कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिप्पणी : प्रेसप्रति किन क्रुद्ध हुन्छन् प्रधानमन्त्री ?

ओली प्रेसप्रति मात्रै नभएर राज्यभन्दा बाहिरको प्रणालीसँग पुरै आक्रोशित छन् : पत्रकार दाहाल
घनश्याम खड्का

काठमाडौँ — शुक्रबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीबाट श्रमिक दिवसको अवसरमा शुभकामना आयो, जसको अन्त्यतिर सञ्चार माध्यमप्रति उनको तीव्र रोष झल्किएको देखिन्छ । 

टिप्पणी : प्रेसप्रति किन क्रुद्ध हुन्छन् प्रधानमन्त्री ?

प्रधानमन्त्रीले मुलुकका मिडिया र सोसल मिडियाले अस्थीरता निम्त्याउन खोजिरहेको गम्भीर आक्षेप लगाउँदै भनेका छन्, ‘आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ ।’

प्रधानमन्त्री ओली यतिमा मात्र रोकिएका छैनन्, उनले आफ्नो आलोचना गर्नेहरुविरुद्ध उत्रिन ‘सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनता’ लाई आह्वानसमेत गरेका छन् ।

‘आफ्ना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन,’ ओलीले भनेका छन्, ‘त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।’

सरकार गठन भएलगत्तै प्रधानमन्त्री ओलीले आफ्ना कामको प्रतिरक्षा गर्न सिंगो पार्टी पंक्ति र कार्यकर्तालाई ‘अरिंगालजसरी खनिन’ निर्देशन दिएका थिए । लगत्तै सरकारका अनियमित काम–कार्वाहीबारे लेख्नेहरुको सामाजिक सञ्जालमा छद्म नाममार्फत खोइरो खन्न थालियो । ओलीले शुक्रबारको सन्देशमा पनि आफ्ना अरिंगाल पंक्तिलाई प्रतिकारमा उत्रिन घुमाउरो पाराले आग्रह गरेका छन् ।

प्रधानमन्त्रीका पछिल्ला वक्तव्यहरुले उनी पत्रकारिताको भूमिकाप्रति चरम असन्तुष्ट छन् भन्ने संकेत गर्छ । मिडियाप्रति उनको असन्तुष्टि कतिसम्म बढेको छ भने बैसाख पहिलो साता चारघण्टा चलेको मन्त्रिपरिषद्को एक बैठकमा दुई घण्टाजति उनले पत्रिका र पत्रकारलाई गाली गरेरै बिताए । ‘अचेल प्रधानमन्त्रीले क्याबिनेट नै मिडियाको आलोचना गरेर थाल्नु हुन्छ,’ एक वरिष्ठ मन्त्रीले टिप्पणी गरे, ‘उहाँलाई तपाईहरुसित निकै चित्त दुखेजस्तो छ ।’

हालै उनले आफ्ना मन्त्रीहरुलाई ‘प्रेसबाट टाढै बस्न’ निर्देशन दिएको खबर पनि सार्वजनिक भएको थियो । नयाँ वर्षको सन्देश दिने क्रममा पनि प्रेसप्रति प्रधानमन्त्रीको आक्रोश उसैगरी प्रकट भयो ।

‘ह्वाइट हाउसमा जसरी डोनाल्ड ट्रम्पले मिडियालाई गाली गरिरहेका छन् त्यसरी नै हाम्रा प्रधानमन्त्रीले पनि नेपालको सञ्चारलाई हेरिरहनु भएको छ,’ तत्कालिन राष्ट्रपति रामवरण यादवका प्रेस सल्लाहकारसमेत रहेका पत्रकार राजेन्द्र दाहालले भने, ‘उहाँका शुभचिन्तकले प्रधानमन्त्रीलाई प्रेसको बेसिक नेचरबारे अवगत गराइदिए हुन्थ्यो ।’

दाहालको अनुभवमा सत्तामा पुगेपछि राजनीतिज्ञहरुले मिडियाको आलोचनालाई असहज मान्नु नौलो नभएपनि अहिलेका प्रधानमन्त्री भने प्रेसप्रति अलि बढी नै क्रुद्ध देखिएका छन् । ‘पञ्चायतदेखि अहिलेसम्मका प्रधानमन्त्रीहरुमा मिडियाप्रति खरो बोल्नेहरु थिए, तर यो तहमा आक्रोश पोख्नेहरुचाहिँ कोही थिएनन्,’ दाहालले भने, ‘वास्तवमा ओली प्रेसप्रति मात्रै नभएर राज्यभन्दा बाहिरको प्रणालीसँग पुरै आक्रोशित छन् ।’

ओलीको यो शैलीलाई उनकै पूर्व प्रेस सल्लाहकार कुन्दन अर्याललाई पनि मन परेको छैन । ‘मिडिया कहिले पनि स्थायी शत्रु हुँदैन, यो बुझ्ने मामिलामा हामीकहाँ समस्या नै रह्यो,’ अर्यालले कान्तिपुरसित भने, ‘मिडियाले लेखेका विषयमाथि धेरै गनगन र गुनासो गर्नुभन्दा उनीहरुको प्रवृत्ति साँच्चिकै खराब हो कि होइन भनेर नीति अनुसन्धान परिषद, प्रेस काउन्सिल वा अरु कुनै मर्यादित संस्थामार्फत अध्ययन अनुसन्धान गराएर निकालेको तथ्याङ्कहरु बाहिर ल्याउनु पर्छ सरकारले ।’

व्यवसायिक पत्रकारितामा आलोचनात्मक धार रहन्छ भन्ने तथ्यलाई मनन गर्दा धेरै आक्रोश स्वतः साम्य भएर जाने ठान्छन् उनी ।

‘सरकारको गुणगान गाएर मिडियाले आफ्नो धर्म निर्वाह गर्न सक्दैन,’ मानवअधिकार आयोगका अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले कान्तिपुरसँग भने, ‘सरकारले पूरा नगरेका वाचा, हुन नसकेको पारदर्शीता र सुशासन अनि नागरिक अधिकारहरुको हननका सवालमा समाचार लेख्दा सरकार यहाँमात्रै होइन, अन्यत्र पनि खुसी हुँदैन, भएको छैन ।’

कान्तिपुरले पृथ्वी राजमार्गमा अलपत्र सर्वसाधारणबारे स्थलगत रिपोर्टिङ गरेपछि प्रधानमन्त्री ओलीले वैशाख ७ गते सरकारी सरकारी सञ्चार माध्यमलाई अन्तर्वार्ता दिँदै भनेका थिए, ‘प्रहरीलाई थाहा नदिई एकाएक धादिङको सडकमा केही यात्रु कसरी देखिए ? अनि प्रहरी र सिडिओलाई थाहा नभएको घटनामा त्यहाँ पहिल्यै काठमाडौंदेखि पत्रकार कसरी पुगे ? के यो रहस्यपूर्ण छैन र ?’

प्रहरी–प्रशासनलाई पूर्वसूचना दिएर मात्र रिपोर्टिङ गर्नुपर्ने उनको आशयको उसबेला व्यापक आलोचना भयो । जानकारहरु प्रधानमन्त्री ओलीका यस्ता अभिव्यक्तिलाई आलोचना सहन नसक्ने प्रवृत्तिका रुपमा व्याख्या गर्छन् ।

आफ्नै जस्तो शैली पच्छ्याउँदै मिडियाको खुलेर आलोचना गर्ने पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई प्रधानमन्त्री ओली खुबै मन पराउँथे । बाँस्कोटा अनियमितता प्रकरणमा मुछिएर राजीनामा दिन बाध्य हुनु ठीकअघि प्रधानमन्त्रीले काभ्रेको एक कार्यक्रममा ‘अरु सबै एकातिर र बाँस्कोटा अर्कोतिर’ भन्दै उनको सार्वजनिक प्रशंसासमेत गरेका थिए ।

त्यसअघि मूलधारका सम्पादकहरुमा आफूबारे सकारात्मक कुरा लेख्नसक्ने ‘मुटु छैन’ भन्ने विवादास्पद धारणासमेत प्रधानमन्त्रीबाट आएको थियो । हरेक शासकलाई आफ्ना शुभचिन्तकले झैं प्रेसले पनि गुणगान गाइदिओस् र आफ्ना राम्रा कामबारे मात्र लेखिदेओस् भन्ने चाहना हुन्छ । तर, मिडियाको धर्म नै हो, जहाँ बेथिति छ त्यहाँ नजर दौडाउनु ।

यति प्रकरणदेखि ओम्नी समूहसम्मका अनेक काण्डबारे प्रेसले निरन्तर लेखिरहेपछि प्रधानमन्त्री ओली मूलधारको सञ्चारसँग टाढिएको भान हुन्छ । ‘स्टालिनको साहित्य पढेर आएका कम्युनिष्ट नेतालाई आलोचक कोही हुनै हुन्न भन्ने भ्रम छ,’ पत्रकार राजेन्द्र दाहालले भने, ‘यसै हुनाले उनले अरिंगालहरु पालेका छन्, ताकि चाहेका बेला आलोचकहरुमाथि जाइलाग्न सकियोस् ।’

प्रकाशित : वैशाख १९, २०७७ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?