सम्झौता गरेको थियो ।

नेपालमा सम्पूर्ण तयारी भएपछि चीनबाट काम हुनु पर्नेमा त्यहाँ बिदाका कारण सबैभन्दा पहिला सामग्री ल्याउने कामलाई प्रभाव पार्‍यो ।

चीनमा लगातार ५ दिन मे १ देखि ५ (वैशाख १९ देखि २३) सम्म बिदा छ । मंगलबारसम्म चीनमा सरकारी बिदा नै रहेको छ । नेपालसहित विश्वका अन्य मुलुकहरुले पनि स्वास्थ्य सामग्री आपूर्ति गर्नका लागि गोन्जाउ विमानस्थललाई नै प्रयोग गरिरहेका छन् । प्रवक्ता पाण्डेका अनुसार केही मुलुकका विमान त गोन्जाउमा आएर ल्यान्ड नै नभई खाली नै फर्कनु परेको थियो । चीनले सम्पूर्ण स्वास्थ्य सामग्री नियात गर्नको लागि अहिले गोन्जाउ एयरपोर्टलाई नै प्रमुख रुपमा प्रयोग गरिहरेको छ । नेपाल स्वास्थ्य सामग्री आयात गर्ने सूचीमा ८१ औं नम्बरमा रहेको प्रवक्ता पाण्डेले बताए । ‘सेनाले आफ्नो च्यानलबाट र नेपाल सरकारले पनि आफ्नो कूटनीतिक माध्यममार्फत सामग्री छिटोभन्दा छिटो ल्याउनको लागि पहल गरिरहेका छौं,’ उनले भने ।

सबै मुलुकलाई एकै पटक सामग्री चाहिएकाले विमानस्थलमा ट्राफिकको समस्या छ । सामग्री ल्याउनको लागि भन्सारका चेक–जाँच गर्नु पर्छ । त्यसका लागि कम्तीमा पनि ७२ घन्टा लाग्छ । चीनबाट निर्यात हुने सामग्रीहरुको गुणस्तरमाथि विश्व बजारमा प्रश्न उठेपछि चीन सरकारले स्वास्थ्य सामग्री निर्यातमा कडाइ गरेको थियो । पूर्ण रुपमा चेक–जाँच नगरिकन चीनले भन्सारबाट सामग्री निर्यात गरेको छैन ।

छिटोभन्दा छिटो स्वास्थ्य सामग्री ल्याउनको लागि सेनाले चीन सरकारलाई भन्सारमा ‘क्लिरियन्स’का लागि पहल गरिरहेको छ । ‘हाम्रो स्तरबाट पनि पहल भएको छ । नेपाल सरकारले परराष्ट्र मन्त्रालयले पनि दूतावासमार्फत आग्रह गरेको छ । हाम्रो प्रस्ताव मान्ने वा नमान्ने भन्ने चीन सरकारको कुरा हो,’ उनले भने ।

प्रवक्ता पाण्डेले गोन्जाउ एयरपोर्टमा ट्राफिक समस्या परेपछि त्यहाँ नजिकै रहेको विमानस्थलबाट ल्याउन सकिन्छ कि भन्ने पहल पनि भइरहेको छ । ‘त्यसको नजिक एउटा एयरपोर्ट छ भन्ने कुरा पनि आइरहेको छ । त्यहाँबाट भएर पनि सामग्री ल्याउनको लागि कूटनीतिक र हाम्रो च्यानलबाट दूतावासका पदाधिकारीहरुसँग कुरा गरिसकेका छौं,’ उनले भने ।

सेनाले स्वास्थ्य सामग्री सम्झौता गरेको सिनो फर्म र ढुवानीको लागि सम्झौता गरेको फ्ल्यास फ्रेइट नेपाल कार्गो कम्पनीबीच सम्पर्क गराइसकेको जनाएको छ । सिइनो फर्मले चीनभित्र आफ्ना १५ कम्पनीमार्फत् विभिन्न स्वास्थ्य सामग्री उत्पादन गर्छ । कम्पनीसँग ढुवानीकर्ताले सम्पर्क गरेर स्थलमार्गबाट सामग्री जम्मा गरेर ल्याउने प्रक्रिया भइरहेको पनि भइरहेको पाण्डेले बताए ।

स्थलमार्गबाट सामग्री ल्याउन कम्तीमा पनि १० दिन लाग्छ । सेनाले चीनबाट तीन सय ४२ टन स्वास्थ्य सामग्री दुई विमान र अन्य स्थलमार्गबाट ल्याउन लागिएको बताएको छ । गोन्जाउबाट तातोपानी नाकामा आइपुग्न कम्तिमा सात दिन लाग्छ भने तीन दिन भन्सारमा चेक गर्न समय लाग्छ ।

सेनाले सरकारले दिएको जिम्मेवारीअनुसार सिधै गएर सामग्री खरिद गरेर ल्याउन नमिल्ने जनाएको छ । ‘हाम्रो तर्फबाट आर्थिक पारदर्शीतालाई कायम राखेर सामग्री ल्याउनका लागि प्रक्रिया पूरा गरेका छौं,’ प्रवक्ता पाण्डेले भने ।

‘यो स्वास्थ्य सामग्री खरिद गरेर ल्याउने प्रक्रिया सेनाले मात्र गरेको निर्णय होइन । यो विभिन्न स्टेक होल्डरहरुबीच काम भएर अघि बढाइएको हो । उदाहरणका लागि रक्षा, अर्थ, परराष्ट्र, स्वास्थ्य तथा वातावरण मन्त्रालयहरु र नेपाली राजदूतावास, बिक्री गर्ने चीनको वाणिज्य दूतावास, सिनो फर्मसँग पटक–पटक सम्पर्क गरेर काम भयो,’ पाण्डेले भने । उनले धेरै पटक पत्रहरु आदान–प्रदान गर्नु परेको र सबै तयारी भएको बताए ।

पाण्डेले ढिलाइ हुनुको दोस्रो कारण सार्वजनिक खरिद ऐन, आर्थिक नियम, आर्थिक नियमावली अनुसार गर्नु रहेको बताए । पाण्डेले थपे, ‘हामी (सेना) ले ऐन, नियमलाई यसरी नपछ्याएको भए, सेनाले ऐनअनुसार काम गरेन भनेर आवाज उठ्थ्यो । त्यसैले हामीले सम्पूर्ण काम नियमअनुसार गरेका हौं ।’

प्रकाशित : वैशाख २२, २०७७ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?