कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘लकडाउन जोडी’ को ‘कल्भर्ट क्‍वारेन्टाइन’

‘कसैले डेरा नदिएपछि कहाँ जाने ? मर्नुभन्दा बहुलाउन निको भनेर यतै बस्न थालियो’
पर्वत पाेर्तेल

काँकडभिट्टा — लकडाउन सुरु भएको जति दिन भो, झापा धुलावारीकी ५२ वर्षीया मीना खड्का र भोजपुरका ४५ वर्षीय राजकुमार जोगीले जोडी बाँधेको त्यति नै । हुन त यिनीहरुको देखा–भेट लकडाउनअघि नै भएको रहेछ ।

‘लकडाउन जोडी’ को ‘कल्भर्ट क्‍वारेन्टाइन’

मीना चारआलीको पाउ पाथिभरा मन्दिर परिसरमा मागेर गुजारा गर्थिन् । घरवारविहीन राजकुमार जोगी रातभरि ‘फेरी’ लगाएपछि दिनभरि मन्दिर आसपासै भेटिन्थे । मन्दिर आसपासमै भेटिएका यी असहायको मन मिल्यो । हैसियत मिल्यो । अन्तत: बिहे गर्ने निर्णयमा पुगे ।

‘मीनालाई पहिलो भेटमै मन पऱ्यो’, राजकुमारले हाँस्दै भने,‘बिहे गर्ने प्रस्ताव गरें उनले तत्काल हुन्छ भनेर टाउको हल्लाइन् ।’ राजकुमारको कुराले मीना लजाएर अर्कोतिर फर्किइन् । बोलक्कड राजकुमार बोल्या बोल्यै गरे । ‘लकडाउनको अघिल्लो दिन बिहे गऱ्यौं,मन्दिरलाई साक्षी राखेर’, राजकुमारले गर्वका साथ सुनाए ।

भोजपुर मूल घर भएका राजकुमार विगत दुई दशकदेखि चारआलीमै बस्थे । पहिलो बुवा आमासँगै डेरामा थिए । बुवाआमा बितेपछि यिनी एक्लिए । बेवारिसे वने । डेरा पनि छाडे । रातमा फेरी लगाएर आउँथे । घर थिएन । खुला आकाशमै कैयौं रात गुजारे । कहिले जंगलमा त कहिले सडकका किनारमा यिनको रात गुज्रियो ।

मीनाले पनि पति वियोगपछि घर छाड्नु पऱ्यो । बेवारिसे यिनी केही वर्षदेखि मागेर गुजारा गर्थिन् । राजकुमारझैं खुला आकाशमा रात काट्थिन् । ‘म पनि एक्लो थिएँ, उनी पनि एक्लो’, मीनाले सुनाइन् ‘एक्लाएक्लै थियौ, अहिले सँगै भयौ, खुसी छौं ।’

मन मिल्यो, बिहे त गरे । तर, कहाँ बस्ने ? ठूलो चिन्ता थियो । डेरा खोजे । कतै पाएनन् । स्थानीयले ‘यस्ता लफङ्गाहरुलाई कसले डेरा दिन्छ’ भन्दै हकारे । कतिले त लखेटे पनि ।

पाउ पाथिभरा मन्दिर अघिल्तिर एउटा कल्भर्ट छ, करिब दुई मिटर लामो । पूर्व–पश्चिम राजमार्गको त्यही कल्भर्टमुनि बस्छन् यी जोडी । ‘कसैले डेरा नदिएपछि कहाँ जाने ? मर्नुभन्दा बहुलाउन निको भनेर यतै बस्न थालियो’, राजकुमारले भने ।

कल्भर्ट फोहोरको डंगुरले भरिएको थियो । सफा गरेर बस्न मिल्ने बनाए । यिनीहरु कल्भर्टभित्रै पकाउँछन्, खान्छन् र सुत्छन् । केही दिनअघि यो जोडी मस्त निद्रामा थियो । मध्यरातमा अचानक हावाहुरीसहित पानी पऱ्यो । एक छिनपछि कल्भर्टबाट पानीको भेल बग्यो । ‘त्यो रात निधाउनै सकिएन’, राजकुमारले भने,‘ओड्ने, ओछ्याउने मात्रै होइन हामी पनि भेलमै डुब्‍यौं।’

लकडाउनमा भोकभोकै रहेका जोडीलाई केही दिनअघि सञ्चारकर्मी खगेन्द्र घिमिरे, सचिन न्यौपाने र नरेश महरासहितको एउटा टोलीले यो हालतमा फेला पाऱ्यो । चामल, दाल आदि खाद्यान्न उपलब्ध गराए । उनीहरु खुसीले दंग भए । ‘मन्दिरकै अघि बस्दा पनि भगवानले हाम्रो पीडा कहिलै देखेनन्’, राजकुमार भावुक बने,‘ढुंगाको भगवानको भर हुन्न रैछ, भगवान त मान्छे नै पो रहेछ ।’

प्रकाशित : वैशाख १४, २०७७ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?