कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्लिनिक नखुल्दा दीर्घरोगीलाई अप्ठेरो

लकडाउनले क्लिनिक फाट्टफुट्ट मात्र खुलेपछि लुभु प्राथमिक केन्द्रमा उपचार गराउने बढेका छन् ।
प्रशान्त माली

काठमाडौँ — ललितपुरको लुभु तगु तुः टोलका ६८ वर्षीय दशबहादुर महर्जन दमका बिरामी हुन् । उनी ५ वर्षदेखि दमको औषधि सेवन गर्दै आइरहेका छन् ।

क्लिनिक नखुल्दा दीर्घरोगीलाई अप्ठेरो

उनलाई शुक्रबार दिउँसो एक्कासि सास फेर्न गाह्रो पर्‍यो । उपचार गराउन हतपत मेडिकल पुगे । लकडाउनका कारण लुभुका अधिकांश निजी क्लिनिक दिउँसो बन्दका कारण उपचार पाएनन् । अनि छिमेकीको सल्लाहमा सास फेर्न गाह्रो पर्दा मुखमा राखेर तान्ने औषधि बोकेर लुभुस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुगे ।

त्यहाँ डाक्टरहरुले उनलाई तत्काल अक्सिजन दिए । अनि दम घटाउन मद्दत गर्ने चक्की खान औषधि लेखिदिए । उनी डाक्टरले लेखिदिएको चिर्कटो बोकेर केन्द्रको फार्मेसीमा पुगेर औषधि लिएर फर्के । उनी भन्छन्, ‘झन्डै सासै रोक्न लागिसकेको थियो । केन्द्रमा उपचार पाएर धन्न बाँचेँ ।’ उनले केन्द्रबाट ऐटा क्याप औषधि भने नपाएर निजी क्लिनिकमा खरिद गर्न बाध्य बने । उनीजस्तै ५० वर्षीय देवलाल महर्जन पनि दमका बिरामी हुन् । उनी पनि ६ वर्षदेखि दमको औषधि सेवन गर्दै आइरहेका छन् ।

उनी दम बढ्दा लकडाउनअघि उपचार गराउन प्रायः निजी क्लिनिक पुग्ने गर्दथे । अहिले लकडाउनले क्लिनिक फाट्टफुट्ट मात्र खुलेपछि लुभु प्राथमिक केन्द्रमा उपचार गराउन आउने क्रममा उनी भेटिए । त्यहाँ उनलाई पुग्नेबित्तिकै चिकित्सकले अक्सिजन दिए । अनि साल बुटामोल औषधि दिएर पठाए । साल बुटामोल एक पाकेटको १५ रुपैयाँ पर्छ । दमका बिरामीले बिहान/बेलुका ३ सय ६५ दिन सेवन गर्नुपर्छ । यो औषधि सरकारले निःशुल्क दिने औषधिअन्तर्गत पर्दछ । तर, यसअघि उनले निजी क्लिनिकमा खरिद गरेर सेवन गर्दै आइरहेको बताए ।

उनीहरुजस्तै लकडाउनले गर्दा सहजै अस्पताल पुग्न नसक्दा र प्रायः बिहान बेलुका मात्र औषधि पसलहरु सञ्चालनमा आउँदा उपचारका लागि लुभु केन्द्रमा पुग्नेको संख्या बढ्न थालेका छन् । लुभु प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.रमिन महर्जनअनुसार अहिले दैनिक ४० देखि ५० जना बिरामी उपचारका लागि आउने गरेका छन् । ‘तीमध्ये बढी दमका बिरामी छन्,’ उनले भने ।

केन्द्रमा अहिले १० बजेदेखि ३ बजेसम्म ओपीडी, प्रयोगशाला सञ्चालनमा छन् । भने चौबीसै घण्टा इमर्जेन्सी तथा सुत्केरी सेवा सञ्चालनमा रहेका छन् । यसबाहेक परिवार नियोजन, ड्रेसिङ, रुघाखोजी, ज्वारोको पनि उपचार भइरहेको केन्द्र प्रमुख डा.महर्जनले बताए ।

प्रकाशित : वैशाख १८, २०७७ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?