कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउन खुलेको ३ सातापछि उपकेन्द्र थपेर एसईई परीक्षा गर्न सिफारिस

बिहान र दिउसो गरी एकैदिन एसईई र १२ को परीक्षा गर्न सकिन्छ : कार्यदल
सुदीप कैनी

काठमाडौँ — लकडाउन खुलेको ३ सातापछि एसईई र कक्षा १२ को परीक्षा गर्न विज्ञ सम्मिलित कार्यदलले सरकारलाई सिफारिस गरेको छ ।

लकडाउन खुलेको ३ सातापछि उपकेन्द्र थपेर एसईई परीक्षा गर्न सिफारिस

शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा गठन गरेको कार्यदलले बैशाख २५ गतेपछि लकडाउन खुले जेठ अन्तिम साताबाट दुवै कक्षाको परीक्षा सञ्चालन गर्न सकिने औंल्याएको हो ।

एसर्ईर्ई र कक्षा १२ को परीक्षा बिहान र दिउँसोको सिफ्टमा गर्न सकिनेसमेत कार्यदलले जनाएको छ । कार्यदलका संयोजक पौडेलले बिहीबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएका छन् ।

देशभर परीक्षा केन्द्र र त्यसका उपकेन्द्र कायम गरेर परीक्षा सञ्चालन गर्न सकिने सुझाव दिइएको छ । शिक्षामन्त्री पोखरेलले प्रतिवेदन बुझेपछि कार्यान्वयनका लागि मन्त्रालयका सचिव र सहसचिवहरुलाई निर्देशन दिएका छन् । कार्यदलका सदस्यहरुसँग उनले यो प्रतिवेदन कोरोना रोकथाम उच्चस्तरीय कार्यदल र मन्त्रिपरिषद्मा लगेर थप छलफल गर्ने समेत बताएका छन् ।

लकडाउन खुलेर अवस्था सामान्य भएको ३ सातापछि परीक्षा सञ्चालन गर्न सकिने आकलन गरिएको बोर्डका अध्यक्ष पौडेलले कान्तिपुरसित बताए । ‘सरकार, शिक्षा मन्त्रालय र प्रदेश सरकारले परीक्षा सञ्चालन गर्न अनुमति दिए जेठ अन्तिम साता वा असार पहिलो साताभित्र परीक्षा गर्न सकिन्छ,’ उनले भने । स्वास्थ्य सुरक्षा र सामाजिक दुरी कायम गरेर परीक्षा गराउन उपकेन्द्रहरु समेत थप्नुपर्ने कार्यदलले सुझाव दिएको छ ।

एसईई परीक्षाका लागि देशभर एक हजार ९ सय ९५ केन्द्रहरु तोकिएको छ । केन्द्र नजिकै उपकेन्द्र थप गरेर सामाजिक दुरी कायम गराउन सकिने कार्यदलको विश्वास छ । विद्यार्थीको चाप बढी हुने केन्द्रहरुमा उपकेन्द्र कायम गरेर परीक्षा सञ्चालन गर्ने बोर्डले समेत निर्णय गरिसकेको छ । त्यसका लागि ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईसँग तथ्याङ्क माग गरिएको छ ।

‘अधिकांश विद्यार्थीलाई घरपायक परीक्षा केन्द्र बनाएर परीक्षा दिन पाउने गरि योजना बन्दैछ,’ परीक्षा नियन्त्रण कार्यालयका रामराज खकुरेलले भने । कार्यदलले वैशाख २५ गतेभित्र कक्षा १–९ को नजिता प्रकाशन गरिसक्न पनि सिफारिस गरेको छ । २५ गतेपछि विद्यालयहरुलाई सामाजिक दुरी कायम गरेर भीडभाड नगरी भर्ना प्रक्रिया अघि बढाउन सुझाव दिइएको छ ।

कक्षा ११ को परीक्षा भने अवस्था सहज भइसकेपछि गरे पनि हुने कार्यदलले जनाएको छ । ११ कक्षाको परीक्षा नभए पनि विद्यार्थी कक्षा १२ मा पढ्न पाउने हुँदा परीक्षा गर्न हतार गर्न नहुने बताइएको छ । ‘कक्षा १० र १२ परीक्षार्थीले भने घरको खाना खाएर परीक्षा दिन जान भ्याउन व्यवस्था गर्न लागिएको खकुरेलले बताए ।

एसईई परीक्षा सञ्चालन गर्न बोर्डलाई प्रदेश सरकारले समेत अनुमति दिन अनिवार्य छ । उत्तरपुस्तिका र परीक्षा खर्च व्यवस्थापनको काम प्रदेश सरकार मातहतका सामाजिक विकास मन्त्रालयले गर्दै आएका छन् । शिक्षाकर्मी, शिक्षाविद्ले आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र दिन सकिने सुझाव दिदैं आएका थिए । बोर्डका अध्यक्ष पौडेलको संयोजकत्वमा रहेको मन्त्रालयका उच्चअधिकारी सम्मिलित कार्यदलले भने साबिकको जस्तै परीक्षा गर्ने सुझाव दिँदै तयारी अघि बढाएको छ । परीक्षा ढिला भए पनि ४५ दिन भित्रमा नतिजा प्रकाशन गरेर शैक्षिकसत्रलाई निरन्तरता दिन सकिने कार्यदलको प्रतिवेदनको निचोड छ । लकडाउन लम्बिँदै गए उक्त समयमा परीक्षा गर्न नसकिने र अन्य विकल्पहरुको खोजी गर्नुपर्ने कार्यदलका सदस्यहरुले बताए ।

प्रकाशित : वैशाख १८, २०७७ २०:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?