कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विज्ञ भन्छन्, ‘यसपालि परीक्षा नलिऔं, लिनै परे घरबाटै लिऔं’ 

बोर्ड भने विद्यालयको मूल्यांकनलाई मान्यता दिन नसकिने भन्दै साबिककै जसरी परीक्षा लिनुपर्ने पक्षमा
मकर श्रेष्ठ

काठमाडौँ — कोरोना भाइरस रोग (कोभिड १९) संक्रमणका बेला विद्यार्थीको परीक्षा लिनुभन्दा शैक्षिक संस्थाले गरेको मूल्यांकनका आधारमा उनीहरूको सिकाइ स्तर मापन गर्न विज्ञहरूले सुझाएका छन् । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको सिकाइ मूल्यांकन कसरी गर्ने भनी गरेको छलफलमा उनीहरूले पहिलेजसरी परीक्षा सञ्चालन नगर्न सुझाव दिएका हुन् ।

विज्ञ भन्छन्, ‘यसपालि परीक्षा नलिऔं, लिनै परे घरबाटै लिऔं’ 

बोर्डले शुक्रबार खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्मा, शिक्षाविद्हरू विद्यानाथ कोइराला, मनप्रसाद वाग्ले, गणेश सिंहसँग सुझाव मागेको हो ।

विज्ञहरूले कक्षा १० र ११ को मूल्यांकन विद्यालयले नै गर्ने र १२ कक्षाको परीक्षा लिनै पर्ने भए घरबाटै दिन मिल्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । कक्षा १० देखि माथिका करिब १८ लाख विद्यार्थीको परीक्षा स्थगित छ ।

‘पढाइ नै गर्न सकिँदैन भने परीक्षा लिने कुरै हुँदैन,’ खुला विश्वविद्यालयका उपकुलपति शर्माले भने, ‘विद्यार्थी भौतिक र मानसिक समस्यामा छन् । परीक्षा केन्द्रमा ल्याएर परीक्षा गर्नु त झन् जोखिम छ ।’ यस वर्ष विद्यालयकै मूल्यांकनका आधारमा विद्यार्थीको सिकाइ परीक्षण गर्नुपर्ने उनको भनाइ छ । ‘१२ कक्षाको सिकाइका आधारमा उच्च शिक्षा अध्ययन गर्ने भएकाले विद्यार्थीलाई खुला प्रश्न तयार गरेर घरबाटै उत्तर लेख्न दिने अर्को विकल्प हुन सक्छ,’ उनले भने, ‘१० र ११ विद्यालय तह नै भएकाले परीक्षा लिनु पर्दैन ।’

शिक्षाविद् कोइरालाले पनि परीक्षा केन्द्रमा राखेर लेख्न लगाउँदा थप जोखिम भएकाले यस वर्ष विद्यालयकै मूल्यांकनलाई आधार मान्नुपर्ने बताए । ‘यसअघि पनि १० कक्षाको परीक्षा दिएका सबैले ११ मा भर्ना पाएकै छन् । यस्तो परिस्थितिमा परीक्षा लिनु उचित हुँदैन,’ उनले भने, ‘१२ कक्षाका आधारमा उच्च शिक्षा अध्ययन गर्ने भएकाले परिस्थिति ठिक नभएसम्म परीक्षा लिने होइन भने विद्यालयकै मूल्यांकनलाई आधार मान्न सकिन्छ ।’

स्नातक तहको पढाइ दसैंपछि मात्रै सुरु हुने भएकाले १२ कक्षाको परीक्षा परिस्थिति ठिक भए साउनमा पनि लिन सकिने अर्का शिक्षाविद् वाग्लेले बताए । ‘१२ कक्षाको हकमा अहिले आत्तिनुपर्ने अवस्था छैन । तल्लो तहको परीक्षा लिन जरुरी नै छैन,’ उनले भने । उच्च शिक्षाको हकमा विश्वविद्यालय र क्याम्पसहरूले घरबाटै हरेक विषयको उत्तर लेखेर ल्याउने गरी परीक्षाको नमुना तयार गर्न सक्ने उनको भनाइ छ ।

कानुनले विद्यालय तहलाई आधारभूत र माध्यमिक तह गरी दुई भागमा बाँडेको छ । कक्षा आठको परीक्षा सम्बन्धित स्थानीय तहले लिने गरेको छ । कक्षा १० को प्रदेश स्तरमा लिने भनिए पनि बोर्डले नै लिइरहेको छ । १२ कक्षाको मात्रै बोर्डले लिन सकिने कानुनी व्यवस्था छ ।

बोर्डले भने विद्यालयले गर्ने मूल्यांकनलाई परीक्षाको आधार बनाउन कानुनी अन्योल देखाइरहेको छ । ‘के–के कानुन बनाएर हुन्छ, परीक्षा केन्द्रमा विद्यार्थी ल्याएर परीक्षा लिनु उचित हुँदैन,’ वाग्लेले भने, ‘यस वर्ष परीक्षा नलिँदा उल्कापात केही हुनेवाला छैन ।’

विज्ञहरूले परिस्थिति अनुकूल भए एक दिनमा निश्चित अनिवार्य विषयको परीक्षा लिने व्यवस्था गर्न सकिने सुझाव पनि दिएका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) का महासचिव लोकबहादुर भण्डारीले परीक्षा नलिई विद्यार्थीको मूल्यांकन गरेर यसवर्ष सहज व्यवस्थापन गर्नुपर्ने बताए । ‘शैक्षिक सत्रलाई असर नपर्ने गरी सरकारले बेलैमा उपयुक्त निर्णय लिनुपर्ने हुन्छ,’ उनले भने ।

बोर्ड भने विद्यालयले गर्ने मूल्यांकनभन्दा आफैं परीक्षा लिनुपर्ने अडानमा छ । ‘परीक्षा लिने निकायले अरूले गरेको परीक्षाको नतिजालाई कसरी मान्यता दिन मिल्छ ?,’ बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘सहज भएपछि परीक्षा लिने नै हो ।’ विद्यार्थी र अभिभावकलाई सहजभन्दा पनि बोर्डका पदाधिकारी परीक्षा सञ्चालन गर्दा हुने नाफा/घाटामा अल्झिएको विज्ञहरूको आरोप छ ।

विद्यालयले चैत ५ भन्दा अघि नै ११ र १२ को प्री–बोर्ड परीक्षा लिइसकेका छन । यही परीक्षालाई आधार मान्न पनि बोर्ड तयार छैन । बोर्डर्ले वैशाख पहिलो सातादेखि १२ कक्षाको परीक्षा लिने भएपछि विद्यालयले फागुन अन्तिममै प्री–बोर्ड लिएर बिदा दिएका थिए । तर, चैत ११ देखि लकडाउन भएकाले नतिजा सार्वजनिक हुन सकेको छैन ।

‘काठमाडौं उपत्यकामा मात्रै परीक्षा लिइएको होला । हुम्लामा परीक्षा लिइएकै छैन । त्यसैले हामीले नै परीक्षा लिने हो,’ बोर्ड अध्यक्ष पौडेलले भने, ‘हामीले बाहेक अरूले लिएको परीक्षालाई मान्यता दिन सकिँदैन ।’ सहज बेलाकै जसरी परीक्षा लिनुपर्ने पक्षमा रहेका उनी यही प्रस्तावसहितको प्रतिवेदन मन्त्रालयमा बुझाउने तयारीमा छन् । मन्त्रालयले परीक्षाबारे सुझावका लागि शर्माकै अध्यक्षतामा समिति बनाएको छ ।

प्रकाशित : वैशाख १३, २०७७ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?