कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अप्ठेरो पर्दा नेपाल सरकारले भूमिका खेल्छ : परराष्ट्रमन्त्री

‘सरकारले विदेशमा रहेको नेपालीलाई अहिले चार चरणमा ध्यान दिएर काम गरिरहेको छ’
जगदीश्वर पण्डे

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ का कारण विदेशमा रहेका नेपालीलाई अप्ठेरो पर्दा नेपाल सरकारले भूमिका खेल्ने बताएका छन् ।

अप्ठेरो पर्दा नेपाल सरकारले भूमिका खेल्छ : परराष्ट्रमन्त्री

विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपाली संघका पदाधिकारी र प्रतिनिधिसँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयबाट भिडियो कन्फरेन्समार्फत मन्त्री ज्ञवालीले अहिले त्यस्तो अप्ठेरो अवस्था आइनसकेको उल्लेख गर्दै आवश्यक परे नेपाल सरकारले भूमिका खेल्ने बताएका हुन् ।

कोभिड–१९ का कारण विदेशमा रहेका नेपालीको अवस्थाबारे सोमबार पनि परराष्ट्रमन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघका वरिष्ठ उपाध्यक्ष, सचिव तथा हङकङ, न्युजिल्यान्ड, मलेसिया, कतार, कुवेत, बेल्जियम, केन्या, बेलायत, साइप्रस, रसियाका प्रतिनिधि एवं अध्यक्षहरूसँग सम्बन्धित मुलुकका बारेमा जानकारी दिएका थिए ।

मन्त्री ज्ञवालीले गैरआवासीय नेपालीलाई सहयोगका लागि नेपाली दूतावाससँगको सहकार्य गर्न सुझाव दिँदै त्यहाँ रहेका अन्य नेपालीहरूप्रति अभिभावकको भूमिका खेल्न आग्रहसमेत गरे ।

मन्त्री ज्ञवालीका प्रेस विज्ञ सुदन ज्ञवालीका अनुसार गैरआवासीय नेपालीलाई नेपाल सरकारको प्राथमिकता र योजनाबारे मन्त्रीले जानकारी दिएका थिए । ‘मन्त्रीजीले नेपाल सरकारले अहिले चार चरणमा विदेशमा रहेको नेपालीलाई ध्यान दिएर काम गरिरहेको गैरआवासीय नेपालीलाई जानकारी दिए,’ प्रेस विज्ञ ज्ञवालीले कान्तिपुरसँग भने ।

ती चार चरणहरूमध्ये पहिलो चरणमा नेपाल सरकारले विदेशमा रहेका नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको छ । खाडीका पाँच मुलुक (कतार, साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स र ओमान) र मलेसियामा रहेका करिब १४ लाख नेपाली श्रमिकको सुरक्षा र हकहितका बारेमा ध्यान दिएको छ ।

मन्त्री ज्ञवालीले दोस्रो चरणमा विदेशमा पढ्न गएका नेपाली विद्यार्थीलाई सुरक्षा र हकहितको विषयमा ध्यान दिएको जानकारी दिए । परराष्ट्रले तेस्रो चरणमा विदेशमा छोटो समयलाई गएका वा छोटो भिसामा त्यहाँ गएका नेपालीहरूको सम्बन्धमा ध्यान दिएको छ । अन्तिम र चौथो चरणमा भने सम्बन्धित मुलुकमा रहेका र त्यहाँकै नागरिक भइसकेको वा हुने चरणमा रहेका गैरआवासीय नेपालीहरूलाई समेत ध्यानमा राखेको मन्त्री ज्ञवालीले छलफलमा बताएका थिए ।

मन्त्री ज्ञवालीले विदेशमा कुनै पनि नेपालीलाई गैरकानुनी रूपमा बस्ने वातावरण नबनाउन पनि आग्रह गरेका थिए । उनले कसैको भिसाको म्याद सकिए, नेपाली दूतावासमा सम्पर्क गरेर समस्याको समाधान गर्न आग्रह गरे । छलफलमा गैरआवासीय नेपाली संघका पदाधिकारी र प्रतिनिधिहरूले अहिलेसम्म दूतावासहरूसँग समन्वय गरेर काम गरिरहेको जानकारी दिएका थिए ।

उनीहरूले नेपाली नागरिकलाई आफ्नो संघका पदाधिकारी र विभिन्न मुलुकमा रहेका पदाधिकारीहरूले पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । उनीहरूले नेपाली श्रमिकहरूलाई समस्या परे ‘वैदेशिक रोजगार कोष’ को सरकारले प्रयोग गर्नुपर्ने बताए । ‘उक्त कोष ती श्रमिकहरूकै पैसाबाट खडा गरिएको हो । आवश्यक पर्दा त्यसलाई प्रयोग गर्नु पर्छ । नेपाली श्रमिकहरूको पैसा उनीहरूकै हितका लागि खर्च गर्नुपर्छ,’ उनीहरूको मन्त्री ज्ञवालीलाई सुझाव थियो ।

मन्त्री ज्ञवालीले आवश्यक परे उक्त कोष नेपाली श्रमिकहरूको हकहित र सुरक्षाका लागि प्रयोग गर्नेबारे उपप्रधानमन्त्रीको नेतृत्वमा रहेको कोरोना भाइरस रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल पनि भइसकेको जानकारी दिएका थिए । उनले थपे, ‘बेला आएपछि त्यसलाई उपयोग गर्नेछौं ।’

ज्ञवालीले यसअघि पनि गैरआवासीय नेपाली संघका प्रतिनिधिहरूसँग छलफल गर्दै विदेशमा रहेका नेपालीहरूको संरक्षण र सुरक्षा गर्न अभिभावकका रूपमा भूमिका खेल्न आग्रह गरेका थिए ।

प्रकाशित : वैशाख १५, २०७७ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?